PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

नारायणगढ-बुटवल सडक विस्तारको प्रगति २० प्रतिशत मात्रै, थपेको म्यादमा पनि छैन काम सन्तोषजनक



शुक्र गिरी

नारायणगढ-बुटवल सडक विस्तारको प्रगति २० प्रतिशत मात्रै, थपेको म्यादमा पनि छैन काम सन्तोषजनक

काठमाडौं : पूर्व-पश्चिम राजमार्गको यात्रामा यतिबेला धेरै सास्ती कतै छ भने त्यो नारायणगढ-बुटवल खण्डमा छ। यो खण्ड विस्तारको काम थालेको ठेकेदार कम्पनीले धेरै ठाउँ खनेर छाड्दा खाल्डाखुल्डी र धुलोले सवारी आवागमनलाई निकै गाह्रो छ। ठेक्का सम्झौताअनुसार यो खण्ड निर्माण पूरा भइसक्नुपर्ने हो, तर हालसम्मको प्रगति २० प्रतिशत पनि छैन।

उक्त खण्ड विस्तारमा चिनियाँ निर्माण कम्पनीको कामको प्रगति २० प्रतिशत मात्रै रहेको नारायणगढ-बुटवल सडक विस्तार आयोजनाका इन्जिनियर प्रदीपराज शाक्यले बताएका छन्। ‘यो खण्डमा काम हुन नसक्दा हाम्रो पनि टाउको दुखाइ छ,’ उनले भने।

नारायणगढ-बुटवल सडक विस्तार ठेक्का आर्थिक वर्ष २०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको हो। निर्माणको काम गत साउन २२ भित्र पूरा भइसक्नुपर्ने थियो। ठेकेदारका लागि आयोजनाले गत साउन २२ मा पूर्वी खण्डमा ३८४ र पश्चिम खण्ड ३६५ दिन म्याद थप गरिसकेको छ।

म्याद थप गर्दा पनि कामले गति लिएको छैन। आयोजना तथा सडक विभागले सूचना निकालेर ठेक्का तोड्ने तयारी गरेको चेतावनी दिएका छन्। आयोजनाले गत असोजमै निर्माण कार्यलाई तीव्रता दिन २८ दिने अल्टिमेटम दिएको थियो। त्यसबेला नै काम सन्तोषजनक नदेखिए निर्माण कम्पनीसँग ठेक्का तोडिने आयोजनाले जनाएको थियो।

तर, निर्माण कम्पनीले उक्त अल्टिमेटमको बेवास्ता गर्दै उल्टै आयोजनासँग काम गरेको देखाउन थप २१ दिनको समय माग गरेको थियो। आयोजनाले पनि ठेक्का तोड्नुको साटो मागअनुसार समय दियो।

‘प्रगति सन्तोषजनक त भएको छैन। तैपनि ठेकेदारको आग्रहमा अन्तिम पटक २१ दिनको समय दिइएको हो,’ शाक्यले भने।

निर्माण व्यवसायीले मंगलवारदेखि पुल तथा कल्भर्टको काम सुरु गरेको इन्जिनियर शाक्यले बताए। तर, निर्माण कम्पनीले मर्मतसंभार तथा खाल्डाखुल्डी पुर्न कालोपत्रे गर्ने काम सुरु गरेको छैन। रुख कटान र पोल सार्ने कामले केही महिना निर्माण व्यवसायीले काम गर्न नसकेको पनि शाक्य स्वीकार गर्छन्।

नारायणगढ-बुटवल सडक विस्तारका क्रममा दैनिक यात्रु र आसपासका स्थानीयले सास्ती खेपिरहेको गुनासो सुनिएपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले निर्माण क्षेत्रको स्थलगत अध्ययनसमेत गरेको थियो। समितिले निर्माण व्यवसायीले सडक निर्माणसँग सम्बन्धित मेसिन तथा औजारहरू समयमा आपूर्ति नगरेको, आवश्यक संख्यामा कामदार परिचालन नगर्दा काममा ढिलाइ भएको तथा नियामक निकायबाट पनि निर्माण कार्यको अनुगमन र सुपरिवेक्षण गरी उचित कारबाही नगरेको पाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो।

आयोजनाअन्तर्गत गैंडाकोट-दाउन्ने र दाउन्ने-बुटवल गरी दुई खण्डमा विभाजन गरी सडक विस्तार भइरहेको छ। तर, हालसम्मको भौतिक प्रगति हेर्दा चालु आर्थिक वर्षमा पहिलो र दोस्रो खण्डको क्रमशः ६७.०८ र ६९.८१ प्रतिशत भौतिक प्रगतिको लक्ष्य हासिल गर्ने ठोस तथा भरपर्दो आधार नदेखिएको समितिको ठहर थियो।

समय सकिँदा भौतिक प्रगति जम्मा २० प्रतिशत मात्र

आयोजनाका इन्जिनियर शाक्यका अनुसार हालसम्म दुवै खण्डको भौतिक प्रगति २० प्रतिशत मात्र छ। अहिलेसम्म पश्चिम खण्डमा ३३ वटा कल्भर्ट, ६ वटा सानोपुल निर्माण अन्तिम चरणमा पुगेको उनले बताए।

‘करिब सय वटा कल्भर्ट, १२ वटा पुल र २५ किलोमिटर जति सडकमा माटो भर्ने काम भएको छ’, उनले भने, ‘त्यस्तै, ९ वटा ठुला पुल निर्माण गर्नुपर्नेमा ४ वटाको पिल्लर राख्ने काम भइरहेको छ।’

शाक्यका अनुसार सानाठुला गरेर ३० पुल मध्ये ९ वटा निर्माणाधीन रहेको छ।

‘६ वटा सानो पुलको स्ल्याब ढलानको काम सकिएको छ,’ उनले भने। घोराहीमा निर्माण हुने पुलको पिल्लर बनाउने काम सकिएको छ। त्यस्तै, तुलिया र घुमैयाँमा निर्माण हुने पुलको भने फाउण्डेसनको काम भइरहेको उनले बताए।

पूर्वी खण्डको निर्माण पश्चिमको भन्दा कम भएको छ। तीन वर्षको अवधिमा यो खण्डको काम जम्मा १० प्रतिशत मात्र भएको शाक्यले बताए।

उनका अनुसार यो खण्डमा निर्माण हुने २२ पुलमध्ये ७ वटाको काम पूरा भइसकेको छ। त्यस्तै, २१५ कल्भर्ट निर्माण गर्नुपर्नेमा २२ वटा कल्भर्टको निर्माण सम्पन्न भएको र ८२ वटा निर्माणाधीन रहेको उनले बताए। त्यस्तै, ३७ किलोमिटर सडकमा माटो भर्ने काम भइरहेको उनको भनाइ छ।

१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।

अन्य आयोजना पनि यही कम्पनीको फन्दामा

यो चिनियाँ कम्पनीले सबैभन्दा कम आर्थिक प्रस्ताव गरेर ठेक्का हडप्ने प्रवृत्ति देखाउदै आएको छ। तर, निर्माण कार्यमा भने पटक-पटक म्याद थप गर्ने र काम नगर्ने गरेको छ। यस्तै काम ढिलाइ गर्दै आएको कर्पोरेसनले नै नेपालमा धेरै ठूलो आयोजनाहरुको ठेक्का पाएको छ।

कर्पोरेसनले सिद्धबाबा सुरुङमार्गको ठेक्का ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा पाएको छ। यसको पनि कम्पनीले डिजाइनको काम ६ महिनाको समय बितिसक्दा पनि डिजाइन तयार पार्न सकेको छैन। आयोजनाले डिजाइनको लागि ६ महिनाको समयावधि दिएको थियो।

यसैगरी, नेपालको फास्ट ट्रयाकको सुरुङ निर्माण गर्ने कामको पनि यसै कम्पनीले ठेक्का हात पारेको छ। काठमाडौं-तराई-मधेस द्रुतमार्ग निर्माणका २ मध्ये एक प्याकेजको सुरुङ बनाउन सेनाले कर्पोरेसनलाई नै जिम्मा दिएको हो। कर्पोरेसनले गत बैशाखमा छोक्रेडाँडादेखि धेद्रेसम्म ३.३५५ किलोमिटर सुरुङ निर्माण गर्न ठेक्का पाएको हो। ठेक्का रकम लगभग २१ अर्ब ६१ करोड रुपैयाँ छ।

यसमा पनि कम्पनीले गुणस्तरयुक्त काम नगरेको भन्दै सेनाले एक महिना काम गर्न प्रतिबन्ध लगाएको थियो। उक्त सुरुङमा भएको कामको परामर्शदाताले गुणस्तर निरीक्षण गरेपछि मात्र फेरि काम सुरु गर्न अनुमति दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell