PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कांग्रेसको किल्लामा गोकुलको घरदैलो, मतदाताको प्रश्न : वडामा त कांग्रेसले जित्यो, यसपाला के हुने हो?

कांग्रेसको किल्लामा गोकुलको घरदैलो, मतदाताको प्रश्न : वडामा त कांग्रेसले जित्यो, यसपाला के हुने हो?

रविन खाकी/पहिलोपोस्ट


पनौती : चुनावी प्रचारप्रसारको चटारोमा उम्मेदवारहरुलाई भ्याइनभ्याइ छ। काभ्रे-२ मा नेकपा एमालेबाट पूर्वमन्त्री रहेका गोकुल बास्कोटा पनि शुक्रवारबाटै चुनावी प्रचारमा खटिएका छन्।

शनिवार बास्कोटा बिहान ८ बजे नै कांग्रेसले जितेको क्षेत्रमा घरदैलोमा निस्किए।

पनौती नगरपालिकाको वडा १ कांग्रेसले जितेको वडा हो। यही क्षेत्रमा उनी पुगे घरदैलोमा। बनेपामा चुनावी हेडक्वाटर बनाइरहेका बास्कोटा रेनोल्ड कम्पनीको डस्टर गाडी चढेर ८ बजे नै रयाले पुगे। उनको गाडीलाई प्रदेश उम्मेदवार, समानुपातिक उम्मेदवार र नेताकार्यकर्ता दुई स्कारपियो र केही मोटरसाइकलमा पछ्याउन थाले।

त्यहाँ उनलाई टीकाखादा लगाउँदै आशीर्वाद दिए स्थानीयले। सँगैसँगै थिए प्रदेश तर्फ काभ्रे २ 'ख' का एमाले उम्मेदवार कुमार थापा, समानुपातिक उम्मेदवार जिता ढकाललगायत।

सडकैसडक बजार क्षेत्रमा कहिले र्‍याली बनेर त कहिले गाडीमै हिँड्न थाले नेता र कार्यकर्ता। अघिपछि म्यादीको लाइन लाग्दै बास्कोटाको टोली पर्खाल चौर पुगे। पर्खाल चौरमा माओवादीबाट मारिएका कृष्णप्रसाद सापकोटाकी ८६ वर्षीय आमा जगतकुमारीले टीका लगादिए बास्कोटालाई।

आशीर्वाद दिए अनि यसपटकको स्थानीय निर्वाचनमा वडामा नतिजा राम्रो नआएको उल्लेख गर्दै सोधे - वडामा कांग्रेसले जित्यो, यसपाली के हुनी हो?

घरदैलोमा र भाषणमा हक्की छाँटकाँटमा देखिएका बास्कोटाले पनि जवाफ फर्काइहाले -  अब जित्छ।

बास्कोटाको जवाफ सुनेपछि जगतकुमारी खुसीले हाँसिन्। अरु पनि हाँस्न थाले।

बद्री पंगेनीको स्वर रहेको - आयो आयो एमाले आयो, कालो बादल फाटेर घाम लाग्यो - बोलको गीत घन्काउँदै टोली त्यसपछि कुशादेवीमा कोणसभातिर लाग्यो। कुशादेवीमा वडा २ र ३ का एमाले नेताकार्यकर्ता भेला भए। टनाटन भरिएको हलमा बास्कोटाको भाषण सुने।

कोणसभाबाट निस्कनसाथ कार्यकर्ता झुन्डिन थाले अनि आफ्नो घरतिर आउन पनि आग्रह गरे। तर बास्कोटा भन्दै थिए - समय नै कम छ। अब जितेपछि भेट्नुपर्छ।

त्यति भनेर बास्कोटा चुनावी हेडक्वाटर बनेपातिर हुँइकिए।



ट्रेन्डिङ पोस्ट

Ncell