PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्राधिकरणको अल्टिमेटमबारे आइएसपीहरु भन्छन् : २५ वर्षदेखिको पूर्वाधार ४५ दिनमा कसरी फेर्नु?



उन्नत सापकोटा

प्राधिकरणको अल्टिमेटमबारे आइएसपीहरु भन्छन् : २५ वर्षदेखिको पूर्वाधार ४५ दिनमा कसरी फेर्नु?

काठमाडौं : नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकसहित केबल टीभी अपरेटरबिच फेरि पोल प्रयोगको विषयमा झगडा बढ्ने भएको छ। प्राधिकरणले पोलमा तानिएका केबल तथा उपकरणहरु व्यवस्थित गर्न अल्टिमेटम दिएपछि विवाद बढ्ने देखिएको हो।

जथाभावी तार र उपकरणले सहर कुरुप बनाउनुका साथै विद्युत प्रवाहमा समेत असर पुर्‍याएको भन्दै प्राधिकरणले व्यवस्थापनको मापदण्ड बनाएको छ। दूरसंचार, केबल टीभी तथा इन्टरनेट सेवा प्रदायकहरुलाई उक्त मापदण्ड ४५ दिनभित्र पालना नगरे तारै काट्ने चेतावनी दोहोर्‍याएको छ।

प्राधिकरणको चेतावनीपछि इन्टरनेट सेवा प्रदायक र केबल टीभी अपरेटरहरु आपसी छलफलमा छन्। देशभर आइएसपी र केबल टीभी संचालकहरुले विद्युत प्राधिकरणको पोल उपयोग गरेका छन्। अघिल्लो झगडा साम्य भएपछि पुन: प्राधिकरणको चेतावनी आउँदा अब के गर्ने भनेर उनीहरु छलफल गरिरहेका छन्।

प्राधिकरणको मापदण्ड अनुसार राउटर, रिपिटर, एक्सट्रयाक्टर, अप्टिकल फाइबर डिस्ट्रिब्युसन बक्स र जोइन्ट क्लोजर आदि उपकरणहरु पोलको एउटा मात्रै साइडमा मिलाएर नहल्लिने र नझर्ने गरी राख्नुपर्छ। सफासँग क्लिप ब्याण्ड प्रयोग गरी वाइरिङ गर्नु पर्नेछ।

अप्टिकल फाइबर केवल र विद्युतीय लाइनबीचको न्युनतम दुरी ४०० भोल्ट लाइन (नांगो तार) मा ८० सेमी हुनुपर्नेछ। ४०० भोल्ट (इन्सुलेटेड तार) मा ३० सेमी,११ केभी-३३ केभीलाइनमा २ मिटर र अन्य ४०० केभी भोल्टका उपकरणहरुमा ७५ सेमी हुनुपर्नेछ। अप्टिकल फाइबर को-एक्सियल केबल र जमिन सतहबिचको न्युनतम दुरी पैदलमार्गमा २.४ मिटर र सडकमार्गमा ५.५ मिटर हुनुपर्नेछ।

प्रयोगमा नरहेका तार तथा उपकरणहरु हटाउनुपर्ने उल्लेख छ। सेवा प्रदायकहरुले उनीहरुको केवल सजिलोसँग चिन्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउने र पोलमा जडित उपकरणहरुमा समेत उपयुक्त मार्किङ गर्नुपर्नेछ। अप्टिकल फाइबर र को-एक्सियल केबल सडक वारपार नतान्न र तानिएको भए हटाउन निर्देशन दिइएको छ। जथाभावी सडक क्रस गरेर तार तानिएको छ।

प्राधिकरणले तारे काट्ने चेतावनी दोहोर्‍याएपछि इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष तथा सुबिसु केबल नेटका सञ्चालक सुधीर पराजुलीले प्राधिकरणले आवश्यक समन्वय बिनानै तार काट्ने सूचना निकाल्ने गरेको गुनासो गरे। प्राधिकरण र सेवा प्रदायकहरुले लगानी गरेको पूर्वाधार राज्यकै सम्पत्ति भएको भन्दै पराजुलीले समन्वयात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए।

‘अप्टिकल फाइबर केबल र विद्युतीय लाइनबीचको न्यूनतम दूरी अर्थात् तार तान्ने विधि भनेर प्राधिकरणले भनेको छ त्यसमा हामीले सोही अनुसार काम गर्दै आएका छौं। त्यसमा समस्या छैन,’ पराजुलीले भने।

सेवा प्रदायकहरु प्राधिकरणको कोइल हटाउनुपर्ने भन्दै मापदण्ड बारे गरेको पत्राचार प्रति भने आक्रोशित छन्। प्राविधिक कुरा नबुझी प्राधिकरणले एकोहोरो मापदण्ड बनाएको उनीहरुको आरोप छ।

‘कोइल हटाउनुपर्ने भन्ने मापदण्ड ल्याएको बुझेर हो कि बुझ पचाएर हो थाहा छैन। हामी धेरै पटक छलफलमा बसिसक्यौं, यो हटाउन सकिँदैन। कोइल भनेको तार तान्दा तान्दा बढी भएर गुजुल्टो पारेको भनेर भन्नुहुन्छ वहाँहरु, त्यो हुँदै होइन’, उनले भने, ‘किनभने जुन ठाउँबाट हामीले कनेक्सन दिन्छौं, त्यो जोड्न भर्‍याङ उक्लेर मिल्दैन। मेसिन उकालेर जोड्यो भने कनेक्सन स्थिर हुँदैन। त्यसलाई भुँइमै झारेर जोड्नुपर्छ। हामीले बक्सभित्र राम्रोसँग तार राखेकै छौं। यो प्राधिकरणले भने जस्तो तत्कालै हटाउन सकिँदैन।’

प्राधिकरण र सेवा प्रदायकबिच यसअघि पनि पोल भाडाको विषयमा चर्को विवाद भएको थियो। प्राधिकरणले केही स्थानहरुमा सेवा प्रदायकहरुको तारै काट्ने काम गरेको थियो। जुन विवादलाई संचार मन्त्रालय र ऊर्जा मन्त्रालयले संयुक्त हस्तक्षेत्र गर्दै साम्य पारेका थिए। अहिले पनि पोल भाडालाई लिएर प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबिचको विवाद जारी छ।

यता विश्वकप फुटबल समेत मंसिर ४ गतेबाट सुरु हुने पूर्वसन्ध्यामा प्राधिकरणले तार काट्ने चेतावनीसहितको विज्ञप्ति छापेपछि सेवा प्रदायकहरु प्राधिकरणसँग रुष्ट बनेका छन्।

यस्तै, उनले विगत २५ वर्षदेखि प्रयोग हुँदै आएको पूर्वाधार ४५ दिनमा मापदण्ड अनुरुप रुपान्तरण गर्न व्यवहारिक नहुने भन्दै चरणबद्ध रुपमा तारहरुको व्यवस्थापन गर्नुपर्ने दाबी पराजुलीको छ।

‘विगत २५ वर्षदेखि हामीले सहरीदेखि ग्रामीण भेगमा इन्टरनेट सेवा विस्तार गर्दै लगेका छौं। फ्याट्ट एउटा सूचना निकालेर ल ४५ दिनमा हामीले भनेको जस्तो हुनुपर्‍यो भन्दिएर हुन्छ र! क्रमिक रुपमा तार व्यवस्थापन गर्दै जान हामी तयार छौं। समन्वय हुनुपर्‍यो,’ पराजुलीले भने।

प्राधिकरणको आफ्नै तार गन्जागोल छ अरुको तार व्यवस्थापन गर्छु भन्ने गरेको भन्दै उनले कटाक्ष गरे। प्राधिकरणले पटक पटक तार काट्छु भनेर दिने चेतावनीले आफूहरु दिक्क भएको भन्दै सरकारले आफूहरुलाई पनि पोल गाड्न दिए आफूहरु गाड्न तयार रहेको बताए।

यता प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले अव्यवस्थित तारहरुका कारण पोलहरु बांगिने, सडक क्रस गरेका कारण दुर्घटना हुने गरेकाले व्यवस्थित गर्न लागिएको बताए। उनका अनुसार नेपाल दूरसंचार प्राधिकरण, सेवा प्रदायकहरुलाई समेत पत्राचार गरेर संयुक्त रुपमा व्यवस्थित बनाउन लागिएको हो।

पोलमा तार र अन्य उपकरण जथाभावी राखेर अव्यवस्थित हुनुका साथै जोखिम पनि बढाएको गुनासो आइरहेको उनको भनाइ छ।

‘सहरी सौन्दर्य कायम राख्न आआफ्नो ठाउँबाट काम गर्नु हामी सबैको दायित्व हो। हाम्रा संरचनाहरु व्यवस्थित हुनुपर्छ’, उनले भने, ‘त्यसैका लागि हामीले सुधारको काम गर्न लागेका हौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell