.jpg)
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्कीले निर्वाचन आयोगविरद्ध हालेको रिट सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालको इजलासमा परेको छ। तोसिमा सोमवार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी थिइन्।
आयोगले प्रतिनिधिसभातर्फ ललितपुर ३ की उम्मेदवार डा कार्कीको मनोनयन खारेज गरेपछि त्यसविरुद्ध उनले उत्प्रेषण आदेश माग्दै सर्वोच्चमा रिट दिएकी हुन्। उक्त रिटको सुनुवाई आज हुँदैछ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो। मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको जनाएको छ।
आयोगले उक्त पदलाई लाभको पदमा परिभाषित गरेको छ। कार्कीले मासिक पारिश्रमिक नपाए पनि बैठक भत्ता र अनुगमन लगायतका अन्य पारिश्रमिक लिने गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यता 'नो नट अगेन' लगायतका फेसबुक पेजमाथि प्रतिबन्ध लगाउने वा पेज बन्द नगरे कारवाही गर्ने निर्वाचन आयोगको चेतावानीविरुद्ध परेको रिट पनि न्यायाधीश डा. चुडालकै इजलासमा परेको छ। वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले उत्प्रेषण परमादेश माग्दै दायर गरेको रिटमा पनि मंगलबार सुनुवाई हुने तालिका छ।