
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन बिथोल्न सक्ने समूहहरुका विरुद्ध सुरक्षा निकायसँग छलफल भइरहेको बताएका छन्। आज बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले विप्लव नेतृत्वको नेकपा माओवादीका बारेमा पनि छलफल भइरहेको बताएका हुन्। विप्लव समूहले निर्वाचन बिथोल्ने घोषणा गरिसकेको छ।
'विप्लवको विषयमा गम्भीर रुपमा सुरक्षा निकायसँग बसेर छलफल गरेका छौँ। हामी यसमा सचेत छौं,' उनले भने।
निर्वाचन आयोगले मंसिर ४ गतेका दिन सवारीसाधन चल्न दिने निर्णय गरेको थियो। तर थपलियाले भने पूर्ववत् रुपमा सवारीसाधन चलाउन दिन नसकिने बताएका छन्।
'गृह र सुरक्षा निकायको सुझाव छ। केही सवारी चलाउने। पूर्ववत नचलाउने,' उनले भने।
उनले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसार गर्न नपाउने बताए।
'वडाध्यक्ष जनताको सेवक हो। आफ्नो स्थानीय तहबाट बाहिर जानसक्छन्। तर प्रभावित पार्नुभएन,' उनले भने।
उनले निर्वाचनको सुरक्षाका लागि सिसिटिभी राख्न स्थानीय तहलाई अनुरोध गर्ने बताए।
थपलियाले भने, 'सिसीटिभीका लागि स्थानीय तहलाई अनुरोध गर्ने। हाम्रो सिसीटिभीमा बजेट छैन।'
सिसिटिभीलाई बजेट नभएको बताउने निर्वाचन आयोगले गरेको पछिल्लो विज्ञापनको आलोचना भइरहेको छ। गीत र विज्ञानलाई लिएर भएको आलोचनाबारे पनि थपलियाले भने, 'विज्ञापन स्थानीय निर्वाचनमा वाहवाह भयो, यो पाली चर्को आलोचना भयो श्रव्यदृश्यमा। एउटै विषयमा ८० ले राम्रो र २० ले नराम्रो भन्या छन्।'
उनले मतदानपछि मतगणनास्थलमा तार जाली नराखिने बताए।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवार रहेकी तोसिमा कार्कीको मनोनयन खारेज गरिदिएको थियो। तर, सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी रद्द नगर्न आदेश दिएको छ। यसबारेमा आयोगले अदालतको निर्णय पछि व्याख्या गर्ने उनले बताए।
'तोसिमाबारे आयोगले पछि व्याख्या गर्छ,' उनले भने।
आयोगले नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको भन्दै कार्कीको उम्मेदवारी रद्ध गरेको थियो। कार्कीले पारिश्रमिक नलिने भए पनि भत्ता लिने गरेको पाइएको भन्दै आयोगले लाभको पदका आधारमा कार्कीको उम्मेदवारी खारेज गरेको बताएको थियो। सर्वोच्चले भने कार्कीले पाउँदै आएको भत्ता नियमित प्रकृतिको नभएको ठहर गरेको छ।
तोसिमालाई कारवाही गरे पछि पेन्सन पाइरहेकाहरु पनि निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको भन्दै आयोगलाई प्रश्न सोधिएको थियो।
यसबारेमा थपलियाले भने, 'पेन्सनवाला, जेष्ठ नागरिक भत्ता, लाभ हो। तर लाभको पद हैन। पेन्सन पद हैन,' उनले भने।