PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

गोकुललाई १८ हजार मतान्तरले हराउँछौ : शिव हुमागाँई (अन्तर्वार्ता)



नेत्र तामाङ

गोकुललाई १८ हजार मतान्तरले हराउँछौ : शिव हुमागाँई (अन्तर्वार्ता)

घरदैलो कार्यक्रम शुरु भएसँगै उम्मेदवारहरुलाई भ्याइनभ्याइ छ। समय कत्ति पनि खेर नफाली मतदातासँग भेटेर आफ्नो पक्षमा माहोल बनाउन प्रयासरत हुन्छन्। शुक्रवार काभ्रे क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका शिवप्रसाद हुमागाँईलाई पनि यस्तै चटारो थियो।

सत्ता गठबन्धनको साथ भएपनि यस क्षेत्रमा बलियो मानिने पूर्व मन्त्री गोकुल बाँस्कोटा उनका प्रतिस्पर्धी छन्। त्यसैले पनि सक्दो धेरै मतदाता कहाँ पुगेर आफ्नो पक्षमा माहोल बनाउने चटारोमा देखिन्थे हुमागाँई। दिउँसो खाजा ब्रेकको समयमा थोरैमात्रै कुराकानी गर्ने शर्तमा धुलिखेलमा अडिए हुमागाँई। यसै मौकामा उनीसँग पहिलोपोस्टले गरेको कुराकानी :

कस्तो छ तपाईँको चुनावी प्रचार?
बिहानदेखि बेलुकासम्म कोणसभा, घरदैलो र समूहगत भेटघाटमा व्यस्त भइरहेका छौँ। दैनिक कार्यक्रम पाँच दलीय वाम गठबन्धनले तय गरिरहेको छ।

बिहानैबाट घरदैलोमा खटिनुभयो, मतदाताको प्रतिक्रिया कस्तो पाउनुभयो?
मतदाता उत्साहित हुनुहुन्छ। हाम्रो उपस्थितिलाई ‘वार्म वेलकम’ गरिरहनुभएको छ।

के-के छन् त काभ्रेको विकासका लागि तपाईको योजना?
राजनीतिक रुपमा २००७ सालदेखि ६२/६३ सालसम्म भएका क्रान्ति र  उपलब्धिहरुलाई यसको संस्थागत विकास गर्ने र यसलाई मुलुकमा शान्ति र समृद्धिका लागि वातावरण बनाउने हाम्रो एजेन्डा रहेका छन्। नीति तथा कार्यक्रमलाई जनतामुखी बनाउने हाम्रो योजना छ।

कृषि क्षेत्रमा मल बीउविजनको अभाव छ। यसलाई तत्कालै सहजीकरण गरेर स्थायी समाधान गर्ने, रोजगारीका लागि विदेश पलायन हुने युवाहरुका लागि तत्कालै भिजनसहितको कार्यक्रम सञ्चालन गर्ने र त्यहीभित्र काभ्रे जिल्लाभित्र भइरहेका अधुरा परियोजना पूरा गर्ने। १२ महिनै यातायात चल्ने गरी प्रत्येक वडामा पुग्ने सडकको व्यवस्थापन गर्ने योजना छ।

काभ्रे स्वास्थ्य क्षेत्रको पनि हब मानिन्छ, यसका लागि के छन् योजना?
महामारीका समयका लागि यस क्षेत्रमा छुट्टै अस्पताल व्यवस्थापन गर्ने र अहिले भइरहेका अस्पतालहरुमा आधुनिक इक्विपमेन्टहरुको व्यवस्थापन गरी विशेषज्ञ सेवासहित उपलब्ध हुने गरी व्यवस्थापन गर्ने। र, स्थानीय तहसम्म विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने समकालीन योजनाहरुलाई हामीले समेटेका छौँ।

कांग्रेस केन्द्रको त संकल्पपत्र आइसक्यो, तपाईँको क्षेत्रगत पनि आउँछ कि?
काभ्रेका गौरवका योजनाहरु समेटेर हामी प्रतिबद्धतापत्र ल्याउनेछौँ। तयारी हुँदैछ।

बनेपामा विमानस्थल बनाउने चर्चा थियो, तपाईको एजेन्डामा छैन?
२०७४ सालमा जित्नुभएको उम्मेदवार (गोकुल बाँस्कोटा)ले एयरपोर्ट बनाइसक्नु भयो होला। हाम्रो भूगोल भएर माथिमाथि हवाईजहाजहरु उड्छन्। हामी यस्ता गफ र हावादारी आश्वासन दिँदैनौँ। रेल ल्याउने र एरपोर्ट बनाउने एजेन्डा हामीसँग अहिले छैन।

हेभीवेट उम्मेदवारहरुको जवाफ चै सीधासीधा हुने है?
उम्मेदवार हेभीवेट हुन्छ जस्तो मलाई लाग्दैन। हेभीवेट त मतदाता हुन् नि। त्यो मतदाताले निर्णय गर्ने कुरा हो।

अघिल्लो निर्वाचनमा कांग्रेस त फराकिलो मतले हारेको थियो, यसपाली पनि मुस्किल होला नि?
त्यति नै मतान्तरमा हामी जित्छौँ।

भन्नाले १८ हजार मतान्तरले गोकुल बाँस्कोटालाई हराउँछु भन्नुभएको?
हामी जित्नेछौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell