PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

गृहजिल्लामा गर्जिए देउवा : राष्ट्रपतिलाई राति उठाएर संसद विघटन गरे, ओली दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ?



पहिलोपोस्ट

गृहजिल्लामा गर्जिए देउवा : राष्ट्रपतिलाई राति उठाएर संसद विघटन गरे, ओली दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ?

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गतेको निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, 'समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ। धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ।'

सो अवसरमा देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने पनि बताए।

देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ भन्दै प्रश्नसमेत गरे। सोध, 'केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ? कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो।'

उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने बताएका हुन्।

देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए। त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो।

उनले भन्नुभयो, 'अति नै भएपछि हामी अदालत गएका हौँ।'

सभाका क्रममा उनले डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

'गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन। मेडिकल पढाइ पनि यही हुन्छ', देउवाले भने, 'विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ।'

डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उनले बाँकी काम पनि आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेकपा माओवादी केन्द्र र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने उनको दाबी थियो।

भने, 'खगराज भट्ट माओवादीको नेता हो। उहाँ र हाम्रो पार्टीका साथी मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ। डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ।'

सम्बोधनका क्रममा उनले शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार निर्माणमा जोड दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell