PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

सुदूरपश्चिममाथि एपीएफको सहज जित



पहिलोपोस्ट

सुदूरपश्चिममाथि एपीएफको सहज जित

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिमलाई १० विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिम प्रदेशले २७ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

सुदूरपश्चिमलाई सामान्य रन स्कोरमै रोक्न एपीएफका भुवन कार्कीले सर्वाधिक ४ विकेट लिँदा कमलसिंह ऐरी र मौसम ढकालले समान २ विकेट लिए। त्यस्तै किशोर महतो र अमर रौटेलाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले बिना कुनै विकेटको क्षति ११.२ ओभरमा लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि आशिफ शेखले सर्वाधिक अविजित ४२ रन बनाउँदा प्रदीप ऐरीले अविजित २५ रन बनाए।

जारी प्रतियोगितामा समूह 'ए'मा एपीएफको लगातार दोस्रो जित हो भने सुदूरपश्चिमको लगातार दोस्रो हार हो। यसअघिको खेलमा एपीएफले आर्मीलाई ५६ रनले हराएको थियो भने सुदूरपश्चिम गण्डकी प्रदेशसँग ६९ रनले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell