
काठमाडौं : भारत सरकारले नेपाल सरकारलाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग गर्नका लागि आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई गाडीहरु हस्तान्तरण गरेका हुन्।
राजदूत श्रीवास्तवले यी सवारीसाधनले आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थि गर्न सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
भारतले उपलब्ध गराएको गाडीहरुमध्ये १२० वटा सुरक्षा निकायले प्रयोग गर्नेछन्। यस्तै, ८० वटा गाडी निर्वाचन आयोगले प्रयोग गर्नेछन्।
कार्यक्रममा अर्थमन्त्री शर्माले सवारीसाधन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए।
भारतले गएका निर्वाचनहरुमा पनि नेपाललाई निर्वाचनका लागि भन्दै सवारीसाधन उपलब्ध गराउँदै आएको थियो।
भारत सरकारले निर्वाचनलाई लक्षित गर्दै हालसम्म २ हजार ४०० वटा सवारीसाधन हस्तान्तरण गरिसकेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई २०० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गाडी भारतले सहयोग गरिसकेको छ।