PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चुनावी घोषणापत्रको किनारामा खेलकुद : अढाइ लाइनको आश्वासन, अन्तर्राष्ट्रियस्तरका खेलाडी बन्नसक्ने युवाको खोजी



मुकुन्द घिमिरे

चुनावी घोषणापत्रको किनारामा खेलकुद : अढाइ लाइनको आश्वासन, अन्तर्राष्ट्रियस्तरका खेलाडी बन्नसक्ने युवाको खोजी

काठमाडौं : पछिल्लो वर्ष देशका लागि पदक जितिसकेका कति नेपाली खेलाडी विदेश पलायन भए? यसको ठ्याक्कै रेकर्ड छैन। तर, सबैभन्दा आर्थिक सामाजिक रुपमा सुरक्षित मानिएको फुटबल खेलबाट भइरहेको खेलाडी पलायनले नेपाली खेलकुदको भयावह पाटोलाई देखाउँछ।

पछिल्लो वर्षमात्र नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सी लगाइरहेका दर्जनभन्दा बढी खेलाडी पलायन भइसकेका छन्। यी त प्रतिनिधि घटनामात्र हुन्। अझै पलायन हुने तयारीमा रहेका खेलाडीको सूची लामै छ। यसबाहेक ‘मुलधार’ बाहिरका खेल र खेलाडीको अवस्था अझ भयावह छ।

यही महिनाको सुरुवातमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न भयो। त्यस प्रतियोगितामा स्वर्णपदक जित्ने खेलाडीको सामाजिक/आर्थिक अवस्था बारे चासो देखिँदैन/पाइँदैन। र, उनीहरुको क्षमता विकास गरेर अन्तर्राष्ट्रिय स्तरमा कसरी लैजाने भन्ने योजना पछिल्लो समय भटाभट घोषणा भइरहेका घोषणा पत्रमा गम्भीरताका साथ स्थान पाएको भेटिँदैन।

यता मंसिर ४ गते हुने निर्वाचनको माहोल ‘फेस्टिभ मुड’ नसकिँदै सुरु भइसकेको छ। धमाधम घोषणापत्र सार्वजनिक गर्दै राजनीतिक दलका नेतादेखि स्वतन्त्र उम्मेदवारसम्मले जनताको घरदैलोको दौडाहा सुरु गरिसकेका छन्। राजनीतिक दलका घोषणापत्र समृद्धि, विकासलगायतका विषयमा केन्द्रित हुँदा खेलकुद क्षेत्र भने अधिकांशको घोषणापत्रमा ओझेलमा परेको छ।

दलहरुले खेल क्षेत्रलाई केही बुँदामामात्रै समेटेका छन्। खेलकुद क्षेत्र र खेलाडीले भोगिरहेको संकटबारे आश्वासनको चाङ लिएर घरदैलो गरिरहेका दलहरुले खेलकुद क्षेत्रलाई गरेको बेवास्ताले नेपालमा खेलकुदको स्तर माथि नउठ्नुको कारणलाई ठम्याउने आधार दिन्छ।

नेकपा (एमाले)ले आफ्नो घोषणापत्रमा १२ औं दक्षिण एसियाली खेलकुदको तुलनामा १३ औं सागमा ह्वात्तै उपलब्धि बढाएको जस लिएको छ। एमालेले खेलाडीलाई थप प्रशिक्षण गराएर त्यो भन्दा माथिल्ला प्रतियोगिताको लागि सक्षम बनाउने उल्लेख गरेको छ।

सत्तारुढ दल नेपाली कांग्रेसको घोषणापत्रमा खेलकुदले थोरै स्थान पाएको छ भने नेकपा माओवादी केन्द्रको लामो घोषणा पत्रमा अन्य मुद्दामा फेहरिस्त प्रस्तुत गरेको देखिँदा खेलकुदबारे ठोस योजना भने अलमलिएको देखिन्छ।

कुन दलको घोषणापत्रमा खेलकुदबारे के छ?

नेपाली कांग्रेस : अढाइ लाइनको आश्वासन

नेपाली कांग्रेसले ५२ पेज लामो घोषणापत्र जारी गर्दा खेलकुदका लागि साढे दुई लाइन छुट्याएको छ। उदयमान खेलाडी र व्यावसायिक खेलाडीमा व्यापक लगानी गर्ने लक्ष्य राखेको कांग्रेसको घोषणा पत्रमा पूर्वाधार निर्माणबारे उल्लेख छ।

‘खेलकुद विकासका लागि खेल पूर्वाधारहरूको निर्माण तथा उचित सम्वर्द्धन गर्नुका साथै व्यवस्थापकीय संरचनालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सुधार गरी खेलाडीहरूको भविष्य सुनिश्चित गर्दै खेल प्रशिक्षक, खेल पदाधिकारी, खेलकर्मी र खेल पत्रकारितालाई उच्च प्राथमिकतामा राखिने छ,’ नेपाली कांग्रेसको घोषणा पत्रमा खेलकुदबारे भनिएको छ।

नेकपा एमाले : व्यवहारिक भन्दा सैद्धान्तिक कुराको ठेली

एमालेको घोषणा पत्रमा १३ सागको उपलब्धिलाई जस लिँदै ओलम्पिक र एसियाली स्तरमा पदक जित्ने गरी खेलाडी तयार गरिने उल्लेख गरिएको छ।

‘बाह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तीनवटा मात्र स्वर्ण पदक जितेको नेपालले हाम्रो नेतृत्वको सरकारको समयमा भएको तेह्रौं दक्षिण एसियाली खेलकूद प्रतियोगितामा ५१ वटा स्वर्ण पदक जितेर कीर्तिमान कायम गर्न सफल भयो’, घोषणापत्रमा भनिएको छ, ‘अब एसियाली र ओलम्पिक खेलकुदमा समेत पदक जित्ने गरी खेलाडीहरूलाई सक्षम बनाइने छ। उनीहरूको क्षमता विकासका लागि तालिम र प्रशिक्षणको व्यवस्था गरिने छ, आवश्यक मात्रामा खेल पूर्वाधार तयार गरिने छ।’

त्यस्तै, खेलाडीको वृत्ति विकासको कार्यक्रम ल्याउने योजनासहित खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने उल्लेख छ। तर, व्यवहारिक रुपमा कस्ता कार्यक्रम ल्याउनेलगायतका विषय स्पष्ट धारणा छैन।

‘खेलाडीहरूको सम्मान र वृत्ति विकासका कार्यक्रमसहित जीवनवृत्ति प्रणाली कार्यान्वयनमा ल्याइनेछ। राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय प्रतिष्ठा र मित्रता अभिवृद्धि गर्न नेपालको खेलजगत्लाई नयाँ उचाइमा पुऱ्याइने छ’, घोषणापत्रमा भनिएको छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी बन्नसक्ने सम्भावना भएका युवाको खोजी गरिने छ। क्षमता विकासका प्रशिक्षण र तालिम दिइनेछ। खेल प्रतियोगिताहरूमा भाग लिने अवसर उपलब्ध गराइने र खेलाडीहरूको प्रवर्द्धन गरिने छ।’

खेलाडीमा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धामा विजय हासिल गर्नसक्छौं भन्ने आत्मविश्वास र उत्साह जगाइने घोषणा पत्रमा उल्लेख छ।

माओवादी केन्द्र : युवामा केन्द्रित, खेलकुद भुल्यो

माओवादी केन्द्रले ८२ पेजको प्रतिबद्धतापत्र जारी गर्दा युवा तथा खेलकुदका लागि दुई पेज छुट्याएको छ। जुन खेलकुद क्षेत्रमा भन्दा पनि युवाको विकासमा केन्द्रित देखिन्छ।

युवा तथा खेलकुद क्षेत्रबारेका दुवै नारा खेलकुदसँग भन्दा युवा अभिवृद्धिमा केन्द्रित देखिन्छ। माओवादी केन्द्रको युवा तथा खेलकुद क्षेत्रमा दिएको दुइवटै नाराले खेलकुद क्षेत्रलाई छुँदैन।

‘युवा भविष्यको कर्णधार, वर्तमानको हिस्सेदार!’

‘युवाको क्षमता बृद्धिमा नेपाल सरकार, समृद्धिका लागि व्यवसायिकता र रोजगार’

त्यस्तै, यसबारेको १३ वटा बुँदामा एउटा बुँदामात्र खेलकुदसँग सम्बन्धित छ। त्यसमा पनि खेलकुदलाई लिएर स्पष्ट योजना देखिँदैन।

‘खेलकुद क्षेत्रमा संलग्न युवाको जीविकोपार्जनका लागि मापदण्ड बनाई आवश्यक आर्थिक सहयोगको प्रबन्ध मिलाइनेछ। खेलकुद परिषद्को क्षमता विकासमार्फत खेलकुद क्षेत्रको विकास गरिने छ’, माओवादीको ८२ पेजलामो प्रतिबद्धता पत्रमा खेलकुदबारे लेखिएको छ।

नेकपा एकीकृत समाजवादी : पुरस्कार र कदरपत्रको आश्वासन

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को घोषणा पत्रमा १४ नम्बर बुँदामा युवा तथा खेलकुदबार उल्लेख छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रिय पहिचानका लागि खेलकुद’ भन्ने नारा दिएको एकीकृत समाजवादीको घोषणा पत्रमा पनि खेलकुदको विकासका लागि ठोस योजना छैन। यसलाई व्यक्तिको शारीरिक मानसिक स्वास्थ, अनुशासन लगायतको विकाससँग लगेर जोडिएको छ। 
त्यस्तै, पदक ल्याउने खेलाडीलाई रकम पुरस्कार र कदर पत्रले सम्मानित गरिने उल्लेख भए पनि हाल कायम रहेको अवस्था भन्दा कति बढी गर्ने? कस्तो मापदण्ड बनाउने भन्ने उल्लेख छैन।

‘खेलाडीहरूलाई प्रोत्साहित गर्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलमा पदक प्राप्त गर्नेहरूलाई पदकको स्तरअनुसार निश्चित रकम पुरस्कारसहित कदरपत्र प्रदान गरी सम्मानित गरिने छ,’ घोषणापत्रमा भनिएको छ।

त्यस्तै, बालबालिका तथा युवाहरूको सहज पहुँचमा हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र, युवा क्लब तथा विचरण पार्कहरू, हरेक पालिकामा फुटबल, क्रिकेट लगायतका रङ्गशाला र ठुला खेल मैदान निर्माण गरी बालबालिका तथा युवाको स्वास्थ्य सुगठनमा विशेष ध्यान दिइने उल्लेख छ। त्यसबाहेक प्राथमिक तहबाटै खेलकुदमा लाग्न प्रोत्साहन गर्न देखि विभिन्न प्रतियोगिता आयोजना गर्न पहल गर्नेसम्मका योजना उल्लेख छन्।

राप्रपाको पनि खेल पूर्वाधारबारे अस्पष्ट धारणा

राष्ट्रिय प्रजातन्त्र पार्टीले खेलकुदलाई नारामै केन्द्रित गरेको छ। पूर्वाधारलाई जोड्दै दिँदै घोषणापत्रमा लेखिएको छ : एक पालिका एक खेल मैदान। तर, घोषणा पत्रमा मैदानको निर्माण आवश्यकताको आधारमा गरिने भन्दै स्पष्ट खाका दिन सकेको छैन।

‘प्रदेश र स्थानीय स्तरमा आवश्यकताको आधारमा रंगशाला, कभर्ड हल, खेल मैदान, खुला व्यायामशालाको निर्माण गरिनेछ’, राप्रपाको घोषणापत्रमा खेलकुदबारे भनिएको छ, ‘स्थानीय प्रतिभाशाली खेलाडी तथा प्रशिक्षकलाई उच्चस्तरीय प्रशिक्षणको व्यवस्था गरिनेछ।’

त्यसबाहेक युवाको उद्यमशीलता, रोजगार, व्यवसाय, कुरीति दुर्व्यसनबारे चर्चा हुँदा अक्षय कोषको स्थापना गरेर अक्षय कोषको व्यवस्था गरी खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell