
बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वमा बन्ने सरकारले भूमिहीन तथा सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने बताएका छन्। बिहीबार बुटवलमा चुनावी भेलामा पौडेलले एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने दावी गरेका हुन्।
यसअघि एमाले नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्याए पनि अदालतले रोकेको भन्दै उनले निर्वाचनपछि यो मुद्दालाई उच्च प्राथामिकताका राख्नेसमेत बताए।
‘लालपूर्जा सर्वाधिक चासोको विषय हो’ पौडेलले भने, ‘हाम्रो सरकारको पालामा उच्च प्राथामिकताका साथमा जग्गाधनी प्रमाणपत्र दिने गरी आयोगले केन्द्र र जिल्लामा काम गरिरहेका थिए। सुकुम्बासीका विरोधीहरुले अदालतमा गएर यो काम रोकी पाउँ भनेर मुद्दा हाले। अदालतले तत्काल केही नगर्नु नगराउनु भन्यो। त्यसपछि अदालतले विद्यमान कानूनको आधारमा लालपूर्जा बाँड्न पाइँदैन नयाँ कानून बनाएर मात्र काम सुरु गर्नु भनेर फैसला गर्दा यो काम रोकिएका हो।’
पौडेलले थप भने, ‘भूमिहीनको पक्षमा पहिलो कानून बनाएका छौं। त्यही अनुसार निर्वाचनपछि जग्गाधनी प्रमाणपत्र एमालेले वितरण गर्नेछ। अरु कुनै पनि दलले गर्न सक्दैन। निर्वाचनपछि उच्च प्राथामिकताका साथ यो काममा लग्छौं। लालपूर्जा वितरण गछौं।’
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले जिल्लामा भौतिकसँगै मानवीय विकास जनताको चाहना भएको भन्दै त्यही अनुसार काम अगाडि बढाउने समेत बताएका छन्। भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर रुपन्देहीलाई अब्बल जिल्ला बनाउने पौडेलले घोषणासमेत गरेका छन्। रुपन्देही विकासका दृष्टीले रोलमोडल जिल्ला भएको दोहोर्याउँदै उनले विकास सिक्न यहाँ आउने वातावरण बन्दै गएको बताए।
चुनावको समयमा जथाभावी आरोप लगाउने र बदनाम गर्ने कोसिस हुने भन्दै उनले कसैलाई आरोप नलगाई आफूले गरेका काम र एजेण्डा जनतामाझ लैजान एमाले कार्यकर्ताहरुलाई अपिल गरेका छन्।
पौडेलले भने ‘राजनीतिलाई गालीगलौज र आरोप प्रत्यारोप भन्दा माथि उठाएर मर्यादित बनाऔं।’