
जनकपुरधाम : महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका-३ का शिवराज श्रेष्ठसँग मिलेको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा गरिएको डीएनए परीक्षणमा श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको हो। राजपुतका कानुन व्यवसायी अधिवक्ता रिन्कु कुमारी यादवका अनुसार आज अदालतले डीएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ। प्रतिवेदनको अनुसार श्रेष्ठ र राजपुतका छोराको डीएनए म्याच भएको जानकारी उच्च अदालत जनकपुरका प्रवक्ता नुतन झाले दिइन्।
झाका अनुसार २५ गतेका लागि साधारण तारेख दिइएको थियो। अब रिपोर्ट आइसकेकोले २५ गते अर्को सुनुवाइको पेसी तोकिनेछ।
शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन्। तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दाबी गर्दै आएका थिए।
बच्चा शिवराजकै रहेको निहारीकाको दाबीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुवैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।
त्यसपछि उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको थियो।