काठमाडौं : नेकपा (एमाले)को चुनावी गीत गाउँदै आएका बद्री पंगेनीले यसपटक नेकपा (माओवादी केन्द्र)को चुनावी गीतमा स्वर भरेका छन्। माओवादी केन्द्रलाई भोट मागिएको ‘अघि अघि प्रचण्ड’ बोलको गीतमा पंगेनीको स्वर सुन्न सकिन्छ।
गीतकार एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा पंगेनीका साथै गायिका स्मिता दाहालको पनि स्वर रहेको छ। स्मिता प्रचण्डकी नातिनी हुन्। एमालेको चर्चित चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ को रचना समेत भण्डारीले नै गरेका थिए।
मौसम हिमालीको निर्देशित गीतको भिडियोमा भिडियोमा करिश्मा ढकाल, लोमश शर्मा र चेतन गोतामेले अभिनय रहेको छ।
यसअघि गायक बद्री पंगेनीलाई एमालेको चुनावी प्रचारको गीत मात्रै गाएको भन्ने आरोप लाग्ने गरेको थियो। तर, यसपटक भने पंगेनीले माओवादी केन्द्रको गीत गाएर आफूमाथि लाग्ने आरोपको खण्डन गरेका छन्।
पंगेनीको यो गीत सार्वजनिक भएसँगै दर्शकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ। कतिपयले कलाकारहरुले सधैँ स्वतन्त्र हुनुपर्ने तर्क गरिरहेका छन् भने कतिपय दर्शकले भने पार्टी फेरेको भनेर पंगेनीको आलोचना गरिरहेको छ।