
काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज सम्पन्न खेलमा कीर्तिपुरमा सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ। गण्डकी प्रदेशले दिएको २०९ रनको लक्ष्य पछ्याएको कर्णाली १७६ रनमै समेटिँदा गण्डकीले ३२ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। गण्डकीका लागि अभिषेक बस्नेतले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५१ रन बनाउँदा अर्जुन कुमालले ४९ तथा विधान श्रेष्ठले ४६ रन जोडे। बलिङतर्फ कर्णालीका अनुज चुनराले सर्वाधिक ४ विकेट लिँदा प्रकाश जैशीले ३ तथा दिनेश अधिकारीले २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कर्णालीका हिमांशु शाहीले सर्वाधिक अविजित ६९ रन र कप्तान रबिन्द्र शाहीले ४२ रन जोडे पनि अन्य ब्याट्सम्यान नचल्दा १७६ रनमा समेटियो। बलिङतर्फ गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले समान ३ विकेट लिँदा विपिन खत्रीले २ तथा कमल परियार र अभिषेक बस्नेतले समान १ विकेट लिए।
त्यस्तै आजै सम्पन्न मुलपानीमा सम्पन्न अर्को खेलमा लुम्बिनी प्रदेशले वाग्मती प्रदेशलाई ८ विकेटले हरायो। टस जितेर ब्याटिङमा उत्रिएको वाग्मतीले ३८.१ ओभरमा ज्ञानेन्द्र मल्लको ३३ रन तथा दुर्गेश थापाको ३२ रनको सहायतामा १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिउको लुम्बिनीले कप्तान देव खनालको अविजित ७७ रन तथा सन्दीप रजाली र प्रज्वल थापाको समान २९ रनको सहायतामा २ विकेट गुमाएर लक्ष्य भेट्टायो।
आजको जितमा लगातार दुई जित निकालेको गण्डकी प्रदेश समूह 'ए' शीर्ष स्थानमा रहँदा पराजय ब्यहोरेको कर्णाली पहिलो हार ब्यहोर्दै तेस्रो स्थानमा छ। त्यस्तै समूह 'बी'मा पहिलो जित निकालेको लुम्बिनी प्रदेश दोस्रो स्थानमा छ।