PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

कतार विश्वकपमा मेस्सीले गर्दैछन् अर्जेन्टिनाका लागि ‘लास्ट डान्स’, म्याराडोनासँगै ‘प्यान्थियन’मा सामेल होलान्?



पहिलोपोस्ट

कतार विश्वकपमा मेस्सीले गर्दैछन् अर्जेन्टिनाका लागि ‘लास्ट डान्स’, म्याराडोनासँगै ‘प्यान्थियन’मा सामेल होलान्?
Photo: MagicalMessi

आफ्नो करियरमा देश र क्लबका लागि गरि ४० हाराहारीमा ट्रफी जितेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीको ‘रिज्युम’मा थपिन बाँकी सबैभन्दा महत्वपूर्ण उपलब्धि हो : विश्वकप विजेता।

विश्वकै ‘ग्रेटेस्ट अफ अल टाइम’ खेलाडीबारेको बहस कहिल्यै टुंगो नहुने बहस हो। तर, ढुक्कले के भन्न सकिन्छ भने सात पटक ब्यालोन डी'ओर जितेका मेस्सी आधुनिक फुटबलका महानतम खेलाडी मध्येका हुन्। र, यसमा विवाद आवश्यक छैन।

धेरै अर्जेन्टिनी समर्थकहरुको नजरमा मेस्सीको वरीयता सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप ट्रफी दिलाएका डिएगो म्यारेडोना पछि दोस्रो नम्बरमा छ। उनको त्यो वरीयता परिवर्तन पनि हुन सक्छ। सायद, कतार विश्वकप त्यसका लागि निर्णायक हुन्छ कि?

मेस्सीले आफ्नो क्लब करियरमा जति उपलब्धि हात पारे, त्यसको तुलनामा म्याराडोना धेरै पछाडि होलान्। तर, मेक्सिको विश्वकप फाइनल खेलमा उनले प्रदर्शन गरेको ‘म्याजिकल’ दौडले म्याराडोनालाई अमरता प्रदान गर्‍यो र फुटबललाई धर्म जसरी मान्ने राष्ट्रको इतिहासमा उनी ‘लेजेन्ड’ बने।

म्याराडोनाको खेल जीवनपछि छाएका अर्का अर्जेन्टिनी स्ट्राइकर मेस्सीमात्र हुन्। मेस्सीले सन् २०१४ को विश्वकपमा टोलीलाई फाइनलसम्म पुर्‍याए पनि सफलता भने दिलाउन सकेको थिएनन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दा चम्किलो ट्रफी पाएका उनको आँखा त्यतिकै निराश थियो। 

सन् २०१४ मा लगातार पाँच प्रमुख प्रतियोगिता फाइनलमा पराजयको दौड टुंग्याउने अर्जेन्टिनी खेलाडीहरुको लक्ष्य थियो। तर, ब्राजिल विश्वकपमा जर्मनीसँग अर्जेन्टिना १-० ले हारेसँगै त्यो सपना टुक्रियो। मेस्सीले २०१६ मा संन्यासको समेत घोषणा गरे। तर, पछि आफ्नो निर्णयबाट पछि हटे।

सन् २०२१ मा कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो। २८ वर्ष लामो प्रतिक्षा पछि कोपा अमेरिका अर्जेन्टिनाले जित्दा प्रतियोगितामा अर्जेन्टिनाले गरेको लगभग सबैजसो गोलमा मेस्सीको योगदान रह्यो। टिमको धड्किरहेको मुटुका रुपमा रहेका मेस्सीको फाइनल खेलको फाइनल सिटी बज्दा आँखाबाट आँशु थामिइरहेका थिएनन्।

‘मैले धेरै पटकको प्रयासमा पनि पूरा गर्न नसकेको सपना पूरा गर्न पाउँदा मनमा शान्ति थियो’, उनले भनेका थिए, ‘विश्वकप वा कोपा अमेरिका जित्न निकै गाह्रो छ।’

कतारमा आयोजना हुने फिफा विश्वकपको काउन्टडाउन सुरु भइसकेको छ। युवा र अनुभवी खेलाडीको राम्रो मिश्रण भएको टोलीका ३५ वर्षे कप्तान मेस्सीको ‘स्पार्क’ झन् झन् चम्किलो बन्दै गएको छ। उनी आफ्नो विश्वकप मिशनमा एक पात्र बनेका छन्, जसको प्रमाण अर्जेन्टिनाका लागि उनको गोलको अचानक बढेको उछालले देखाउँछ।

लियोनल साल्कोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिनी टोली पछिल्ला ३५ खेलमा अपराजित छ। कोपा अमेरिकामा पाएको सफलता पछि मात्रै पनि मेस्सीले अर्जेन्टिनाका लागि १४ गोल थपिसकेका छन्। जसमा स्टोनियाविरुद्धको उनको पाँच गोल गरी कुल अर्जेन्टिनाका लागि ९० गोल छ।

सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेर १६० क्याप जितेका मेस्सीले भनेका छन् : त्यहाँ एकै समयमा केही चिन्ता र आतेसहरू हुन्छन्। यो अन्तिम एक (विश्वकप) हो।

‘२०१४, २०१५ र २०१६ का प्रतियोगितामा (विश्वकप र कोपा अमेरिका) शानदार क्षणहरू थिए - तर, हामीले जित्न सकेनौँ र च्याम्पियन नहुँदा आलोचना भयो। हामीले फाइनलसम्म सबै ठीकठाक गरेका थियौँ।’ अगाडिको प्रतियोगिताहरुबारे कुरा गर्दै उनले भने।

कतारमा मेस्सी आफ्नो टिमलाई सन् २०१४ को भन्दा एक कदम अगाडि लैजान चाहन्छन्। र, महान खेलाडीहरूको ‘प्यान्थियन’मा आफ्ना ‘आइडल’ म्याराडोनासँगै बराबर हैसियतमा उभिनेछन्।

रोयटर्समा प्रकाशित सामग्रीको भावानुवाद।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell