PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

२०औं कंग्रेसपछि ‘रणनीतिक साझेदारी’ बढाउँदै चीन, उच्चस्तरीय पाहुनालाई बेइजिङमा सी’को स्वागत



विधुर ढकाल

२०औं कंग्रेसपछि ‘रणनीतिक साझेदारी’ बढाउँदै चीन, उच्चस्तरीय पाहुनालाई बेइजिङमा सी’को स्वागत
Photo:globaltimes.cn

सांघाई: तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महासचिवमा निर्वाचित भएसँगै सी चिनफिङले बेइजिङमा तीन विदेशी पाहुनालाई स्वागत गरेका छन्। पछिल्लो समय पश्चिमा राष्ट्रबाट चेपुवामा पर्दै आएको चीनले जर्मन चान्सलर ओलाफ क्कोल्जलाई बेइजिङमा स्वागत गर्‍यो।

चीन-इयू सम्बन्ध चिसिँदै गएको बेला युरोपेली मुलुक जर्मनका राष्ट्र प्रमुखलाई सिले बेइजिङमा स्वागत गरे। शुक्रबार बेइजिङ पुगेका जर्मन चान्सलरसँग सिले ग्रेट हल अफ पिपल्समा भेट गरे। यो भेट सांकेतिक महत्वभन्दा माथि उठेको छ। यो भेट चीन-जर्मन सम्बन्धको लागि मात्र नभई चीन-इयू सम्बन्धलाई नयाँ आयाम थप्नेसमेत अपेक्षा गरिएको छ। भलै जर्मन चान्सलर स्कोल्जको भ्रमण संक्षिप्त भए पनि यसले सघन अर्थ राख्ने चिनियाँ सरकारी मुखपत्र ग्लोवल टाइम्सको सम्पादकीयमा उल्लेख छ।

२०औं राष्ट्रिय कंग्रेसपछि बेइजिङ भ्रमण गर्ने पहिलो युरोपेली मुलुकका राष्ट्र प्रमुखको रुपमा आएका जर्मन चान्सलरको भ्रमणका क्रममा दुबै पक्ष साझेदारीलाई बढाउँदै संवादलाई कायम राख्न सहमत भएका छन्। त्यस्तै दुबै पक्ष दोहोरो चरित्रको अन्त्य गर्दै क्षेत्रीय विवादलाई रोक्नसमेत सहमत भएका छन।

संक्षिप्त रुपमा भए पनि जर्मन राष्ट्रप्रमुखबाट भएको बेइजिङ भ्रमणले चीन युरोप सम्बन्धलाई नयाँ आयाम थपेको चिनियाँ विज्ञहरुले बताएका छन। स्कोल्जको भ्रमणले पश्चिमा देशहरु चीनसँग संवाद बढाउनेतर्फ अग्रसर हुने सन्देश दिएको छ।

भेटका क्रममा चिनियाँ राष्ट्रपति सी'ले परिवर्तित समय अनुसार चीन र जर्मनी मिलेर काम गर्दै स्थायित्व, शान्ति र विश्वको विकासमा अग्रसर हुनुपर्ने बताएका छन। 'चीन जर्मनसँग भविष्य केन्द्रित भएर सबै पक्षीय रणनीतिक साझेदारी र चीन-जर्मन सम्बन्ध तथा चीन-युरोप सम्बन्धलाई नयाँ प्रगतिका दिलाउन मिलेर काम गर्न चाहन्छ,' सिले जर्मन चान्सलरसँगको भेटका क्रममा भनेका छन्।

उनले राजनीतिक विश्वासले सबै बाधालाई पन्छाउन सकिने भन्दै जर्मनीप्रतिको चिनियाँ नीति एकरुप रहेको बताए। उनले दुबै देशको आपसी फाइदाका लागि सकरात्मक चीन नीति अपनाउन आग्रह गरे।

उनले चीनले युरोपलाई सधैं वृहत रणनीतिक साझेदारको रुपमा लिएको भन्दै युरोपियन युनियनको रणनीतिक स्वतन्त्रताको समर्थन गर्ने बताए।

यो भ्रमण दलमा जर्मनका उच्चस्तरीय व्यवसायिक घरनाकोसमेत सहभागिता थियो। मर्सिडि-बेन्ज, भोल्कस्वागन, बीएएसफ जस्ता कम्पनीका मालिकहरुसमेत सहभागी थिए। यो डेलिगेशनले चीन-जर्मनीबीचको व्यवसायिक साझेदारीसमेत देखाएको छ।

अमेरिकासहितका देशले चिनियाँ 'चिप्स'माथि प्रतिबन्ध लगाउँदै गर्दा जर्मनीका महत्त्वपूर्ण कम्पनीका प्रमुखहरु यो भ्रमण टोलीमा थिए। जर्मनीका ब्लु-चिप कम्पनीका १२ सिइओसहित उनी बेइजिङ पुगेका थिए।

जर्मन चान्सलर बेइजिङको यात्राको तयारी गरिरहँदा युरोपेली देशलाई उनलाई रोक्ने प्रयास गरेका थिए। फ्रान्सका राष्ट्रपति इमान्युल माक्रोनले उनलाई चीनलाई युरोपको एकता देखाउन एकैसाथ बेइजिङ भ्रमणमा जान सुझाएको रोयटर्सले जनाएको छ।

यो भ्रमण जर्मन सत्ता गठबनधनमा विवादका बीच हाम्वर्ग पोर्टको स्टेक बेइजिङलाई दिने निर्णयसँगै भएको हो।

भेटमा जर्मन चान्सलरले क्षेत्रीय तिक्तताको विपक्षमा जर्मनी सधैं उभिने बताउँदै उनले युरोप-चीन सम्बन्ध विस्तारका लागि भूमिका खेल्ने बताएका थिए।

पछिल्लो समय चीन-अमेरिकाबीच क्षेत्रीय टकराव बढ्दै जाँदै जर्मनी र चीनका नेताहरुले क्षेत्रीय तनावको विपक्षमा उभिने स्पष्ट संकेत दिएका छन्। यसले विश्वमा स्थायित्व र दिगो विकासका लागि महत्त्वपूर्ण सन्देश दिएको सांघाई इन्टरनेशनल स्टडिज युनिभर्सिटीका रिसर्च फेलो चियाङ फङले बताए।

'युरोपमा अमेरिकाले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने वातावरण तयार गरिरहेकै बेलामा जर्मनी यहाँ आएर अमेरिकी द्वेध चरित्रलाई अस्वीकार गरिदिएको छ,' उनले भने।

कूटनीतिक सक्रियतामा सी

जर्मन चान्सलरसँग भेट गरेको अघिल्लो दिन बिहीबारमात्र चिनियाँ राष्ट्रपति सीले तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनसँग ग्रेट हलमा भेट गरेका थिए। उनी सीपीसीको २०औं कंग्रेसपछि बेइजिङ पुग्ने पहिलो अफ्रिकी राष्ट्र प्रमुख हुन्।

यो भेटमा चीन-तान्जानियाका साथै चीन-अफ्रिका सम्बन्धलाई थप अगाडि बढाउने विषयमा छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। साथै सीपीसी र तान्जानियन रिभोलुस्नरी पार्टीबीच सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ।

त्यसको अघिल्लो दिन राष्ट्रपति सीले पाकिस्तानका प्रधानमन्त्री मुहम्म शेहवाज सरिफसँग भेट गरेका थिए। सीपीसीको २०औं कंग्रेसपछि बेइजिङ पुग्ने सरिफ पहिलो विदेशी सरकार प्रमुख हुन्।

यो भेटमा दुबै पक्ष बीआरआई परियोजनालाई अगाडि बढाउन तथा क्षेत्रीय शान्ति, विकासका लागि मिलेर काम गर्न सहमत भएका छन्। 'चीन र पाकिस्तान एक असल साथी एक असल साझेदार र एक असल दाजुभाई हुन्,' भेटका क्रममा राष्ट्रपति सीले भनेका थिए

विदेशी पाहुनालाई कंग्रेसको सन्देश सुनाउँदै

यसैबीच चीन आउने विदेशी पाहुनालाई चिनियाँ नेताले हालै सम्पन्न सीपीसीको २०औं राष्ट्रिय कंग्रेसका निर्णय ब्रिफिङ गरेका छन्।

विदेशी पाहुनाहरुले सीलाई बधाई दिएका छन्। '२० औं कंग्रेसमार्फत चीन थप खुलापनको नीतिलाई अगाडि बढाउने छ,' सीले सबै नेताहरुलाई यही ब्रिफिङ गरेका छन्। साथै उनले चीनले लिने खुलापनको नीतिबाट विश्वले लाभ लिन सक्नेसमेत उनले बताएका छन्।

विदेशी राष्ट्र तथा सरकार प्रमुखसँगै बेइजिङले हालै स्वागत गरेका अर्का पाहुना हुन छिमेकी भियतनामका कम्युनिस्ट नेता। कम्युनिस्ट पार्टी अफ भियतनामका महासचिव न्गुयन फु ट्रोङले अक्टोवर २१ मा बेइजिङको भ्रमण गरे। दुई देशका कम्युनिस्ट पार्टीका महासचिवको भेटमा दुई देशबीचको सम्बन्धलाई रणनीतिक साझेदारीको उचाइमा पुर्‍याउने विषयमा उल्लेख गरे।

सीभीपीका नेताको भ्रमणलाई चीनले राजकीय भ्रमणको रुपमा अगाडि बढाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell