PahiloPost

Jan 30, 2023 | १६ माघ २०७९

डलर अर्बपति चौधरी देहातका गरिव बस्तीमा माग्दै मत, उनको चुनावी चहलपहलका रोचक किस्सा



पहिलोपोस्ट

डलर अर्बपति चौधरी देहातका गरिव बस्तीमा माग्दै मत, उनको चुनावी चहलपहलका रोचक किस्सा

  • सविन ढकाल/प्रकाश भण्डारी -

नवलपरासी : भर्खरै बनेको नयाँ घर। त्यही घरमा बसेको चुनावी कार्यालय। कार्यालयको पार्किङमा थन्किएको छ रेन्ज रोभर। कहिले भाडाको स्कर्पियो त कहिले मोटरसाइकल नै उनलाई मतदाताको घर-घरसम्म डोर्‍याउने साधन बनिरहेको छ।

'मैले सरकारी स्कुल पढेको हुँ। अहिले जसरी साथीभाइको प्राइभेट जेटमा चढ्न सक्छु त्यसरी नै बाटोमा हिँड्न र झुपडीमा बस्न सक्छु,' चुनावी अभियानकै क्रममा थोरै समय चोरेर डलर अर्बपति विनोद चौधरीले हामीलाई भने। पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट जित निकाल्ने अठोट सहित पूर्वी नवलपारासीमा तन मन र धन सहित उत्रिएका छन् उनी।

यसै बिच सामाजिक सञ्जालमा उनको एउटा फोटो निक्कै चर्चित बन्यो - भूई मान्छेसँग सहभोज गरिरहेको दृश्य। विश्वका धनाढ्यहरूको सूचीमा १९२९ औँ नम्बरमा रहेका चौधरीको व्यवसायिक खातामा चर्चित ल्याबिस होटल र अपार्टमेन्ट छन्। १.५ अर्ब डलरभन्दा बढीका मालिक ज्यान पाल्न संघर्ष गर्ने मानिससँग खाना खाइरहेको र मोटरसाइकलको पछिल्लो सिटमा यात्रा गरिररहेको दृश्य धेरैका लागि अप्रत्यासित नै थियो। स्वभाविक रुपमा उनले चुनाव जित्न स्टन्ट गरेको टिप्पणीले सामाजिक सञ्जाल रंगिन बनिरहँदा हामी उनको निर्वाचन क्षेत्रमा थियौं।

'अरुका लागि त्यस्ता दृश्य नौलो भए पनि मेरा लागि अलिकति पनि अनौठो होइन,' पत्रकारिताबाट अलग्गिएर चौधरी समूहमा कार्यरत मधुसुदन पौडेलले भने। उनले सुनाएको एउटा किस्सा हाम्रा लागि रोचक थियो।

सन्दर्भ सात वर्ष अघिको हो। चितवनमा कार्यव्यस्तताले गर्दा रात छिप्पिनै लाग्दा खाना नखाएको चाल पाएछन् विनोदले। सबैतिर बन्द हुँदै गर्दा एउटा असाध्यै सामान्य स्तरको रेस्टुरेन्टमा नअनकनाइ छिरेर उनले भोक मेटे।

'त्यस्तो ठाउँमा म पनि खान हिच्किचाउथेँ। उहाँले त्यसरी खाएको देखेपछि मलाई नै अचम्म लागेको थियो,' पौडेललले सुनाए, 'अहिले चुनावमा उहाँ जसरी हिँडिरहनु भएको छ त्यो मेरा लागि कुनै पनि हिसाबले नौलो होइन।'

यतिखेर मधेशका निर्वाचनमा उत्रिने सदाबहार नेताभन्दा फरक छैन 'कर्पोरेट किङ' विनोद चौधरीको दैनिकी। बिहान नास्ता गरेपछि उनी निस्किन्छन् त्यसपछि चुनाव प्रचारको कार्यालयमा रातिमात्र विश्रामका लागि फर्किन्छन्। त्यस बिचमा उनी बाटोमा जे मिल्छ त्यही खान्छन्।

'जसले जे दियो त्यही खानुहुन्छ। समोसा होस् कि लड्डु,' पौडेलले सुनाए।

पौडेलले जस्तो सुनाए हाम्रो नजरमा पनि त्यस्तै दृश्य पर्‍यो। गत मंगलवार उनी थारु बस्तीमा भलिबल खेलको फाइनल उद्घाटन गर्न पुगेका थिए। उद्घाटनपछि उनको सामुन्नेमा चिया र बिस्कुट आइपुग्यो। मैदानमा छारो उडिरहेकै थियो। त्यस्तै हालतमा निसंकोच चियामा चोप्दै बिस्कुट खाइरहेका थिए उनी।

छठको रहलपहल बाँकी नै थियो। चर्का माइकमा एकातिर गीत संगीत र अर्कातिर भलिबल प्रतियोगिताको उत्साह। उनी त्यही मौकामा पुगेका थिए कार्यक्रममा। त्यसपछि उनको सूची थियो - दुर्घटनामा परेर ज्यान गुमाएका परिवारकहाँ पुग्ने। छठको कार्यक्रममा उनले थारु भाषामै भाषण गरे। नेपालीमा गरे। र, हिन्दीमा पनि।

संसद सदस्य बन्नु विनोद चौधरीका लागि नयाँ होइन। तर जनमतबाट जितेर आउनुको अर्थ फरक छ। त्यो अर्थको मर्म विनोदहरुले नै बढी बुझेका छन्। विज्ञताकै आधारमा दलहरुले सांसद बनाएको थिए भने पनि 'पैसाका बलमा बनेको' आरोप उनीमाथि सधैं झुन्डिरह्यो। पहिले एमालेबाट र पछि कांग्रेसबाट उनी सांसद रहे। यसपाला आफ्नो औद्योगिक क्षेत्रसँग जोडिएको भूमिमा जनतासँग हात जोडिरहेको अवस्थामा उनी भेटिए। यस्ता सभामा विनोदकी पत्नी पनि सँगसँगै हिँडेकी छिन्। डलर अर्बपतिसँग र उनकी पत्नीसँग फोटो खिचाउने रहर बोकेकाहरु पनि प्रशस्तै देखिए।

दुई पटक समानुपातिक सूचीबाट संसद सदस्य रहिसकेका उनी अहिले भने प्रत्यक्ष निर्वाचनमा होमिएका छन्। आफूले अपेक्षा गरेभन्दा फरक भूमिमा उनको दैनिकी बितिरहेको छ। नेपाल र विदेशमा पनि उत्तिकै व्यवसायिक जालो बिस्तार गरेका विनोदका लागि यसपालाको निर्वाचन गतिलो शिक्षा पनि बनेको छ। उनले जनताका अभाव देख्न पाएका छन्। देहातका दुरुह दृश्यहरु उनीसामु परेको छ। नजिकैको त्रिवेणीधाममात्र होइन, सुस्ताको सुस्केरा पनि चाल पाएका छन्।

चुनावी नजितामा उनले के गर्लान् थाहा छैन। तर, समस्या र सम्भावना दुवैलाई तौलिन पाएका छन् यही मेसोमा। केराखेती गर्ने किसानको पीडाका कथा र केराकै चिप्स बनाउने उद्योग खोल्ने सम्भावनाको 'असिसमेन्ट' पनि पक्कै भ्याएका छन् उनले। बुद्धका कथामा जोडिएका पोखरी र निर्वाण यात्राको थालनी भएको थलोहरुमा पर्यटकीय सम्भावनाको स्केच पक्कै कोर्न भ्याएका छन्।

उनको चुनावी कार्यालय अपेक्षाकृत उत्ताउलो देखिएन। चुनावी अभियान सकेर साँझ सुत्न त्यही पुग्ने रहेछन् उनी। चुनावका लागि प्रचण्डले घर बनाएको जस्तो र रवि लामिछानेले घर किनेजस्तै गरेका त होलान् ! होइन रहेछ - चौधरीले चुनावी अभियानको कार्यालय भाडामा मात्रै लिएका रहेछन् चुनाव अवधिभरका लागि।

उनको चुनावी अभियानको कार्यालयमा केही दिन यता अलग्गै रौनक छ। पार्किङभन्दा केही पर पाल टाँगिएको छ। उनलाई चुनावमा साथ दिनेहरुको मेस चल्छ त्यहाँ। भित्र कार्यालयमा सोसल मिडिया ह्यान्डल गर्ने टिम परिचालित छ। निजी फोटोग्राफर पनि विनोद चौधरीका अघिपछि लागिरहेको देखिन्छ। घरदैलोसँगै सोसल मिडियाको व्यवस्थापना उम्मेदवारका लागि अनिवार्य बनिसकेको बुझ्न कठिन छैन यहाँको अवस्था हेर्दा।

चुनावी ग्राउन्ड जिरोमा विनोद चौधरीसँग उनको चुनावी चित्रबारे थोरैमात्र कुराकानी भयो। उनको प्राथमिकतामा हामीभन्दा बढी मतदाता नै थिए।

'तपाईँले मोटरसाइकल त कयौं वर्षपछि चढ्नु भयो होला है,' बिजमाण्डूका सम्पादक विज्ञान अधिकारीको प्रश्न थियो।

प्रश्नसँगै मुसुक्क मुस्काए उनी। हवाइजहादेखि सार्वजनिक सवारीसम्म चढ्न सक्नेबारे उनले यही प्रश्नपछि जवाफ फर्काएका हुन् जुन सुरुमै उल्लेख छ। कार्यक्रम चलिरहँदा उनी बिजमाण्डु/पहिलोपोस्ट टिमसँग कुरा गर्न तयार भए। त्यसपछि उनलाई भेट्ने सम्भावना नै थिएन व्यस्तताका कारण।

चर्को माइकको आवाजले भिडियो रेकर्ड गर्न मुस्किल थियो। त्यसैले कार्यक्रम भइरहेको भन्दा २ सय मिटर पर एउटा घरलाई छेको पारेर उनीसँग कुराकानी गर्ने व्यवस्था फोटो पत्रकार प्रविण रानाभाटले गरे।

'यो लैजान मिल्छ?'

घरकै आडैमा भेटिएको खटियातिर प्रविणको संकेत थियो। हामीले अनुमति लियौं र त्यसलाई घर पछाडिको खेतमा राख्यौं।

'ओहो यस्तो बस्ने ठाउँ?' हाम्रो व्यवस्था देखेर चौधरीले भनिहाले।

'जे पाइयो त्यसैमा व्यवस्था गरियो। उता आवाजले पनि सताएको छ।'

विनोद कुराकानीका लागि तयार भए। कुराकानीका लागि उनले दिएको समय त्यतिमात्र थियो जुन बेलासम्म उनको मञ्चमा भूमिका हुन्थेन। विनोदले चुनावी दैनिकीदेखि कर्पोरेट रोल र आफ्ना एजेन्डासम्मका विषयमा छोटै समयमा जवाफ दिन भ्याए। चितवन - बुटवल खण्डको बिरहलाग्दो सडक, औद्योगिकरणले नछोइसकेको क्षेत्रमा देशकै प्रतिष्ठित उद्योगपतिको रणनीति के त? कर्पोरेटबाट जनताको घर दैलोमा पुगेका चौधरीको जवाफ कस्तो रह्यो त? प्रतीक्षा गर्नुहोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell