काठमाडौं : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मतदाताको मत र विवेकमाथि पैसाको चलखेल गर्नेहरुप्रति खबरदारी गरेका छन्।
काठमाडौं ५ मा प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका नेता पौडेलले निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा मतदाताको मत किन्ने खराब मनोवृत्ति भएका व्यक्तिहरुप्रति आक्रोश व्यक्त गरे। उनले यो क्षेत्रमा चेतना बोकेका मानिसहरु बसेको कारण पनि कसैको मत किन्ने कोसिसलाई सफल हुन नदिने बताए।
‘यो राजधानी हो यहाँ भोट किन्न पाइँदैन। राजधानीको भोट पैसाले किनिदैन। मान्छेको विवेक किन्ने पिपासुहरु, मान्छेको विचार किन्न पनि पछि नपर्ने अहंकारीहरु यही काठमाडौंमा भेटिन्छन्’, उनले भने, ‘तर, उनीहरुको प्रयास सफल हुँदैन। यो विवेक बोकेका मान्छेहरुको बस्ती हो। यो चेतना बोकेका मान्छेहरु बसेको ठाउँ हो। यो देशलाई सन्देश दिने ठाउँ हो।’
उनले आगामी निर्वाचनमा कांग्रेस र गठबन्धनभित्रको एकता निर्वाचन परिणामले देखाउने बताए। उनले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक चुनावको प्रतिष्पर्धालाई चुनावका बेला ल्याएर मत र मन विभाजन गर्न खोजिएको र त्यसलाई चिरेर अघि बढ्नेमा आफूहरु रहेको बताए।
नेता पौडेलले आफूहरु संस्थागत निर्णय मान्ने चरित्रबाट हुर्किएको बताउँदै नेतृत्वले गल्ती गर्दा समेत आफूहरुले मर्यादामा रहेर औला उठाउने गरेको स्पष्ट पारे।