PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजावादीका नेता-कार्यकर्ताबाट कसरी तान्दैछन् कृष्णभक्तले मत? [अन्तर्वार्ता]



पहिलोपोस्ट

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजावादीका नेता-कार्यकर्ताबाट कसरी तान्दैछन् कृष्णभक्तले मत? [अन्तर्वार्ता]

हरेक दिन बिहानैबाट चुनावी प्रचारमा व्यस्त रहन्छन् नेकपा (एमाले)का नेता कृष्णभक्त पोखरेल। चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका उनी कार्यकर्ता भेटघाटको चटारोमा थिए। चितवनमा रहेको पोखरेलको घरमा पुग्दा बिहानको कार्यक्रमको तयारी सुरु भइसकेको थियो। चुनावअघि मात्रै पार्टी खोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको चुनौती छ उनीसामु। लामिछाने सेलिब्रेटी शैलीमा चुनावी मैदानमा उत्रिँदा व्यवसायिक पृष्ठभूमिलाई आधार बनाएर चुनाव जित्ने दाउँमा छन् श्रेष्ठ पनि। लामिछाने र श्रेष्ठलाई पराजित गरेर चुनाव जित्न पोखरेलका लागि यसपटक सकसपूर्ण रहने छ। २०७४ मा चितवन-२ मा विजयी भएका पोखरेल २०७० को चुनावमा चितवन-३ बाट निर्वाचित भएका थिए। कानुनी पृष्ठभूमिका पोखरेलसँग सविन ढकालप्रकाश भण्डारीले गरेको कुराकानी :

रवि लामिछाने र उमेश श्रेष्ठसँग तपाईँको प्रतिस्पर्धा छ। चुनावी माहोल कस्तो पाउनुभएको छ?

म यस भूमिमा जन्मिएको मान्छे। २० वर्ष कानुन व्यवसाय गरेँ। त्यतिबेला पनि 'पारालिगल कमिटी'हरु बनाएर वडा तहसम्म असहाय गरिव जनतालाई कानुनी सेवा दिएर जनतासँग जोडिएको हुँ। युद्धकालमा जति पनि माओवादी साथीहरु पक्राउ परे एउटा पनि त्यस्ता साथी छैनन् जसलाई मैले केही न केही कानुनी सहयोग नगरेको होस्। नेपाली कांग्रेसलाई पनि साझा मान्छेका रुपमा कहीँ न कहीँ सेवा पुर्‍याएको छु। प्रत्येक घरकालाई चिन्छु। तर, जो साथीको तपाईँले नाम लिनुभयो उहाँहरुलाई एउटा वडामा ५ जनाको नाम लिन पनि गाह्रै पर्छ। जनतासँग अन्तर्घुलन मेरो राम्रो छ। जसले मन जितेको छ उसैलाई मत दिनुहोला। परिणाम जे आउँछ त्यो सबैका लागि स्वीकार्य हुनुपर्छ। उहाँहरुप्रति मेरो सम्मान छ। जित मेरो निश्चित छ भन्ने कुरामा कुनै द्विविधा मलाई छैन्।

यस पटक एमाले विभाजित छ। भरतपुर महानगरमा एमालेका उम्मेदवार ठूलो मतान्तरले पराजित पनि भएका थिए। यस हिसाबले तपाईँसामु कडा चुनौति छ त?

एमाले विभाजनले मलाई करिबकरिब असर छैन। समाजवादीका साथीहरुसँग पनि मेरो राम्रो मित्रता छ, एकाध बाहेक। कालिकामा पार्टी ब्रेकको खासै असर छैन। इच्छाकामनामा एक जना साथी ब्रेकमा लाग्नुभएको थियो उहाँले पनि सहयोग गर्छु भनेर प्रतिवद्धता व्यक्त गरिसक्नु भएको छ। भरतपुरमा भएका एकीकृत समाजवादीका साथीहरुसँग पनि नङ मासुको जस्तो सम्बन्ध छ। यस क्षेत्रमा पार्टी विभाजनले ठूलो असर पार्ने अवस्था छैन। विभाजनमा जाने साथीसँग 'वान टु वान' कुराकानी गरेको छु।

मेयरका उम्मेदवार विजय सुवेदी हार्नुमा परोक्ष या प्रत्यक्ष रुपमा तपाईँकै हात छ भन्ने आरोप छ। यस्तोमा चुनाव लड्दै हुनुहुन्छ त?

सत प्रतिशत मिथ्या हो। म आफैँ प्रस्तावक/समर्थक भएर उम्मेदवार हुनुभएको हो उहाँ। यसबारे हाम्रो पार्टी भित्र अलिकति पनि विवाद नभएको व्यक्ति हो। भिजनकर्ता नेताको रुपमा रहेको व्यक्तित्वलाई कृष्णभक्त पोखरेल बढी सहयोग गरेको भए जित्नुहुन्थ्यो कि भन्ने केही मान्छेले भनेका हुन्। तर, कुनै त्यस्तो रात छैन् जुन रात १२ बजे अगाडि तयारीको काम नगरिकन सुतेको होस्। मतगणनाको बेला १२ बजे आँखा जुध्नेगरी प्रत्येक टेबलमा को बसे को बसेनन् भन्ने हेरेर मात्रै ४/५ घण्टा सुत्थेँ म। निर्वाचनको कमाण्डर नै म थिएँ। प्रतिस्पर्धी उम्मेदवार प्रचारका लागि आउँदा मैले शुभकामना छ भनेको हो। 'ल कृष्णभक्तले शुभकामना भन्यो' भनेर छाप्ने काम भयो। त्यस्तो कुरा लाई के भन्नु? मेरो क्यारेक्टर कसैले एक थप्पड हाने उससँग बदल होइन बरु अर्को थप्पड हान भन्ने हो। त्यसैले त्यसखाले अवस्था पार्टीभित्र छँदा पनि छैन, जिरो प्रतिशत हो।

आरोपको अस्वीकार गरे पनि विभाजनपछि तपाईँ लगायतका नेतालाई शंकाको दृष्टिकोणले हेर्ने नेताहरु पनि छन् नि एमाले भित्रै?

शत् प्रतिशत छैन। यस विषयमा त विजय सुवेदीसँग सोध्नुस न। अरु मेरा नेताहरुलाई सोध्नुस्। सबै कुरा जुटाएर हिँड्ने म। आफू लड्नुछ भने चुनाव हराउने कुरा कल्पना पनि गर्ने विषय होइन। विजय सुवेदी मेरो आस्थाको नेता हो। मलाई पनि कसैले मेयरको उम्मेदवार उठ्ने कि भन्ने कुरा गरेका थिए। विजय सुवेदीका अगाडि हामी उठ्ने कुरा हुँदैन भनेको थिएँ। नेकपा एमालेमा अहिले एउटै मात्रै नेता छन् केपी ओली। र, पार्टी एमालेमात्रै छ। २८ वर्षदेखि लगातार जिल्ला नेताका रुपमा छु। यहाँ सबैभन्दा एमालेको राम्रो पक्ष भनेको गुट नहुनु हो।

गुट छैन भनेर दावी प्रस्तुत गर्नुभयो तर चुनावमा टिकट नपाएर पार्टी नै छोड्नुपर्ने स्थिति बनेको देखिन्छ?

कतिपय ठाउँमा अन्तर्घुलन हुन सकेन। देशभरी कतै धेरै अन्तर्घुलन भएको छ भने त्यो चितवन क्षेत्र नम्बर २ हो। म बाहेक यत्रा सिनियर नेता हुँदा पनि कृष्णभक्त पोखरेललाई नै टिकट दिनुको कारण के हो?

उमेश श्रेष्ठ पहिलाका शिक्षक पनि हुन्। नारायणघाटको बजार क्षेत्रका मतदाताले हाम्रै मान्छे आयो भन्ने सुनियो। यस हिसाबले तपाईँभन्दा उनी बलियो किन होइनन्?

नारायणगढ मुलत: बन्दीपुरका साहुहरुको थलो हो। वल्लो पल्लो डाडाँ हो पहाड घर मेरो पनि। मेरा बावु बाजेको नेवार समुदायसँग सम्बन्ध छ। नाता पर्छ, मितेरी साइनो छ। हिजो भीमबहादुर श्रेष्ठ जस्ता नेता मभन्दा हरेक दृष्टिकोणले अब्बल, त्यही बजारबाट लड्नुभएको थियो। मैले उहाँलाई नेताको हिसाबले प्रतिस्पर्धा गर्न नमिल्ने नेता हो। तर पनि मैले हाराहारी मत ल्याएको हो। बन्दीपुरमा एउटा डाँडा उहाँहरुको हो, एउटा हाम्रो। त्यसकारण भोजपुरको मान्छे आएर नेवार भएका कारणले ओनरसिप लिने अनि बाहुन भनेर बाहुनहरुले ओनरसिप लिने चलन चितवनमा छैन। जातजाति र धर्मका आधारमा चितवनमा मतदान हुँदैन। ढुक्क हुनुस् चितवनमा आस्था र जनतासँगको जनप्रियताका आधारमा मतदान हुन्छ। जनताले जतिखेर पनि भेट्न सक्ने नेतालाई भोट हाल्छन्। उहाँहरुलाई भेट्ने कहाँ हो? स्थायी बसोबास कहाँ हो भन्ने कुरा नै अनिश्चित भएको मान्छेले ओनरसिप लिने भन्ने हुँदैन। नारायणगढका साहुलाई उहाँले जति चिन्नुहुन्छ त्यसको ५० गुणा बढी म चिन्छु। युथदेखि ९० वर्षका जेष्ठ नागरिकसम्म मैले चिन्ने हुँदा त्यस्तो प्रभाव जिरो हो भन्ने लाग्छ।

तपाईँका लागि मुख्य प्रतिस्पर्धी को हो? रवि लामिछाने जस्ता नेतालाई मान्छेले सेलिब्रेटीका रुपमा लिन्छन् यसलाई तपाईँले कसरी बुझ्नुभएको छ?

मेरा लागि सबै जना समान हुनुहुन्छ। मेरो सबैप्रति सम्मान छ। यो त्यो भन्ने छैन। काठमाडौंका मेयर बालेन साह कार्यकारी पद हो। गएको भोलिपल्ट उसले काम गर्न सक्छ। संसदमा त १३८ चाहिन्छ। १ सय सिट हुँदा त हामी ट्वाल ट्वाल हेरेर नागरिकता विधेयक रोक्न सकेनौं। यहाँ एक जनाको केही महत्व नै छैन। जनताले यसलाई बुझ्नुहुन्छ। युक्रेनमा कलाकार गएर राष्ट्रपति भयो उसले दनादन काम गर्‍यो। त्यस्तो पद होइन नि, यो त सांसद हो। उहाँले १३८ जित्न सक्ने जनतालाई विश्वास लाग्यो, मत दिनुहोला। होइन १३८ जित्ने ताकत एमालेसँग मात्रै छ भन्ने भयो भने हामीले भोट पाउँछौं।

तपाईँ संसदमा समितिको सभापतिका रुपमा काम गरिसक्नुभएको व्यक्ति। कानुन निर्माणमा पनि तपाईँ सक्रिय नै हुनुहुन्थ्यो। त्यसखाले भूमिकालाई चुनावका बेलामा कसरी बुझाइरहनुभएको छ जनतालाई?

मलाइ विगतमा पनि पार्टी नहेरिकन मतदान गर्नुभएको छ। के कांग्रेस, के अरु पार्टी, सबै मतदाताले मलाई विजयी गराउनुभएको छ। म सांसद हुँदा मैले त्यस कुराको प्रत्याभूत गराएको छु। १७६ वटा जति विधेयक मेरो समितिबाट पास भएको छ। म सभापति भएको कानुन, न्याय तथा मानवअधिकार समितिमा एउटामा पनि अल्पमत र बहुमतमा विभाजन भएन। मैले कुनै दिन एमाले भएर त्यहाँ काम गरिन।

शिक्षा सम्बन्धि ऐनमा विवाद भएर झगडा गरेर पारित गरेँ। मेरोमा जति पनि विधेयकहरु छन् त्यो संविधान अनुकुल छ कि छैन? सर्वोच्च अदालतको नजिर अनुकुल छ कि छैन? हामी पक्ष राष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धि अनुकुल छ कि छैन? पत्रकारको कानुन बनाउने पत्रकारलाई नसोध्ने? डाक्टरको कानुन बनाउने डाक्टराई नसोध्ने? मैले त ती पेशा व्यवसायका मानिसलाई टेबुलमा राखेर १७६ वटा कानुन बनाएको छु। मेरो लागि यो धेरै महत्वपूर्ण हो। मेरो नेतृत्वमा बहुविवाह प्रथा नेपालमा अब सम्भव छैन भनेर स्थापित गरेको हो। बलात्कार गरेर हत्या गर्नेलाई आजिवन कारावास राख्‍ने जस्तो युग परिवर्तन गर्नेखालका कानुन हामीले पारित गरेका छौं।

जनताले यसलाई सुक्ष्म ढंगले हेरिरहेका छन्। एक दिन मलाइ केरा किसानले फोन गरे। मैले तत्काल संसदमा सम्बोधन गरेँ। पर्सिपल्ट त मैले पार्लियामेण्ट स्थगनको प्रस्ताव लिएँ। यो ५ वर्षमा पहिलो पटक पार्लियामेण्ट स्थगन प्रस्ताव भयो। बजेटरी छलफल चलिरहेका बेलामा पनि मलको विषयमा छलफल नगरेसम्म पार्लियामेण्ट चल्न सक्दैन भने प्रस्ताव दर्ता गराएँ। सांसदहरुको वास्तवमा काम नै यही हो। अहिले जति पनि साथीहरु प्रतिस्पर्धामा हुनुहुन्छ उहाँहरुले एउटा मात्रै विधेयक संशोधन प्रस्ताव हालेको भएको भए, म खुसी हुने थिएँ।

यस पटक तपाईँका एजेण्डा चाहिँ के के छन्?

राष्ट्रिय चुनाव भएकाले एमालेले ल्याएको घोषणापत्रलाई ५ वर्ष दृढतापूर्वक कार्यान्वयन गर्ने कुरा नै हो मुख्यतया। नागरिकता विधेयकमा राष्ट्रिय हित विपरीतका जुन प्रबन्धहरु छन् त्यसलाई सुधार्ने कुरो दोस्रो भयो। केही कानुनहरु अझै निर्माण गर्नुपर्ने छ। साझा सूचीका कानुनहरुमा अधिकारहरु बाँडफाँट भएको छैन। त्यसमा पनि महत्वपूर्ण रुपमा काम गर्छु। मेरो निर्वाचन क्षेत्रमा मैले उठाएका कतिपय मुद्दा पूरा हुन सकेका छैनन्। भरतपुर महानगरमा ल्याण्डफिल्ड साइट बनाउनुपर्ने छ। वैज्ञानिक ढंगले फोहोरको व्यवस्थापन हुन सकेको छैन। महानगरपालिकासँग साझेदारी गर्दै पूर्णता दिने काम गर्ने छु।

रिङरोडको कन्सेप्ट पनि मैले ल्याएको छु। त्यसमा पनि महानगरसँग सहकार्य हुनेछ। इच्छाकामना पनि रिङरोडले घेर्नुपर्छ भन्ने छ। अरु ठाउँको डीपीआर भइसकेकाले त्यहाँ काम गर्नुपर्ने छ। सरकारी अस्पताललाई व्यवस्थित गरेर २ लाखसम्मको विमा गरिव असहायले पाउने वातावरण बनाउनु पर्छ भन्ने हिसाबले म लागेको छु। विद्यालय सुधार्नु पर्ने छ। १२ कक्षासम्म पढ्न जाँदा पैसा तिर्न नपरोस् त्यस कुरामा पनि हामी दृढ छौं। जीवनयापनको अवस्था सुधार्ने काम पटक्कै हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell