PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

उम्मेदवार नै चिन्दैनन् बनकरिया र चेपाङ समुदाय



निशा गुरुङ

उम्मेदवार नै चिन्दैनन् बनकरिया र चेपाङ समुदाय

हेटौंडाः मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी चहलपहल पनि बढेको छ। नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार घरदैलोदेखि विविध कार्यक्रममा व्यस्त छन्।

आसन्न निर्वाचन मकवानपुरमा रोचक हुने देखिएको छ। मकवानपुरमा प्रतिनिधि सभामा २ र प्रदेशमा चार क्षेत्र छन्।

मकवानपुरको मनहरि गाउँपालिका ४ जहाँ वनकरिया र चेपाङ बस्तीमा अहिले भोट माग्न उम्मेदवार आउन थालेका छन्। लोपोन्मुख वनकरिया र सीमान्तकृत चेपाङ समुदायकालाई आफ्नो उम्मेदवार भने थाहा छैन।

समुदाय शिक्षा, स्वास्थ्य, यातायातबाट टाढा छन्। तर चुनावकै बेलामा मात्रै पाइला टेक्ने हुँदा उम्मेदवार नै नचिनेको उनीहरु बताउँछन्।

चेपाङ समुदायका बुद्धराम चेपाङ स्थानीय तहमा माओवादी केन्द्रबाट वडा सदस्यमा ३ मतले पराजित भएका थिए। लहलहैमा उम्मेदवार बनेका चेपाङलाई अहिले आफ्नै क्षेत्रबाट को उम्मेदवार छ जानकारी छैन। 

‘खै हाम्रो त गठबन्धन भन्ने सुनेको छु तर, उम्मेदवार को हो थाहा छैन,’ उनले भने।

आफ्नै क्षेत्रको उम्मेदवार थाहा नहुँदा उनी अन्योलमा छन्।

अर्का स्थानीय रामकुमार चेपाङलाई पनि आफ्नै क्षेत्रकै उम्मेदवार थाहा नहुँदा गाउँका साथीभाईसँग सल्लाह गरेर मत हाल्ने बताउँछन्।

‘उम्मेदवार को हो त थाहा छैन तर, गाउँका साथीभाईसँग सल्लाह गरेर भोट हाल्ने हो,’ उनले भने।

२०३६ सालदेखि भोट हाल्दै आएकी सुकुमाया चेपाङ निर्वाचनकै दिन मतदान केन्द्रमा पुगेर बुझेर भोट हाल्ने बताइन।

‘चुनावकै दिन त्यहीँ पुगेर हेर्छु अनि भोट हाल्छु, यता मतदान गर्न सिकाउन आउनेहरुले जे मा सिकाउँछन् त्यही हालिदिन्छु उम्मेदवार कोही चिन्दिनँ जो सुकै होउन। कसैले केही गरेको छैन। उनले गुनासो पोखिन।'

बुद्धराम, रामकुमार र सुकुमायामात्रै होइनन् समुदायका अधिकांशले उम्मेदवार चिन्दैनन्।

गाउँमा टाठोबाठो नेता कार्यकर्ताहरुले आश्वासन देखाएर उनीहरुलाई मत हाल्न उनीहरुलाई प्रयोग गर्दै आइरहेका छन्।

उक्त समुदायका कतिपय जनतालाई त के को चुनाव समेत थाहा छैन।

सुकबहादुर चेपाङले सोधे, 'यो चुनाव सांसद की मन्त्रीको रे?’

चेपाङ समुदाय नजिकै रहेका बनकरिया समुदायलाई पनि आफ्नै क्षेत्रको उम्मेद्वार थाहा नहुँदा अन्योलमा छन्। करिब दुई दशकअघि जंगलको जीवन त्यागेर बस्तीमा झरेका उनीहरूसँग हालसम्म लालपूर्जा छैन। पर्सा राष्ट्रिय निकुञ्जको जग्गामा बसिरहेका उनीहरू कतिबेला निकुञ्जले उठिबास लगाउने हो भन्ने चिन्तामा रहेको सुनाउँछन्।

१८ वर्षअघि बस्तीमा झरेका उनीहरूले लालपूर्जा पाउने सपनामा भोट दिएर धेरैको सपना पूरा गरिदिसके तर उनीहरूको सपना भने जस्ताको त्यस्तै छ। स्थानीय सन्तमाया वनकरिया भोट माग्न आउनेहरूको अनुहार फेरिए पनि वनकरियाको समस्या नफेरिएको सुनाउँछिन्।

‘उम्मेद्वार जो आए पनि अब त हाम्रो माग कसैले पनि पूरा गर्न सक्छ जस्तो लाग्दैन’, उनले भनिन्, ‘त्यही भएर अब नेताहरू भोट माग्न आए भने पहिला हाम्रो माग पूरा गर्न सक्ने कि नसक्ने भनेर दबाब दिने सोचमा छौँ तर खोइ अहिलेसम्म उम्मेद्वार चिनेको छैन। जो भए पनि हाम्रो माग जस्ले पूरा गर्छ त्यसैलाई भोट हाल्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell