PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

गोकुलको किल्लामा शिवको घरदैलो: वादे बोलेरोमा, हुमागाईँ स्कर्पियोमा

गोकुलको किल्लामा शिवको घरदैलो: वादे बोलेरोमा, हुमागाईँ स्कर्पियोमा

रविन खाकी/पहिलोपोस्ट


बनेपा: काभ्रे २ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन् शिव हुमागाईँ। एमालेका गोकुल बास्कोटाको किल्ला मानिने यश क्षेत्रमा हुमागाईँलाई गठबन्धनको साथ छ। यद्यपि गठबन्धनको साथ पाएको बेला चुनावी परिणाम निकाल्नु हुमागाईँको लागि उत्तिकै चुनौती पनि देखिन्छ।

त्यसैले हुमागाईँ शुक्रबार बिहानैबाट घरदैलोमा निस्किए। बास्कोटा धुलिखेलतिर घरदैलोमा उक्लिँदा हुमागाईँ बनेपाको वडा १० क्षेत्रमा दौडिँदै थिए। बिहान कोण सभामा निस्किएका हुमागाईँ दिउँसो वडा १० को पुलबजार क्षेत्रमा भेटिए।

पुलबजारमा हुमागाईँ स्कर्पियोमा आइपुगे भने कांग्रेसका यस क्षेत्रका प्रदेश (ख) का उम्मेदवार कञ्चनचन्द्र वादे बोलेरोमा आइपुगे। पुलबजारमा ओर्लेर उनीहरूले घरदैलो सुरु गरे। पहिलो घरमै मतदाताले उनीहरूलाई लड्डु खुवाएर जितको शुभकामना दिए। कहिले गाडीमा त कहिले पैदलै हुमागाईँ थापागाउँसम्म उकालो लागे।

कांग्रेस केन्द्रले यसपटक काभ्रे २ को प्रतिनिधि सभा सिट आफ्नै पार्टीले जित्ने लिस्टमा राखेको छ। तर यहाँका कांग्रेस कार्यकर्ता भने अली निराश देखिए। 'अली तयारी पुगेको छैन, कांग्रेसको खटाइ पुगेको छैन,' शुक्रबार हुमागाईँसँगै हिँडिरहेका एक कार्यकर्ता भन्दै थिए। हुमागाईँको टोलीको पहिलो घरदैलो एमालेले जितेको वडाबाट सुरु भयो। हुमागाईँ शुक्रबार घुमेको क्षेत्रमा बास्कोटाको 'चुनावी सम्पर्क कार्यालय' प्रशस्त देखिन्थ्यो।

२०५६ सालमा एमालेका केशव बडाललाई पराजित गरेर सांसद बनेका हुमागाईँ भने निर्धक्क देखिन्थे आफ्नो जितमा। २०७४ को निर्वाचनमा कांग्रेसका मधु आचार्यलाई १७ हजार ५७९ मतान्तरले हराउँदै एमालेका बास्कोटाले जितेका थिए। गोकुलले ५४ हजार ४२७ मत पाउँदा आचार्यले ३६ हजार ५७९ मत प्राप्त गरेका थिए।

वैशाखमा सम्पन्न स्थानीय तहको वडा तहको मतमा कांग्रेस एमाले हाराहारीमा छन्। एमालेको ४५ हजार ५१४ मत छ भने कांग्रेसको ४५ हजार ४५६ मत छ। १ लाख ५७ हजार ४ सय ४२ मतदाता रहेको काभ्रेमा यस पटक माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको साथ कांग्रेसलाई रहनेछ। समाजवादीले यो क्षेत्रमा ८ हजार ६७६ मत ल्याएको छ। माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्षहरूको कुल मत ६ हजार ३७० छ। गठबन्धनको मतलाई हेर्दा हुमागाईँ १५ हजार मतले अघि देखिन्छन्।

जसले गर्दा पनि होला हुमागाईँ ढुक्क देखिन्छन।

दृश्यमा हुमागाईँको घरदैलो:-



ट्रेन्डिङ पोस्ट

Ncell