PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कुशादेवीमा गठबन्धनविरुद्ध गर्जिए गोकुल : माधव नेपाललाई हरियो साँप, देउवालाई भने र्‍याले



नेत्र तामाङ

कुशादेवीमा गठबन्धनविरुद्ध गर्जिए गोकुल : माधव नेपाललाई हरियो साँप, देउवालाई भने र्‍याले

कुशादेवी : काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार रहेका पूर्वमन्त्री गोकुल बास्कोटा गठबन्धनमाथि खनिएका छन्। चुनावी प्रचारका क्रममा पनौतीको वडा २ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै बास्कोटा गठबन्धनका नेताहरुमाथि खनिएका हुन्।

भाषण गर्दिनँ भन्दाभन्दै ४५ मिनेट

पनौती नगरपालिकास्थित कुशादेवीमा एमाले वडा कमिटी वडा २ र ३ ले कुशादेवी पार्टी प्यालेसमा कोणसभा आयोजना गरेको थियो। बिहानै पनौतीको रयालेमा पुगेर कुशादेवीमा कोणसभा आयोजना गरिएको थियो।

बिहान १० बजे प्रमुख अतिथिका रुपमा गोकुल बास्कोटाले भाषण सुरु गरे। सुरुमै उनले भाषण गर्दिनँ भने।

'म भाषण गर्दिनँ भन्या छु। ६६ वडा छ। १५ दिनमा सबै घरदैलो जान सकिँदैन। घरदैलोमा जान्छ सूर्य चिह्न। एउटा वडामा एकचोटि पाइला टेक्ने हो। बाली भित्र्याउने समय छ। भाषण गर्ने किन?,' तर बास्कोटा त्यसपछि लगातार भाषण जारी राखे।

आम कार्यकर्ताको चाहना नेताले बोलिदेओस् भन्ने देखिएको भन्दै आक्रोश पोख्दै बास्कोटाले थपे, 'जो पनि नेताले बोल्देओस् भन्ने जनता?'

शिव हुमागाँईमाथि पहिलो प्रहार

गठबन्धनबाट यस क्षेत्रमा नेपाली कांग्रेसका शिव हुमागाँई प्रतिस्पर्धीमा छन्। गोकुलले कोणसभा गरिरहेको क्षेत्र हुमागाँई जन्मिएको क्षेत्र पनि रहेछ। त्यसैले सुरुमै आफ्नो प्रतिस्पर्धीमाथि खनिए बास्कोटा। 'यो क्षेत्रमा सालनालको कुरा गर्नुहुन्छ। छुच्चो को भए, एमालेको ५ वर्ष कसरी बित्यो, उहाँको कसरी बित्यो?'

आफ्नो पहलमा पनौतीको सडक कालोपत्रे भइसकेको र घरघरमा पानी पुगिसकेको दाबी गोकुलको थियो।

'डाँडाडाँडामा कालोपत्रे हाम्रो पालामा भयो हैन? आफ्नो पालामा केही नगर्ने, अनि झुटा प्रचार गर्ने? धाराको टुटी बटारेर म पानी पिलाउछु भन्नुहुन्छ। कुन पानी पिलाउनुहुन्छ?' हुमागाँईमाथि प्रश्न गरे बास्कोटाले।

लालपूर्जा च्याते 'वाकओभर' दिन्छु

मदन भण्डारी विश्वविद्यालय धुलिखेलमा बन्दैन भनेर हुमागाँईले भ्रम फैलाएको आरोप लगाउँदै आक्रोशित भए बास्कोटा। यदि उक्त विश्वविद्यालय धुलिखेल क्षेत्रमा बन्नुहुँदैन भनेर हुमागाँईले भनेमा आफूले 'वाकओभर' दिने तर्कसमेत थियो उनको।

'क्षमता भन्दा, कल्पनाभन्दा बाहिरको कुरा भएर होला, बर्बराएर हिँड्नुभएको छ। धुलिखेलमा विश्वविद्यालय बन्नुहुँदैन भनेर। कागज च्यात्नुस् म शिव हुामागाँईलाई वाकओभर दिन्छु,' बास्कोटाले भने, '७० मा उता गएको छ। अहिले यता आएको छ। ५६ मा पनि उहाँहरुकै सरकार थियो। अहिले पनि उहाँहरुकै छ। के हेरेर बस्नुभएको होला?'

विपक्षीले आफूलाई भन्न बाध्य बनाएको गोकुलको तर्क थियो। 'भन्न बाध्य भएपछि भन्नुपरेन। दुनियाँको गाली खाएर बस्ने हो त एमाले?'

विकास गरेको छु, जित्ने आधिकार नै छ

२०७४ सालको निर्वाचनमा 'थाप्लोबाट नाम्लो चुँडाइदिन्छु, कम्मरबाट गाग्रो छुटाइदिन्छु' भन्ने आफू भएको उल्लेख गर्दै जित्ने अधिकार पनि आफ्नो भएको तर्क गरे गोकुलले।

'विकास गरेको छु। जितको हकदार हो हामी,' उनले भने।

गठबन्धनसँग मत बढी भएको दाबीमा कुनै सत्यता नभएको बास्कोटाको भनाई थियो।

'हामी भ्रममा बाच्ने मान्छे हैन। समाजवादी बन्नेहरु फर्केर आइसके,' बास्कोटाले भने, '१५ हजार बढी भोट छ रे गठेको। भिजन छैन, मिसन छैन। उहिलेका कुरा खुइले। समाजवादी र माओवादीलाई थाहा छ रुखको झन्डा बोकेर समाजवादको बाटो पुगिँदैन। केहीलाई अर्बपति बनाएर जनताको के भएको छ?'

माओवादी र एकीकृत समाजवादीले काशी जान कुतीको बाटो समाएको उनको भनाई थियो। 'कांग्रेसको पुच्छर समात्नु भनेको काशी जानु कुतीको बाटो,' बास्कोटाले भने।

वडाध्यक्षमाथि पनि खनिए बास्कोटा

गएको स्थानीय तह निर्वाचनमा पनौती-१ मा यसपटक एमालेको ३५ वर्षे जितको इतिहास तोड्दै कांग्रेसले जित निकालेको थियो। कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन् जय लामा। उनै जय लामामाथि पनि खनिए बास्कोटा।

'वर्ल्ड कप आउँदैछ, रयालेका वडाध्यक्षले अर्जेन्टिनाको जर्सी लगाएका छन्। लेफ्ट राइट गरेका छन्। मेस्सी रोनाल्डोसँग तिनले न हात मिलाउन पाउनु न छुन पाउनु? बरु यहाँ खेल मैदान बनाउनु नि,' आफूले युवामा लगानी गर्ने बास्कोटाको भनाई थियो। विदेशबाट फर्केर आएका युवालाई लगानी गर्न आफू अग्रसर हुने उनले बताए।

बाबुराम विदेशी दलाल

भारतीय ढुंगा लागेर नेपाली मारिँदा देउवा सरकार बोल्न नसकेको बास्कोटाले आरोप लगाए। उनले भने, 'इन्डियन ढुंगा उछिटेर ढुंगा लागिसक्यो। भारतले जानकारी दिनुपर्दैन। भोलि राष्ट्रपति हुन्थ्यो होला। खै नेपाल सरकार बोलेको?'

गठबन्धनमा रहेका डा बाबुराम भट्टराई विदेशी दलाल भएको उनको आरोप थियो। 'हिजो बाबुराम भन्ने कराएछन्। देशको सीमानामा राष्ट्रियता राजनीति गर्न पाइदैन रे। विदेशी दलालहरुले भन्ने त्यही हो,' बास्कोटाले भने, 'राति के के सपना देखे। दिउँसो नै जुनतारा गन्न खोज्ने?'

देउवा र गगनमाथि दोषैदोष, देउवाको छोरालाई किन किन किन?

१८ महिना सत्ता चलाउँदा कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मल दिन नसकेको बास्कोटाले दाबी गरे।

'के गर्‍यो गठबन्धनले? मल दियो?' उनले प्रश्न गरे, 'मन्दिरमा प्रसाद बाँड्या जस्तो ५ किलो मल बाँड्या छ। केही गर्‍या छ यो सरकारले?'

कुटनीतिमा देउवा सरकार असफल रहेको आरोपसमेत उनले लगाए। '१८ महिना सरकार चलाउने। मल चाहिन्छ। धान रोप्न आलु रोप्न, राल काढेर प्रधानमन्त्री चलाउनेले के थाहा पाउँछ? मल किसानलाई चाहिन्छ कि चाहिँदैन भनेर।  कुटनीतिक सम्बन्ध थिएन। दिए थियो त रुसले। भारत र चीनलाई जति चाहिएको। चीनबाट ल्याएर आउनु नि भारतका लागि कम्फर्टेबल भन्ने सरकारले। दियो त भारतले ११ सयको मल २६०० मा पाइँदैन।'

देउवाको छोरालाई सेक्युरिटी प्रेसको जिम्मेवारी दिन थालेकोमा बास्कोटाले पटकपटक प्रश्न उठाए। आफूले प्रिन्टिङ प्रेसमा ७० करोड काण्डको प्रश्न खेप्नुपरेको उल्लेख गर्दै पटकपटक संसदमा आफूमाथि अनुसन्धान गर्न आग्रह गर्दा पनि नगरिएको उनको दाबी थियो।

बास्कोटाले त्यही सेक्युरिटी प्रेसको जिम्मा देउवाको छोरालाई दिन लागिएको भन्दै आपत्ति जनाएका हुन्।

'त्यही सेक्युरिटी प्रेसको जिम्मेवार देउवाको छोरालाई किन दिन लागेको, किन किन किन? जब कि फ्रान्स र जर्मनले गर्दै थिए। किन किन किन? हाम्रा नि प्रश्न छन् नि,' बास्कोटाले भने, 'तर अहिले सरकारसित गर्न छाडेर देउवाको छोरासँग गर्न खोजेको छ किन किन किन?'

आफू देश बिगार्न नभई देश बनाउन हिँडेकोले कुतर्कसामू तथ्य बलशाली हुने तर्क गरे उनले।

'हिलो छ्यापेर हिँड्नुपर्दैन। तथ्य हजार कुतर्कहरुसामु एउटा तथ्य बलशाली हुन्छ। हामी देश बिगार्न हैन देश बनाउन आएका छौं,' उनले भने, 'कांग्रेसले नयाँ कार्यक्रम के ल्याएको छ? वृद्धभत्ता कांग्रेसको कार्यक्रम हो? एकल महिला भत्ता कांग्रेसको कार्यक्रम हो? सुत्केरी भत्ता कांग्रेसको हो?'

एमाले सरकारले बनाएको रेल चढ्नसमेत कांग्रेस नेताहरुले नआँटेको गोकुलको भनाई थियो। 'रेलको टिकट काट्न कोहीकोही जानै सकिरहेको छैन। केहीकेही मान्छेहरु गगन थापाहरु,' उनले भने।

हरियो साँपलाई १५ वर्षसम्म चिन्न सकिएनछु

बास्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई हरियो साँपसँग तुलना गरे।

भने, '१५ वर्ष हरियो चिन्नै नसकेको हरियो साँप। ३२ सिट लिएर हिँडेको थियो। चुनाव १८ मा लडेको छ,' बास्कोटाले भने।

यसैगरि, बास्कोटाले माओवादी १२ सिटमा खुम्चिने दाबीसमेत गरेका छन्।

'कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने भनेर हिँडेको। ६६ दियो एमालेले। ४१ पाएको छ अहिले। १२-१५ सिट जित्ला अनि होला त कम्युनिस्टको रक्षा हुन्छ?' बास्कोटाले प्रश्न गरे।

लास्टमा ट्रिगर दबाउँछु, विजयोत्समा भेटौंला

बास्कोटाले आफूले जित्ने दाबी गर्दै प्रतिस्पर्धीलाई आलोचना गरिरहन आग्रहसमेत गरेका छन्।

'तपाईं नसकेसम्म गोलीको ब्यारेल चलाइरहनुस्। लास्ट मोमेन्टमा म ट्रिगर दबाउँछु। एमालेले जित्छ।'

अहिले घरदैलोमा धेरै हिँड्न नसकिने उल्लेख गर्दै कार्यकर्तालाई निर्वाचनमा खटेर लाग्न निर्देशन दिएका छन् बास्कोटाले। अनि भने, 'विजयोत्सवमा भेटौंला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell