PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पर्सा-२ मा सत्ता गठबन्धन भर्सेस एमाले-जसपा : चौरसियालाई कुर्मीले टक्कर दिँदा जसपालाई बागी नै भारी



राधेश्याम पटेल

पर्सा-२ मा सत्ता गठबन्धन भर्सेस एमाले-जसपा : चौरसियालाई कुर्मीले टक्कर दिँदा जसपालाई बागी नै भारी

वीरगंज : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा अहिले चुनावमय बनेको छ। प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर २ मा पनि उम्मेदवारहरु घरदैलोमा व्यस्त छन्।

पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभा गरि कूल ३४ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभामा ११ जना र प्रदेशसभा २ (क)मा ९ र २(ख)मा १४ जना उम्मेदवार छन्। प्रतिनिधिसभा सदस्यको लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका अजय कुमार चौरसिया उम्मेदवार छन् भने जसपा-एमाले गठबन्धनबाट जसपाका सुरेन्द्रप्रसाद कुर्मी उम्मेदवार छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपकराज पटेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नरेशकुमार साह, नेपाल सद्भावना पार्टीबाट उमेशप्रसाद कुर्मी, जनशक्ति पार्टीबाट सत्यनारायण प्रसाद, नेपाल मजदुर किसान पार्टीबाट सरोज कुमार साहलगायत ११ जना पनि चुनावी मैदानमा छन्।

पर्सा -२ मा वीरगंज महानगरपालिकाको १३ वटा वडा, पर्सागढी नगरपालिकाको ९ वटा वडा र बहुदरमाई नगरपालिकाको ४ वटा वडा पर्छ।

यो क्षेत्रबाट २०७४ सालको प्रतिनिधिसभा चुनावमा जसपाबाट विमल प्रसाद श्रीवास्तव निर्वाचित भएका थिए। यसपटकको चुनावमा उनले उम्मेदवारी दिएका छैनन्। जसपाबाट जितेका श्रीवास्तव लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका थिए। वृद्ध अवस्थाका कारण राजनीतिबाट संन्यास लिएको उनले घोषणा गरेका छन्।

२०७० सालमा राजकुमार गुप्ता यो क्षेत्र बाट संविधान सभा सदस्यमा चुनाव जितेका थिए। अहिले उनी ३ नम्बर क्षेत्रबाट चुनाव लड्दै छन्। २०६४ सालमा यो क्षेत्रबाट नेपाली कांग्रेसका अजय कुमार चौरसियाले जितेका थिए र अहिले पनि उनी यही क्षेत्रबाट चुनाव लड्दैछन्।  चौरसियाले २०५६ सालको चुनावमा पनि पर्सा ३ बाट चुनाव जितेका थिए र २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सहायक मन्त्री पनि बनेका थिए। तिनै चौरसियासँग यसपटक प्रतिनिधिसभामा जसपाका कुर्मीको टक्कर परिरहेको छ।

कुर्मी पर्साका राप्रपाका पुरान नेता स्वर्गीय गोकुल प्रसाद कुर्मीका छोरा हुन्। बुवा राप्रपामा तर छोरा विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ हुँदै मधेशवादी दल सद्भावना पार्टीसँग आबद्ध थिए। पछि लोसपा हुँदै जसपमा आएका हुन् उनी। पेशाले अधिवक्ता कुर्मी बेलाबेलामा समाजिक अभियन्ताको रुपमा तीन दशकदेखि जिल्लामा सक्रिय छन्।

स्थानीय तह निर्वाचनको समयमा जसपाका वीरगंजका तत्कालिन मेयर विजयकुमार सरावगी एमालेमा जाँदा उनी नै जसपाबाट वीरगंजको मेयरमा उठ्ने चर्चा थियो। तर, लोसपाका राजेशमान सिंह जसपामा आएपछि उनले टिकट पाएनन्। र, अन्तत: पार्टीले पर्सा २ को टिकट उनलाई दियो।

प्रदेशसभामा यस्तो लडाइँ

यो क्षेत्रको प्रदेशसभा (क)बाट सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका श्याम पटेल, जसपा-एमाले गठबन्धनबाट जसपाका रामनरेश यादवबिच प्रतिस्पिर्धा हुने देखिएको छ।

२०७४ सालको चुनावमा प्रदेशसभाको यो क्षेत्रबाट कांग्रेसका राजेश्वर साह तेलीले चुनाव जितेका थिए। यसपटक उनले टिकट पाएनन् र उनको ठाउँमा कांग्रेसले पटेललाई उम्मेदवार बनाएको छ। जसपाबाट उम्मेदवार भएका रामनरेश यादव सो पार्टीका जिल्ला अध्यक्ष हुन्। उनी मधेश आन्दोलनअघि कांग्रेसमा थिए। पछि उनी जसपामा प्रवेश गरि २०७४ सालको चुनावमा १८० मतले तेलीसँग पराजित भएका थिए।

क्षेत्र नम्बर २ को (ख)बाट सत्तारूढ गठबन्धनबाट लोसपाका रमेशप्रसाद कुर्मी, जसपा-एमाले गठबन्धनबाट एमालेका हरेराम प्रसाद पटेल, राप्रपाका परमानन्द साह कानू र स्वतन्त्रबाट करीमा बेगम, मुकेश द्विवेदी, रूपेशमान सिंहलगायत १४ जनाको उम्मेदवारी छ।

यो क्षेत्रबाट यसअघि लोसपाका रमेशप्रसाद कुर्मी विजयी भएका थिए र उनी अहिले पनि उम्मेदवार छन्। क्षेत्र नम्बर २ बाट पहिलो संविधानमा निर्वाचित करीमा बेगम पनि चुनावी मैदानमा छिन्। प्रतिनिधिसभा सदस्य भएकी उनी जसपामा आबद्ध थिइन् र टिकट नपाएपछि उनले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। जसपाबाटै यो क्षेत्रमा मुकेश द्विवेदी, रूपेशमान सिंहले पनि पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

कति मतले हुन्छ जित हार?

पर्सा २ मा कुल ८६ हजार ९ सय ६६ मतदाता रहेका छन्। जसमध्ये २ क मा ४३ हजार ८ सय ४४ जना र 'ख'मा ४३ हजार १ सय २२ जना रहेका छन्।

करिब ८७ हजार मतदाता भएको यस क्षेत्रमा सांसदमा चुनाव जित्न करिब २५ हजारको हाराहारीमा मत चाहिने स्थानीयको आंकलन छन्। प्रदेश सभातर्फ चुनाव जित्नको लागि १५ देखि १८ हजार मत ल्याउने उम्मेदवारले बाजी मार्ने अनुमान छ।

कुनकुन समुदायको भोटले राख्छ महत्व?

पर्सा २ मा मधेश र पहाडका विभिन्न जातजातीको बसोबास छ। गण्डक नहरभन्दा दक्षिणी बेल्ट २ 'ख' मा यादव, कुर्मी, साह, तेली, दलितमा डोम, दुसाद, चमार र मुस्लिम समुदायको बाक्लो बसोबास छ।

उत्तरी भेग अर्थात २ 'क' मा थारु, क्षेत्री, राई, लिम्बु, गुरुङ जातीको बसोबास छ। तर, भोटमा प्रभाव पार्ने जातीमा यादव, कुर्मी, तेली, दलित, थारु र मुस्लिमको मत रहने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell