PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लाटोकोसेरो : मानिसलाई सघाउने अँध्यारोको राजा



पहिलोपोस्ट

लाटोकोसेरो : मानिसलाई सघाउने अँध्यारोको राजा

  • राजु आचार्य-

जब सूर्य अस्ताउन थाल्छ, मानिसहरू घरभित्र पस्छन्। धेरै जीवहरू बास बस्न थाल्छन्। सबै चराहरू गुँडमा फर्कन्छन्। चारैतिर अन्धकार हुन्छ। शान्त हुन्छ। तर, सबै कुरा शान्त हुने बेला एउटा अजीवको प्राणीको राज्य सुरु हुन्छ।

घना जङ्गल होस्, चाहे चौर, या पहरा यो कराउन थाल्दा पुरै वातावरण थर्किन्छ। मानिस वा अन्य कुनै जीव, सबैको मनमा एक किसिमको डर पैदा गरिदिन्छ। यसको आवाज सुन्दा मुसा, बिराला, अन्य चराहरू सबै डरले थर्कमान हुन्छन्।

यो हो लाटोकोसेरो। यसलाई उलुक, उल्लु आदि नामले चिनिन्छ। ठूला ठूलालाई हाप्सिलो, भुद्रुङ भनिन्छ भने सानाहरूलाई लाटोकोसेरो। यो चराको प्रजाति नै हो। दूर दराजका केही मानिसहरू यसलाई चरा मान्न अझ पनि तयार छैनन्। बेग्लै डरलाग्दो प्राणीको संज्ञा दिन्छन्। कसै कसैले त भूत नै भन्छन्। नेपाल बाहेक अन्य देशमा पनि यस्तै चलन छ।

यसले आफ्नो घाँटी एक दिशामा २७० डिग्री सम्म घुमाउन सक्छ। जबकि मानिसले ९० डिग्री मात्र। यसको दुवै आँखा अगाडि फर्किएको हुन्छ, ठ्याक्कै मानिस जस्तै। यसको आँखा शरीरको तुलनामा निक्कै ठुलो हुन्छ। यसको आँखामा तिन वटा परेलाहरू हुन्छन्। यसले आफ्नो आहारालाई सकेसम्म सग्लै निल्ने गर्छन्।

नेपालमा लोटोकोसेरो तराईदेखि हिमाली भेगसम्म पाइने अभिलेख छन्। यसले मुसा, सर्प, गँगटो, माछा, किरा/फट्याङ्ग्रा, दुम्सी, बिरालो, चराहरू खाएर जीवन निर्वाह गरिरहेका हुन्छन्। यसलाई सबै भन्दा मन पर्ने र धेरै खाने भनेको मुसा हो।

संसारभर पाइने लाटोकोसेरोको प्रजातिमध्ये करिब १० प्रतिशत त नेपालमा मात्र भेटिएका छन्। नेपालमा हालसम्म २३ प्रजातिका लाटोकोसेरो तथा हुचिलहरू भेटिएका छन्। प्रत्येक घरका मानिसहरू यसको बारेमा कुरा गर्छन्। लोटोकोसेरो मानिस, धर्म र संस्कृतिसँग नजिकको सम्बन्ध राख्छन्।

हिन्दु धर्ममा यसलाई देवी लक्ष्मीको वाहन मानिन्छ। वेदमा भगवान् विष्णुले नारदमुनिको स्वर सुधार्न ‘महाकौशिक’ लाटोकोसेरोको मद्दत लिन भनेको प्रसङ्ग उल्लेख छ। महाभारतको युद्धमा अस्वस्थतामाले लाटोकोसेरोको मद्दत लिएको प्रसङ्ग उल्लेख छ। बाइबल र कुरानमा पनि यसको बारेमा उल्लेख। बुद्ध धर्ममा पनि यसको प्रसङ्ग उल्लेख छ। यसलाई भगवान् जत्तिको नै मानिन्छ।

गोठे लाटोकोसेरोको परिवारले एक सिजनमा २-३ हजारसम्म मुसा खाएको अभिलेख छ। यही कारणले यसले हाम्रो खेतीपातीको तथा घरको सुरक्षा गर्छन्। त्यसैले पनि लाटोकोसेरोलाई किसानको साथी भनिन्छ।

नेपालमा आउने पर्यटक मध्ये ६-८ प्रतिशत चरा मात्रै हेर्न आउँछन्। लाटोकोसेरो हेर्न आउने कारणले गर्दा आर्थिक श्रोत पनि बढ्छ। यो ठाउँ हाम्रो मात्र होइन, लाटोकोसेरोको पनि हो। यसको पनि बाँच्न पाउने अधिकार छ। यति महत्त्व हुँदा हुँदै पनि यिनको संरक्षणमा चौतर्फी चुनौतीहरू मात्र छन्।

नेपालमा चराको अध्ययनको २ सय वर्षको इतिहास भएपनि, लाटोकोसेरोको संरक्षणमा काम सुरु भएको डेढ दशक मात्र भएको छ। सबै मानिसहरू बाघ, भालु, गैँडाको पछि लाग्ने भएपछि यसको अनुसन्धान र संरक्षण पछि परेको छ। मानिसहरू यसलाई मारेर मासु खान्छन्। यसको अवैध व्यापार नेपालमा मात्र होइन, संसारका अन्य मुलुकमा पनि हुने गर्छ।

नेपालबाट बर्सेनि भारत, चीनलगायतका मुलुकमा अवैध रूपमा लाटोकोसेरो निर्यात हुने गर्छ। अरू वन्यजन्तुको अंगको व्यापार भएपनि, यसको भने जिउँदै हुने गरेको छ। एक अनुसन्धानले नेपालबाट वार्षिक रूपमा २ हजार वटासम्म लाटोकोसेरो तथा हुचिलहरू मारिने वा व्यापार हुने गरेको अभिलेख छ।

रमाइलोको लागि घरमा पालेको पनि भेटिन्छ। वन डढेलो तथा वासस्थान विनाशले यसको अवस्थामा निक्कै असर गरेको छ। नेपाल सरकारले यसको संरक्षणको लागि भनेर १० वर्षे कार्ययोजना बनाए पनि पूर्ण रूपमा लागू हुन सकेको छैन। यसको संरक्षणमा नेपाललगायत बाहिरी मुलुकमा समेत कम चासो हुनुले यिनीहरूको अस्तित्वलाई नै सङ्कटमा पार्ने देखिएको छ।

यसको लागि लाटोकोसेरोको अध्ययन अनुसन्धान हुनुपर्छ। रुख मासिएका ठाउँहरूमा वन विकास गर्नुपर्छ। यिनीहरू बस्ने पुराना रुखहरू वनमा हुनु एकदमै आवश्यक हुन्छ। सामुदायिक वनहरूमा बुढा र धोद्रा रुखहरू राख्नु पर्छ। सानैदेखि गुलेली प्रयोगलाई कम गराउनु पर्छ। घाइते भेटिएका लाटोकोसेरोहरूको उद्धार गर्नु पर्छ। वन मासिएका बस्ती छेउहरूमा कृत्रिम गुँड राख्न सकिन्छ।

लाटोकोसेरोलाई घरमा ल्याएर पाल्न, यिनको मासु खान र यिनलाई बेचबिखन गर्न पाइँदैन। यसो गरे जेल सजाय र जरिबाना हुन्छ। विषादीको प्रयोगले पनि यसको आहारा प्रजाति मार्फत यिनलाई असर गरिरहेको हुन्छ। यस्तो अवस्थामा यसको कम प्रयोग गर्ने वा जैविक विषादीलाई प्रोत्साहन गर्नु पर्ने हुन्छ।

मानिसलाई कत्ति पनि हानी नपुर्‍याउने लाटोकोसेरोको संरक्षणको लागि सबैको हातेमालो एकदमै आवश्यक छ। यिनीहरू हाम्रा साथीहरू हुन्। किसानका साथीहरू हुन्। यिनको संरक्षणमा आजैदेखि लागौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell