PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एकसातामै साढे ४ करोडभन्दा बढी कमाएको 'महापुरुष'को कथा कसरी जन्मियो ?



लक्ष्मी बलायर

एकसातामै साढे ४ करोडभन्दा बढी कमाएको 'महापुरुष'को कथा कसरी जन्मियो ?

काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शन भइरहेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। यस फिल्मले एकसातामा ४ करोड ५७ लाख 'कलेक्सन' गरेको फिल्मका कलाकार तथा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले जानकारी दिए।  

दोस्रो सातामा लाग्दा समेत मल्टिप्लेक्समा दर्शकको उपस्थिति उत्साहजनक रहेको छ। फिल्मले काठमाडौं उपत्यकाभित्र एकसातामा साढे तीन करोड सम्मको व्यापार गरेको वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिए।

फिल्मले समीक्षक र दर्शकबाट समेत राम्रो प्रतिक्रिया पाइरहेको छ। यसअघि प्रदीपले ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रु गते’ जस्ता हिट फिल्महरु निर्देशन गरिसकेका छन्।

कसरी जन्मियो फिल्मको कथा

लगातार तीन फिल्मको सफलतापछि प्रदीपले कमेडी धारका फिल्म बनाउँछ भन्ने छाप परिसकेको थियो। उनलाई रुवाउने सिनेमा बनाउने छुट नै थिएन। जसकारण एउटै इमेज बन्न दिनुहुँदैन भन्ने उनको अडान थियो। आफ्नो इमेज भत्काउन नै महापुरुष बनाएको प्रदीप सुनाउँछन्।

हुनत यसअघिका फिल्महरु कमेडी जनरामा बने पनि उनी त्यसलाई पुर्णतया कमेडी चाँहि मान्न तयार छैनन्। प्रदीपलाई फिल्म बनाउँदा जहिल्यै ओझेल र दु:ख पाएका पात्रहरुको कथा रमाइलो तरिकाले भन्न मन पर्छ।

उनी भन्छन्,‘महापुरुषको बालकृष्ण पात्र पनि सबैले देखिरहेको तर नोटिस नगरेको पात्र हो। यसमा पनि दु:खको कथा रमाइलो तरिकाले नै भन्न खोजिएको छ। अघिल्ला फिल्महरु चाँहि मुद्दाका हिसाबले त्यति मजबुत थिएनन् होला तर यसले मनोरञ्जनसँगै गम्भिर विषय उठान गरिएको छ।’

पत्रकार एकल सिलवाल र जनकराज सापकोटासँग प्रदीपको बेलाबेला भेट हुन्थ्यो। भेटघाटकै क्रममा एकदिन एकलले एउटा रेकर्ड सुनाए। रेकर्डमा चितवन देवीघाटका बुवाको कथा थियो। उक्त कथामा एकल पुरुष हुँदा भोग्नुपरेको सास्ति थियो। साथै महिला साथी हुँदा शंकाले हेरेको पाटो पनि। त्यो सुनेपछि प्रदीपलाई बुवाको कथामा फिल्म बनाउने हुटहुटी चल्यो। तर, गम्भिर विषयलाई कसरी लेख्ने भन्ने चुनौती पनि थियो।

गम्भिर विषयमा फिल्म निर्माण गर्न गाह्रो हुने भन्दै उनले अरुलाई कथा लेखाउने सोच बनाए। जसको लागि अमर न्यौपानेसँग कुरा गरे। तर, उनी व्यस्त थिए।  फिल्म रमाइलो समीश्रण पनि गर्नु थियो उनलाई। साथीहरुले 'तपाईंले नै लेख्नुपर्छ' भनेपछि प्रदीपले कथा लेख्न सुरु गरे। ६० वटा डायरी र ४० वटा ड्राफ्टपछि कथा फाइनल भएको भट्टराईले दाबी गरे। सुरुमा फिल्मको टाइटल 'शुभ विवाह' राखिएको थियो। तर, फिल्मको कथाअनुसार फिल्मको पछि शीर्षक परिवर्तन गरियो।

‘हामीले आमाको कथा अनि वृद्धआश्रमका कथा धेरै पढ्यौं, धेरै सुन्यौं। तर बाबुको कथा खासै मतलब गरिँदैन। बुवाको कुरा गर्दा भगवानजस्तो हुन्छन्, रुदैनन् भन्ने इमेज हुन्छ। के साँच्चिकै बुवाहरु रुदैनन् त? यो बनेको इमेजलाई भत्काउन बाको कथा रोजेको हुँ। फिल्मको चरित्र एउटा भगवानजस्तो देखिने बा देखि विद्रोही बासम्म बनेको छ। गम्भिर मुद्दालाई रमाइलो तरिकाले भनौ भनेर महापुरुष बनाएको हुँ,’ उनले भने।

‌‘महापुरुष’ शब्दलाई समाजले बनाएको एउटा 'इमेज'को रुपमा व्याख्या गर्छन् प्रदीप। जसभित्र महिला र पुरुष दुवै पर्छन्।

‘महापुरुष भनेको समाजको लागि आदर्श व्यक्ति हो। जो महिला पनि हुन्छ अनि पुरुष नि। यो नदेखिने इमेज हो जसले गर्दा हामीले दु: ख पनि पाइरहेका हुन्छौँ। हामीले सामाजिक इमेज भत्काउने कोशिस गरेका छौँ। समाज कता पुगेको छ भन्ने कुरा मापन चाहीँ गर्छ,’, प्रदीपले सुनाए।

‘महापुरुष’ मा हरिवंशको विकल्प नै हरिवंश

महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदीप आफ्नो गुरु मान्छन्। मह सञ्चारबाट प्रदीपले आफ्नो फिल्मी करियर सुरु गरेका थिए। त्यसैले महजोडीसँग उनी भावनात्मक रुपमा नजिक छन्। यसअघि मह सञ्चारबाट बनेको फिल्म ‘शत्रु गते’ को निर्देशक बन्ने मौका समेत पाएका थिए प्रदीपले।

जब 'बा' मुख्यपात्र भएको ‘महापुरुष’ को स्क्रिप्ट तयार तब प्रदीपको आँखामा एउटै मात्र व्यक्तिको चित्र आइरहेको थियो। ती थिए हरिवंश आचार्य। हरिवंशले श्रीमती गुमाउँदाको एक्लोपन महसुस गरेको प्रदीपले नजिकबाट देखेका थिए। त्यसैले पनि उनले महापुरुषमा हरिवंशको विकल्प हरिवंश नै देखे।

विभिन्न हास्य पात्रको भूमिकामा हरिवंश देखिसकेका छन्। हरिवंश कमेडी भूमिकामा देखिन्छ भन्ने छाप दर्शकमा परिसकेको छ। जसले प्रदीपलाई डर थियो यस फिल्मको 'क्यारेक्टर'ले हरिवंशको अरु पात्रको 'इमेज' भत्काउन्छ कि भत्काउँदैन भन्ने। किनकी यो फिल्ममा हरिवंशको भूमिका नै फरक थियो। त्यसैले त प्रदीप बालकृष्ण पात्रमा हरिवंशका अरु पात्रको 'फ्लेभर' नआओस भन्ने चाहन्थे।

त्यसपछि प्रदीपले हरिवंशलाई स्क्रिप्ट देखाए। स्क्रिप्ट पढ्ने बित्तिकै हरिवंशलाई पनि मन पर्‍यो। 'चुनौती छ' भन्ने जवाफ हरिवंशले दिए। चुनौतीका बाबजुत पनि हरिवंश काम गर्न तयार भए। केहीदिन 'वर्कसप' चल्यो।

आफ्नो पात्र निर्माण गर्न प्रदीपले १२ टेक लिएको स्मरण गर्छन् हरिवंश। हरिवंश जिस्काउँदै भनिरहेका थिए, ‘प्रदीपले मलाई फकाइफकाइ काम लगायो नि। कतिपय बेला प्रदीप आफैँले पनि उक्त क्यारेक्टर गरेर देखाउन्थ्यो। मैले गर्न नसकेपछि प्रदीपले एकपल्ट त्यो क्यारेक्टर आफैले गरेर देखायो। प्रदीपले गरेपछि मैले पनि कपी गरे। आफ्नो कपी गरेपछि प्रदीप खुसी भइहाल्छ नि।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell