PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

आयोगले मधेश सरकारलाई सोध्यो : मुख्यमन्त्री र मन्त्रीहरुले सरकारी गाडी निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेको हो?



पहिलोपोस्ट

आयोगले मधेश सरकारलाई सोध्यो : मुख्यमन्त्री र मन्त्रीहरुले सरकारी गाडी निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेको हो?

काठमाडौं : निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीलगायतले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी निर्वाचन प्रचारप्रसारमा हिँडेको विषयमा विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा सचिवालयलाई पत्र पठाएर सवारी साधनको विवरण माग गरेको हो।

मधेशका मुख्यमन्त्री तथा मन्त्रीले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी हिँडेको भनी उजुरी प्राप्त हुन आएको आयोगले जनाएको छ। आयोगले मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन जारी निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (क) मा सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेको स्मरण समेत गराएको छ।

‘सो सम्बन्धमा के कसो भएको हो? प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा सरकारी पदाधिकारीहरुलाई सरकारी सुविधा स्वरुप त्यहाँबाट उपलब्ध गराइएका सवारी साधनहरूको विवरण (सवारी साधनको किसिम, सवारी साधनको नम्बर र कस्तो नम्बर प्लेट प्रयोग गरिएको छ)’, आयोगको पत्रमा भनिएको छ, ‘उल्लेखित पदाधिकारीहरूलाई सरकारी सुविधास्वरुप त्यहाँबाट उपलब्ध गराइएका सवारी साधनहरु नियमानुसार फिर्ता गर्नुपर्नेमा सो सवारी साधनहरू फिर्ता गरी दाखिला भए नभएको यकिन विवरण समेत यो पत्र प्राप्त भएको दुई दिनभित्र पछिसम्म फरक नपर्ने गरी आयोगलाई उपलब्ध गराउनु हुन निर्णयानुसार अनुरोध गरिन्छ।’

यसैगरी, आयोगले सो सम्बन्धमा के कसो भएको हो? भनी प्रदेश सभाका सभामुख, उपसभामुख र विभिन्न समितिका सभापतिलाई सरकारी सुविधास्वरुप त्यहाँबाट उपलब्ध गराइएका सवारी साधनहरुको विवरण दुई दिनभित्रआयोगलाई उपलब्ध गराउन आग्रह गरेको छ।

सवारी साधन नियन्त्रणमा लिन निर्देशन

आयोगले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाइ प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापति एवं सरकारी सवारी साधन प्रयोग गरेकामध्ये कसैले पदबाट हटेपश्चात समेत सरकारी सवारी साधन नबुझाइ लगेको वा सरकारी पदमा रहँदा आफूलाई प्राप्त सवारी साधनको नम्बर प्लेट परिवर्तन गरेको भेटिएमा त्यस्तो सवारी साधन तत्काल नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गर्न निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell