
नवलपुर : सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेको छ। राजनीतिक दलका उम्मेदवारहरुले मतदाता भेट्ने क्रम जारी राखेका छन्।
वडा भेला, पालिकास्तरीय भेला र आन्तरिक भेटघाटमा आफ्ना एजेन्डा बुझाइरहेका भेटिन्छन् उम्मेदवारहरु। यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को तालमेल रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ।
क्षेत्र २ मा कांग्रेसका मोहन बहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। त्यसैगरी, प्रदेश ‘क’मा सत्ता गठबन्धनबाट माओवादीका युवराज दुलाल शरद चुनावी मैदानमा छन् भने एमालेबाट अमनसिङ तामाङ। प्रदेश ‘ख’मा सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णकुमार तामाङ ‘समीर’ र एमालेका हस्त पण्डित भिड्दैछन्।
यी दुई उम्मेदवारले हाल्न पाउनेछैनन् आफैलाई मत
क्षेत्र नम्बर २ मा क्षेत्र परिवर्तन र पार्टी परिवर्तन गरी उम्मेदवार बनेका दुई जनाले आफैलाई मत हाल्न नपाउने भएका छन्। क्षेत्र नम्बर १ आफैँले पाउनुपर्ने अडान राख्दै आएका मोहन बस्नेत अहिले क्षेत्र २ का उम्मेदवार बनेका छन्।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले आफैँलाई मत हाल्न पाउने छैनन्। उनले गठबन्धनबाट माओवादी केन्द्र क्षेत्र १ उम्मेदवार माधव सापकोटा सुबोधलाई मत हाल्नुपर्नेछ।
यता एमालेका प्रदेश उम्मेदवार अमानसिङले पनि आफैलाई मत हाल्न पाउने छैनन्। माओवादी छोडेर एमाले प्रवेश गरेलगत्तै क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’को टिकट पाएका उनी चौतारासागाचोकगढीका पूर्वमेयर हुन्। उनी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र १ नम्बर को प्रदेशसभा ‘ख’का मतदाता हुन्।