
बुटवल : गृहमन्त्री बालकृष्ण खाणले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित लुम्बिनी प्रदेश स्तरिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले जनताको अपेक्षा सुख, शान्ति र समृद्दी रहेको र त्यो अपेक्षा पुरा गर्न निर्वाचन अपरिहार्य रहेको बताए।
उनले सरकारले कसैलाई काखा र पाखा नगर्ने स्पष्ट पार्दै निर्वाचन प्रक्रियाबाट बाहिर रहेका दलहरुलाई पनि निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरे।
‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्यमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो’, उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन।’
उनले निर्वाचनमा सहभागी हुने आम नागरिकलाई भ्रममा नपार्न तथा निर्वाचन बिथोल्ने खालका गतिविधि नगर्न समेत चुनावमा सहभागी नहुने घोषणा गरेका दलहरुलाई आग्रह गरे।
‘नेपाल सरकारले कुनैपनि राजनीतिक दलहरु प्रति आग्रह र पूर्वाग्रह राखेको छैन’, उनले भने, ‘नेपाली भूमिमा संचालनमा रहेका, जन्मिएका, हुर्किएका सबै दलहरु सरकारका लागि बराबर छन्।’
गृहमन्त्री खाणले दलहरुसँग भएका सहमतिहरुलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कतिपय मागहरुको सम्बोधन भइसकेको र कतिपय मागहरु पुरा हुने प्रक्रियामा रहेको पनि जनाए। संविधान संशोधन बाहेकका मागहरुमा सरकारले माग सम्बोधनको कार्य थालिरहेको बताउँदै उनले ऐन र कानुनमा सुधार गरि सबै दलहरुलाई निर्वाचनमा आउने वातावरण बनाउन सरकार इमान्दार रहेको बताए।
गृह मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरू सहभागी छन्।