PahiloPost

Jul 3, 2024 | २० असार २०८१

काठमाडौं ८ मा जीवनरामलाई विराजभक्त र सुमनको चुनौती, बिहानैबाट घरदैलोमा



पहिलोपोस्ट

काठमाडौं ८ मा जीवनरामलाई विराजभक्त र सुमनको चुनौती, बिहानैबाट घरदैलोमा

काठमाडौं : उम्मेदवारहरुले आजबाट आफ्नो घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन्। आजबाट निर्वाचन प्रचारप्रसारको दोस्रो चरण सुरु भएको छ। जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएपछि उम्मेदवार र दलहरुले चुनावी अभियानलाई तिब्र बनाएका हुन्।

त्यसै सन्दर्भमा काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार विराजभक्त श्रेष्ठ बिहानैदेखि घरदैलोमा निस्किएका छन्। सो क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट जीवनराम श्रेष्ठ उम्मेदवार छन्।

२०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट जीवनराम विजयी भएका थिए। त्यसबेला उनी एमालेका थिए। हाल जीवनराम नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा मन्त्री छन्।

May be an image of 4 people and people standing

तस्विर : जीवनराम श्रेष्ठको सचिवालय

जीवनरामले आफूले यो क्षेत्रमा विगत वर्षहरुमा धेरै काम गरेको भन्दै मतदाताले त्यसको मूल्यांकन गर्ने बताएका छन्। गठबन्धनको तर्फबाट आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ।

एमालेले भने सो क्षेत्रमा सुन्दरराज वैद्यलाई उम्मेदवार बनाएको छ। सुरुमा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरे पनि उनले उम्मेदवार बन्न अस्विकार गरेकी थिइन्। राजवैद्यको उम्मेदवारीलाई लिएर सो क्षेत्रका एमाले कार्यकर्ता खुशी नभएको बताइन्छ। त्यसैले जीवनरामलाई विराजकाजीले टक्कर दिने अनुमान गरिएको छ। यस्तै, सोही क्षेत्रबाट उम्मेदवार रहेका सुमन सायमिका कारण पनि जीवनराममाथि चुनौती थपिँदो छ।

सायमिले पनि आफ्नो घरदैलोलाई आजबाट तिब्रता दिएका छन्। गएको स्थानीय तह निर्वाचनमा उनी काठमाडौं महानगरपालिका प्रमुखका प्रत्यासी थिए। उनले १२ हजारभन्दा बढी मत ल्याएका थिए। त्यसैले पनि प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उपस्थिति बलियो हुने उनी बताउँछन्।

आज पहिलो दिनको घर दैलो कार्यक्रममा आफूले मतदाताहरुको माया पाएको विराजले बताएका छन्।

'हाम्रो सङ्ख्या बढ्दै छ। हामी जोडिँदै छौं। हामी जुट्दै छौं,' उनले भने।

आफूहरु निकै उत्साहित भएको भन्दै उनले निर्वाचनमा आफ्नो जित पक्का भएको बताएका छन्। आजको घरदैलोमा विराजसँगै स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell