
टी २० विश्वकपमा आजको दोस्रो खेलमा भारत र बंगलादेश पौने २ बजे प्रतिस्पर्धामा उत्रँदैछन्। एडेलेड ओभल स्टेडियममा यी दुई टोली आमनेसामने हुनेछन्। त्यसअघि यही मैदानमा नेदरल्याण्ड र जिम्बावेबिच खेल चलिरहेको छ।
ग्रुप २ को कुरा गर्दा ३ खेलबाट ५ अंक जोडेको दक्षिण अफ्रिका शीर्षस्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका भारत र बंगलादेशको समान ४ अंक छ। यो समूहबाट दक्षिण अफ्रिका सेमिफाइनलको नजिक पुग्दा भारत, बंगलादेश, जिम्बावे र पाकिस्तानको सम्भावना पनि जीवित नै छ।
दोस्रो स्थानमा रहेको भारतको कुरा गर्दा समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई र दोस्रो खेलमा नेदरल्याण्डलाई हराए पनि तेस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो। त्यस्तै, बंगलादेशले पनि जिम्बावे र नेदरल्याण्डलाई हराउँदा दक्षिण अफ्रिकासँग पराजित भएको थियो। आजको खेलमा जित निकाल्दै यी दुवै टोली सेमिफाइनलको यात्राको सम्भावना बलियो बनाउन चाहन्छन्।
तर, एडेलेडमा आज साँझ वर्षा हुने पूर्वानुमान गरिएको छ। भारत र बंगलादेशबिचको खेल त्यतिबेलै पर्न जान्छ। त्यसैले यी दुई टोलीबिचको खेल छोट्टिने या डीएल मेथडमा जानुपर्ने सम्भावना प्रबल हुने देखिन्छ।
तर, वर्षादले त्यो पनि सम्भव नभए के हुन्छ?
आजको महत्वपूर्ण खेल हुन नसके दुवै टोलीले १/१ अंक बाँड्नेछन्। नेट रनरेटका आधारमा भारत दोस्रो र बंगलादेश तेस्रो नम्बरमा रहनेछन् तर यसले सेमिफाइनलको निधो भने हुँदैन। सेमिफाइनलको समीकरणका लागि अर्को खेल फेरि पर्खनुपर्ने हुन्छ। भारतले आफ्नो अन्तिम खेल जिम्बावे र बंगलादेशले पाकिस्तानसँग खेल्ने तालिका छ।
आज जिम्बावेले नेदरल्याण्ड्ससँग खेलिरहेको छ। यो खेल जिम्बावेले जित समीकरण अझ रोमाञ्चक बन्नेछ। अर्थात जिम्बावेको पनि ५ अंक हुनेछ।
अर्कोतर्फ सुरुवाती दुई खेलमा ब्याक-टू-ब्याक हार ब्यहोरेको पाकिस्तानले बिहीवार दक्षिण अफ्रिकासँग खेल्दैछ। सानदार फर्ममा रहेको दक्षिण अफ्रिकासँग पाकिस्तान हारे उसको सेमिफाइनलको झिनो आशा पनि सकिनेछ भने जित निकाल्न सके सम्भावनाको समीकरण बाँकी नै रहनेछ। अर्थात पाकिस्तानले बाँकी आफ्ना दुवै खेल जिते पनि अन्य टोलीको नतिजाको समीकरणलाई पनि पर्खनुपर्नेछ। पाकिस्तानले दक्षिण अफ्रिका र बंगलादेशलाई हराए उसको ६ अंक हुनेछ।
तर, भारत र बंगलादेशबिचको खेलमा वर्षाद भए समीकरणमा प्याटर्न फेरिनेछ। र, फराकिलो रनरेटको खेल आवश्यक हुनेछ। यस्तो भएको अवस्थामा सबै टोलीले आफ्नो अन्तिम खेलमा जितमात्र चाहने छैनन्, फराकिलो जित चाहनेछन्।