
कमेडी च्याम्पियन बनेपछि हिमेश पन्तको योजना विज्ञान विषय लिएर स्नातकोत्तर गर्नु थियो। कक्षा ११ र १२ मा विज्ञान विषय पढाएका उनी चाहन्थे 'केमेस्ट्री प्रोफेसर' बन्न। तर, त्यसबेला कोरोना भाइरस संक्रमणका कारण उनको त्यो योजना पूरा हुन सकेन। अनि उनी कमेडीमै भुले, 'रोस्ट' हान्न थाले। अवस्था सामान्य भएपछि उनी त्रि-चन्द्र कलेजमा भर्ना भए। हाल उनीविज्ञान विषयमा स्नातकोत्तर गरिरहेका छन्।
हिमेश चाहन्छन् भिडको अघिल्तिर उभिँदा हाँस्ने दर्शक बाहेक फरक झुण्ड होस्। त्यो एक सपना र हाँस्ने हसाउँने प्रक्रिया निरन्तर अघि बढाउन पाए सधैं सन्तुष्ट रहने निर्क्यौल गरेका थिए उनले।
अहिले तिनै कमेडियन हिमेशले 'केमेस्ट्री प्रोफेसर' बन्ने योजनालाई थाँती राखेर बाटो मोडेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा उनी धादिङ-१ बाट निर्वाचन लडिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उनी अब प्रोफेसर बन्ने सपनामा ब्रेक लागेको बताउँछन्।
'राजनीतिमा अघि बढेपछि अध्यापनलाई कति समय दिन सक्छ हेरौं। समय मिलेसम्म गर्नुपर्छ,' उनले भने।
राजनीतिमा डेब्यू गरिरहेका हिमेश जुन क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् त्यहीँबाट वाग्मती प्रदेशका 'सिटिङ'मुख्यमन्त्री राजेन्द्र पाण्डे पनि उम्मेदवार छन्। नेकपा एमालेबाट भूमि त्रिपाठी चुनावी मैदानमा छन्। पाण्डे सोही क्षेत्रबाट चारपटक निर्वाचित भइसकेको भन्दै अब धादिङले नयाँ अनुहारलाई मौका दिने हिमेशको दाबी छ। यस्तै, त्रिपाठीप्रति पनि मतदातामा आशा नरहेको आफूले अनुभव गरेको उनले सुनाए।
'सबै मानिसहरु राजनीतिक रुपमा सचेत भइसके। जनताले राजेन्द्र पाण्डेलाई हामीले चारपटक चुनाव जितायौँ। तर, उहाँले अहिलेसम्म हाम्रो गाउँको लागि के गर्नुभयो भनेर प्रश्न खडा गर्नुहुन्छ। भूमि त्रिपाठी प्रति पनि निराशता जनतामा। राजनीतिक क्षेत्रमा संगठित रुपमा लागेका मानिसहरुमा पनि उदासपन देख्छु। त्यो कारणले गर्दा मेरो जित्ने सम्भावना बढी छ,'हिमेश भन्छन्।
हिमेश आफ्नो जितको आधार थपिएका युवा मतदाता रहेको तर्क गर्छन्।
भने, 'अहिले घरदैलोमा राम्रो प्रतिक्रिया आइरहेको छ। धादिङ क्षेत्र नम्बर १ मा १ लाख ३२ हजार मतदाता छन्। स्थानीय निर्वाचनभन्दा १४ हजार मतदाता थपिएका छन्। ती सबै युवा मतदाताहरु हुन् जसले पनि मेरो जित्ने सम्भावना बढी छ।'
राजनीतिमा लाग्नु अघि हिमेश नेताहरुलाई 'रोस्ट' हान्ने गर्थे। उम्मेदवारी दर्ता अघि पुराना अनुहारलाई 'गधा' को संज्ञा दिँदै अबको निर्वाचनमा घोडा दौडिनुपर्ने बताएका थिए उनले।धादिङका जनताले अहिलेसम्म जिताएर पठाएका जनप्रतिनिधिको काम सन्तुष्ट नभएको उनको मत छ। त्यसैले अब राजनीतिमा 'घोडा' नै बन्न आएको उनले सुनाए।
'अहिलेका युवाहरु जोसँग क्षमता, आँट र साहस छ उनीहरु घोडा हुन जस्तो लाग्छ। जसकारण मलाई जितेपछि घोडा बन्न सक्छु भन्ने पुरा विश्वास छ। त्यसैले नै मेरो उम्मेदवारी हो,' उनले सुनाए।
यसअघिका जनप्रतिनिधिलाई लक्षित गर्दै उनले थप भने, ' मैले यति बजेट ल्याउन सक्छु भन्छन्, त्यो बाहेक अरु कुनै कुरा हुँदैन। बजेटलाई कसरी व्यवस्थापन गर्ने कुरा गदैनन्। शिक्षा, स्वास्थ्य, यातायात, कृषि समस्या छ, बेरोजगार पनि बढेका छन्। मानिसहरु स्वार्थी भएका छन् आफ्नो घरसम्म पिच गर्ने अरुको चाँहि मतलब नै नगर्ने।'
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन लडिरहेका हिमेश पार्टी सभापति रवि लामिछानेको 'क्रेज' ले भन्दा पनि धादिङका जनताले परिवर्तन चाहेकोले आफू जित्नेमा आशावादी भएको सुनाउँछन्। स्थानीय तह निर्वाचनमा काठमाडौंमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङको जितले गाउँसम्म सकारात्मक प्रभाव परेको उनको बुझाइ छ।
'क्षमता भएका युवाहरु आउने हो भने अब देश विकास सम्भव छ। मेरो एकजना प्रतिस्पर्धी मेरो हजुरबा सरहको हुनुहुन्छ एकजना बुवासरहको छु। यो तीन पुस्ताको प्रतिस्पर्धा हो। तर त्यहाँका नागरिकले बुझेका छन् कि कसलाई भोट हाल्नुपर्छ भनेर,' उनले भने।
राजनीतिमा आउने उर्जा स्थानीय तह निर्वाचनको परिमाणले पाएको बताउने उनी काम गर्ने नियत पनि आवश्यक रहेको बताउँछन्।
'भित्रैबाट काम गर्ने नियत हुन जरुरी छ। किनभने कसैसँग विचार होला, समाजलाई बुझेको होला तर काम गर्ने नियत छैन भने देश विकास कसरी हुन्छ?,' उनले प्रश्न गरे।
त्यसैले अहिले बिहानैबाट घरदैलो गरिरहेका हिमेश मंसिर ४ को निर्वाचन आफ्नो क्षेत्रका मतदातालाई एउटा सुनौलो अवसर भएको बताउँछन्।
भन्दैछन्, 'विचार पुर्याएर भोट हाल्नुहोला। एउटा भोटले भावी पुस्ताको भविस्यसँग जोडिएको हुन्छ।'
घरदैलोमा उनलाई धेरैले कमेडियनकै रुपमा हेरेका छन्। तर, उनी आफ्नो छुट्टै पहिचान स्थापित गर्ने प्रयास गरिरहेको बताउँछन्।कमेडी क्षणिक हुने बताउने उनी विकासको कुरा दीर्घकालिन महत्वको भएको भन्दै मत माग्दैछन्। अनि, अघिल्तिर उभिँदा हाँस्ने दर्शक बाहेक फरक झुण्ड हेर्न चाहने हिमेशको अघि अहिले आशा र भरोसा बोकेर हेरिरहेका मतदाता छन्। के तिनलाई हिमेशले सन्तुष्ट बनाउँला सक्लान् ?