
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भोलिबाट आमसभा तथा जुलुसका कार्यक्रम शुरु हुँदैछ। निर्वाचन आयोगले सम्पूर्ण कार्यक्रम आचारसंहिताभित्र रही गर्न अनुरोध गरेको छ।
निर्वाचन आयोगमा आज पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन भएमा आयोग कारबाहीमा उत्रने चेतावनी दिए। असोज १२ बाट हालसम्म ७१ जनालाई स्पष्टीकरण सोधिसकेको उल्लेख गर्दै कतिपय जिल्लाको रेकर्ड आउन बाँकी रहेको थपलियाले बताए।
आमसभा र मञ्चको खर्च बुझाउनुपर्ने
आयोगले उम्मेदवारहरुलाई आमसभा र मञ्चमा लागेको खर्चसमेत बुझाउन निर्देशन दिएको छ। पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आमसभा र कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्च सम्बन्धित उम्मेदवारले निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने बताए। 'आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ,' थपलियाले भने।
उम्मेदवारले आचारसंहिता पालना गरे नगरेको निगरानीका लागि नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग(सिआइबी)लाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ। 'उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिताको पालना र तोकेको सीमाभित्र रही खर्च गरे नगरेको निगरानी गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिइएको छ,' आयोगले भनेको छ।
त्यसैगरी आयोगले मन्त्रीहरु चुनावी प्रचारमा निस्कँदा आयोगसँग अनुमति लिनुपर्ने र सरकारी साधनको प्रयोग गर्न नहुने व्यवस्था गरेको जनाएको छ। 'निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी साधनको प्रयोग भए नभएको विषयमा आवश्यक निगरानीको व्यवस्था मिलाइएको छ,' थपलियाले भने।