PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पाल्पामा चिच्याएर बर माग्ने मेला सुरु, यस्तो छ सत्यवती मेलाको ऐतिहासिक कथन



पहिलोपोस्ट

पाल्पामा चिच्याएर बर माग्ने मेला सुरु, यस्तो छ सत्यवती मेलाको ऐतिहासिक कथन

बुटवलः पाल्पाको ऐतिहासिक तथा धार्मिक ‘सत्यवती मेला’ आजदेखि सुरु भएको छ। तिनाउ गाउँपालिका ४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको मन्दिरमा आजदेखि कार्तिक २२ गते (पूर्णिमा) सम्म मेला आयोजना गरिएको हो।

हरेक वर्षको कार्तिक पूर्णिमाको अवसरमा ३ दिन लाग्दै आइरहेको धार्मिक मेला यो वर्ष राम्रो योग परेकाले ५ दिनसम्म सञ्चालन हुने सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए।

यस वर्ष मेलामा एक लाख ५० हजार बढी भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको उनले बताए।

मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर बर माग्ने चलन छ। धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर बर माग्ने गरिन्छ। यहाँ बाँसको लिङ्गो लिएर सत्यवती मन्दिर एवम् ताललाई ३ पटक घुमेर चिच्याउँदै बर माग्ने पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ। मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ।

किंवदन्तीअनुसार एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले आफ्नो मनोकांक्षा पूरा गर्ने बर मागे। बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिइन। ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयबासी बताउँछन्।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पूजा गर्न विभिन्न स्थानबाट ठूलो संख्यामा दर्शनार्थी भित्रिने हुनाले पूजालाई व्यवस्थापन गर्न समितिलाई अनुरोध गरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए। मेलाको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयम् सेवकहरुको व्यवस्था गरिएको छ।

पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी तथा भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो संख्यामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने गरेका छन्। मेलालाई मध्यनजर गर्दै मन्दिरसम्म पुग्ने सडक मर्मत, खानेपानी, शौचालयलगायतको व्यवस्था गरिएको व्यवस्थापन समितिका अध्यक्ष गाहाले बताए।

हरियाली जंगलको बीचमा रहेको सत्यवती तालमा बोका, परेवा लगायतका पशु तथा पंक्षीको भाकलसहित पूजा गर्न भक्तजन पुग्ने गर्दछन्।

परापूर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाँडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ। सत्यवती मन्दिरमा बुटवल-पाल्पा सडकखण्डको झुम्सा र चौबीस माइलबाट दुई घन्टा पैदल यात्रापछि पुग्न सकिन्छ। यहाँ अन्य समयमा पनि भक्तजन आउने गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell