PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा लुम्बिनी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा



पहिलोपोस्ट

दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा लुम्बिनी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा
तस्बिर: क्यान

काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न समूह 'बी' को खेलमा लुम्बिनी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ। लुम्बिनी प्रदेशले दिएको १८९ रनको लक्ष्य ३७.१ ओभरमा ४ विकेट गुमाउँदै पछ्याएको पुलिसले ६ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले ४४.२ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जसका लागि कप्तान देव खनालले सर्वाधिक ७४ रन बनाउँदा विशाल विक्रम केसीले ३० रन बनाउँदा प्रज्वल थापाले २३ रन बनाए। बलिङतर्फ पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिँदा सागर ढकाल र करण केसीले समान २ विकेट तथा गुलसन झा र ललित राजवंशीले समान १ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसले दीपेन्द्रसिंह ऐरीको सर्वाधिक अविजित ४३ रन, सुनिल धमलाको ३६ रन, आरिफ शेखको ३५ रन, कुशल भुर्तेलको ३२ रन र अमित श्रेष्ठको २८ रनको सहायतामा लक्ष्य पुरा गर्‍यो। बलिङतर्फ अनिल खरेलले २ विकेट लिँदा मोहम्मद हुसेन र दुर्गेश गुप्ताले समान १ विकेट लिए।

लगातार तेस्रो जित निकालेको पुलिसले सेमिफाइनलमा स्थान बनाएको छ। दोस्रो र तेस्रो स्थानमा रहेका लुम्बिनी प्रदेश र प्रदेश १ को समान २ अंक छ। अंकविहीन वाग्मती तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell