आजदेखि प्रदर्शन हुने भनिएको अक्षयकुमार अभिनित बलिउड फिल्म ‘रामसेतु’ को नेपाल रिलिज रोकिएको छ। चलचित्र विकास बोर्डले सेन्सर अनुमति नदिएपछि ‘रामसेतु’को प्रदर्शन स्थगित भएको हो।
वितरकले समयमै कागजपत्र पेस नगर्दा सेन्सर सिफारिसको अनुमति नपाएको चलचित्र विकास बोर्डका प्रदर्शन तथा वितरक अधिकृत गिरिश शर्माले जानकारी दिए। वितरक संस्था डिजिटल सिनेमा नेपाली (डीसीएन) ले फिल्म ‘रामसेतु’ लाई आजदेखि नेपालमा प्रदर्शन गर्ने जिम्मा लिएको थियो।
गत भदौ ३० गते बोर्डले जारी गरेको सुचनामा चलचित्रका निर्माता वा वितरकले चलचित्र विकास बोर्डमा सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मिति भन्दा कम्तीमा सात दिनअघि दरखास्त पेश गर्नुपर्ने उल्लेख छ। जुन नियम कात्तिक १ गतेदेखि स्वदेशी तथा विदेशी फिल्मको लागि लागु भएको हो।