1.jpg)
काठमाडौं : तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तिरम आदेश दिएको छ। लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको थियो।
कार्कीले निर्वाचन आयोगविरद्ध हालेको रिट सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालको इजलासमा परेको थियो। तोसिमा सोमवार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी थिइन्। आज चुडालको इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको हो। यो निर्णयसँगै अब तोसिमाले निर्वाचन लड्न पाउने भएकी छिन्।
आयोगले प्रतिनिधिसभातर्फ ललितपुर ३ की उम्मेदवार डा कार्कीको मनोनयन खारेज गरेपछि त्यसविरुद्ध उनले उत्प्रेषण आदेश माग्दै सर्वोच्चमा रिट दिएकी हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो। मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको जनाएको छ।
आयोगले उक्त पदलाई लाभको पदमा परिभाषित गरेको छ। कार्कीले मासिक पारिश्रमिक नपाए पनि बैठक भत्ता र अनुगमन लगायतका अन्य पारिश्रमिक लिने गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।