PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

यी १० स्टार खेलाडी जो आफ्नो टिम क्वालिफाई नहुँदा गुमाउनेछन् कतार विश्वकप



पहिलोपोस्ट

यी १० स्टार खेलाडी जो आफ्नो टिम क्वालिफाई नहुँदा गुमाउनेछन् कतार विश्वकप
Photo: Thaier Al-Sudani/Reuters

फुटबलको सबैभन्दा ठूलो इभेन्ट हो विश्वकप, जुन १६ दिनपछि कतारमा हुँदैछ।

यो महाकुम्भमा फुटबलका ठूला स्टारहरूले उत्कृष्ट प्रदर्शन गरेर आफ्नो नाम अझ चम्काउनेछन् र आफ्नो टिमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्नेछन्। साथै, प्रशंसकहरूलाई पनि मंत्रमुग्ध गर्नेछन् भन्ने सबैको आशा छ।

तर, नोभेम्बर २० बाट सुरु हुने यस वर्षको इभेन्टमा फुटबल जगतका केही ठूला सुपरस्टारहरूले आफ्नो प्रदर्शन देखाउन पाउने छैनन्।

२११ फिफा सदस्य राष्ट्रहरूमध्ये ३२ ले मात्र विश्वकप २०२२ मा स्थान बनाउन सक्षम भए। जसमा नर्वे, इजिप्ट र इटाली जस्ता टोली क्वालिफाइ हुन असफल भएपछि अर्लिङ हालान्ड, मोहम्मद सलाह र जियानलुइजी डोनारुम्मा जस्ता खेलाडीहरूको विश्वकप खेल्ने सपना चकनाचुर भएको छ।

यी हुन् टिम क्वालिफाई नहुँदा विश्वकप खेल्न नपाउने १० स्टार खेलाडी :

१. अर्लिङ हालान्ड - नर्वे

अर्लिङ हालान्डले १९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए। उनले २३ खेलमा २१ गोल ​गरेका छन्।

यद्यपि, सम्भवतः विश्वकै उत्कृष्ट युवा स्ट्राइकर हालान्डले विश्वकप छनोटमा भने पाँच गोल मात्र गर्न सकेका थिए। नर्वेले आफ्नो १० छनोट खेलबाट १८ अंक जोडेर समूहमा नेदरल्यान्ड्स र टर्कीभन्दा पछि पर्दै तेस्रो स्थानमा रह्यो।

यो सिजन सनसनीपूर्ण फर्ममा रहेका म्यानचेस्टर सिटीका स्ट्राइकर उनले इङ्लिस प्रिमियर लिगमा सबैभन्दा छिटो १५ गोल गर्ने खेलाडी (नौ खेलमा) बनेका छन्।

तर, २०२२ मा गुमेका धेरै अवसरहरू पछ्याउन २२ वर्षीय हाल्यान्डसँग प्रशस्त समय छ।

२. मोहम्मद सलाह - इजिप्ट

इजिप्टका मोहम्मद सलाहले अगस्टमा एक टेलिभिजन च्यानललाई भनेका थिए, ‘विश्वकपका बेला म कतारतिर हुन सक्छु।’

यद्यपि, फुटबल जगतका सबैभन्दा ठूला स्टारमध्येका एक सलाह मध्य पूर्वमा हुन लागेको पहिलो विश्वकपको समयमा मैदानमा भने हुनेछैनन्। उनको देश प्रतियोगिताको लागि छनोट हुन असफल रह्यो।

इजिप्ट र सलाह दुई महिनाको अन्तरालमा दुई पटक सेनेगलविरुद्ध पेनाल्टी सुटआउटमा पराजित भए।

पहिलो हार फेब्रुअरीमा अफ्रिका कप अफ नेसन्सको फाइनलमा भयो। त्यसपछि विश्वकप छनोट प्लेअफ आयो, दुई लेगमा स्कोर बराबर भएपछि त्यो पनि पेनाल्टी सुटआउटमा गयो।

सलाहको किक पोस्टमाथिबाट बाहिरिएपछि इजिप्ट पेनाल्टीमा ३-१ ले पराजित भएको थियो।

रसियामा भएको २०१८ को विश्वकपमा सलाह घाइते भए। र, उनी आफ्नो टोलीलाई समूह चरणबाट माथि लैजान असफल भए।

३० वर्षीय सलाहले अब अर्को विश्वकप खेल्ने प्रयास गर्छन् कि गर्दैनन् हेर्न बाँकी छ।

३. डेभिड अलाबा - अस्ट्रिया

डेभिड अलाबाले आफ्नो आठ अस्ट्रियन फुटबलर अफ द इयर अवार्डहरू बाहेक यो वर्ष तेस्रो पटक अस्ट्रियन स्पोर्ट्स पर्सनालिटीको अवार्ड जिते।

विगत एक दशकमा अस्ट्रियाको उत्कृष्ट फुटबलरको नाम कमाएपनि पूर्व बायर्न म्युनिख डिफेन्डरले हालसम्म विश्वकप खेलेका छैनन्। उनको देश सन् १९९८ यता विश्वकपको लागि छनोट हुन सकेको छैन।

अस्ट्रियाको कप्तानी समेत गरिसकेका ३० वर्षीय अलाबा मार्चमा नेसन्स लिगको प्लेअफ टाईमा वेल्ससँग खेल्दा सुरुवाती-११को हिस्सा थिए। छनोट प्रक्रियामा अस्ट्रियाको १० खेलबाट पाँच जितसहित निराशाजनक दौड कार्डिफमा २-१ को हारपछि समाप्त भयो।

रियल म्याड्रिडका डिफेन्डर अलाबाले अस्ट्रियाका लागि ९६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् भने १४ गोल गरेका छन्।

४. रियाद महरेज - अल्जेरिया

२०१६ मा काफ अफ्रिकन फुटबलर अफ द इयर अवार्ड, २०१६ मा अफ्रिका कप अफ नेसन्स र दुई फरक क्लबहरूबाट प्रिमियर लिग विजेता रियाद महरेज पछिल्ला वर्षहरूमा अफ्रिकाका उत्कृष्ट खेलाडीहरूमध्येका एक हुन्।

फ्रान्समा जन्मेका विङ्गर महरेज अल्जेरियाको २०१४ को विश्वकप टोलीमा थिए। तर, प्रतियोगितामा उनको प्रभाव कम रह्यो। उनको टोली २०१८ को संस्करणमा छनोट हुन असफल भयो। प्लेअफ टाईको अतिरिक्त समयमा क्यामरूनको एक गोलले अल्जेरियाको कतारमा पुग्ने बाटोमा रोकेको थियो।

यसवर्ष कतारमा अल्जेरियाको अनुपस्थितिसँगै महरेजको अर्को विश्वकप खेल्ने आशालाई समाप्त पार्न सक्छ किनकि उनी अबको चार वर्षमा ३५ वर्षको हुनेछन्।

५. मार्टिन ओडेगार्ड - नर्वे

२३ वर्षको उमेरमै क्लब र देशको लागि मैदानमा नेतृत्व गर्ने मार्टिन ओडेगार्डको युवादेखि व्यावसायिक फुटबलको यात्रा द्रुत गति अघि बढिरहेको छ।

नर्वेली फुटबलर ओडेगार्डले १५ वर्षको उमेरमा व्यावसायिक लिगमा डेब्यू गरेका हुन् भने आफ्नो देशको प्रिमियर लिगमा सबैभन्दा कान्छो गोल-स्कोरर बने। त्यसको एक वर्षपछि उनलाई रियल म्याड्रिडले आफ्नो पकडमा लियो। स्पेन र नेदरल्यान्ड्समा ओहोरदोहोर गरेपछि आर्सनलको साथ उनी लन्डनमा स्थिर छन्।

ओडेगार्डलाई उत्कृष्ट युवा प्रतिभामध्येका एक मानिन्छ। उनले १५ वर्षको उमेरमा नर्वेको सिनियर टोलीका लागि सबैभन्दा कान्छो डेब्युटेन्टको कीर्तिमान राख्नु आश्चर्यजनक छ। मिडफिल्डरको रुपमा मैदानमा उनको भिजनलाई निकै प्रशंसा गर्ने गरिएको छ।

यद्यपि, उनको नेतृत्व र प्रतिभा उनको टोलीलाई विश्वकपमा लैजान पर्याप्त रहेन। नर्वे समूहमा तेस्रो बन्यो। ओडेगार्ड, हालान्ड र अन्यको प्रतिभाको साथ पनि नर्वे विश्वकपसम्म नपुग्नु एक आश्चर्यजनक परिणाम थियो।

६. जियानलुइजी डोनारुम्मा - इटाली

जब जियानलुइजी बुफोनले अन्तर्राष्ट्रिय फुटबल छोडे, इटालीलाई उनको उत्तराधिकारी खोज्न समस्या भएन। जियानलुइजी डोनारुम्माले उनको नाम र आदर्शलाई आत्मविश्वासका साथ प्रतिस्थापन मात्र गरेनन्, उनले आफूलाई विश्वको उत्कृष्ट युवा गोलकिपरको रूपमा स्थापित पनि गरे।

डोनारुम्माले २०१५ मा एसी मिलानबाट आफ्नो व्यावसायिक फुटबलमा डेब्यू गरे र अर्को वर्ष सुरुवाती ११ मा आफ्नो स्थान पक्का गरे। २०२१ मा उनी पेरिस सेन्ट-जर्मेनमा गए।

एकातिर बुफोनको करियर सकिँदै थियो भने अर्कोतिर डोनारुम्माले आफूलाई योग्य उत्तराधिकारीको रूपमा स्थापित गर्दै थिए। उनले २०१६ मा भएको एक खेलमा बुफोनलाई प्रतिस्थापन गरे। त्यतिबेला उनी १७ वर्षको उमेरमा इटालीका लागि खेल्ने सबैभन्दा कान्छो गोलकिपर थिए।

इटालीलाई ट्रफी जिताउन महत्वपूर्ण भूमिका खेलेका डोनारुम्मा युरो २०२० च्याम्पियनसिप (२०२१ मा खेलिएको) मा यूईएफए प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए।

इटाली विश्वकपमा छनोट हुन असफल भएसँगै डोनारुम्माले विश्वकपमा डेब्यू गर्न कम्तिमा चार वर्ष कुर्नुपर्नेछ।

७. फ्रान्क केसी - आइभोरी कोस्ट

अफ्रिकाका अन्य स्टारहरूको तुलनामा फ्रान्क केसीको युरोपेली क्लब फुटबलको शीर्ष यात्रा सानै उमेरमा सुरु भएको थिएन।

आइभोरी कोस्टका उनले एटलान्टाको लागि खेल्न इटाली जानु अघि १८ वर्षको उमेरसम्म आफ्नो देशमा क्लब फुटबल खेलेका थिए। इटालीमा उनले एसी मिलानमा सामेल भएपछि आफ्नो छाप छोडे, जहाँ उनले पाँच सिजनमा २२३ खेलमा ३७ गोल गरे। २०२१-२२ सिजनको अन्त्यमा मिलानका लागि अन्तिम गोल गरेपछि केसी ‘फ्यान फेभरेट’ बने।

केसीले मिलान छोडेर बार्सिलोना जाँदा त्यो इटालियन टोलीको लागि ठूलो घाटाको रूपमा हेरिएको थियो। उनले मिलानलाई इटालियन फुटबलको शीर्षमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको अधिकांशको विश्वास थियो।

केसीले १७ वर्षको उमेरमा आइभोरी कोस्टको लागि डेब्यू गरेका थिए। उनले ६० अन्तर्राष्ट्रिय खेलमा सात गोल गरेका छन्।

आइभोरी कोस्ट २०२२ को विश्वकपमा पुग्ने लाइनमै थियो। तर, क्यामरुन विरुद्धको अन्तिम खेलमा पराजित भएपछि क्वालिफाइ हुन असफल भयो। जित वा बराबरीले कतारमा उनको अवतरण निश्चित गर्थ्यो, तर उनको टिमबाट गोल हुन नसकेपछि २१औँ मिनेटको गोलले क्यामरुन क्वालिफाइ भयो भने केसी र उनको टिमको सपना टुक्रियो।

८. लुइस डियाज - कोलम्बिया

ठूला स्टारहरुमध्येका एक तथा २०२१ कोपा अमेरिकाका टप गोल-स्कोरर लुइस डियाज कोलम्बियाली फुटबलको ‘पोस्टर बोइ’ बन्न धेरै समय लागेन। २०१८ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू पछि उनले ३७ खेलमा आठ गोल गरेका छन्।

यद्यपि, डियाजले कतारमा आफ्नो प्रतिभा प्रदर्शन गर्न भने पाउने छैनन्। किनभने कोलम्बिया ‘कोनमिबोल’ स्ट्यान्डिङमा छैटौँ स्थानमा रहँदा कतार २०२२ को लागि क्वालिफाई हुन असफल रह्यो। २५ वर्षीय लिभरपुल विङ्गरले छनोट चरणमा कोलम्बियाको अन्तिम खेलपछि एक ट्विटमार्फत आफ्नो निराशा व्यक्त गरेका थिए।

‘सानैदेखि मैले यो शर्ट विश्वकपमा गर्वका साथ लगाउने सपना देखेको थिएँ। त्यो हासिल गर्न नपाउँदा धेरै पीडा भएको छ। म यो सपनाको लागि लडिरहन चाहन्छु, मेरो तर्फबाट मेरो प्रतिबद्धता छ कि म त्यो लक्ष्य प्राप्त गर्न सबै कुरा छोड्न सक्छु। हामी बदला लिनेछौँ।’

डियाजले आफ्नो सपना पूरा गर्न सक्छन् कि सक्दैनन् भन्ने हेर्न अझ चार वर्ष कुर्नु पर्नेछ।

९. मार्को भेराट्टी – इटाली

सन् २०११-१२ मा इटालियन दोस्रो डिभिजनको उत्कृष्ट खेलाडी घोषित भएपछि मार्को भेराट्टीलाई विश्वका उत्कृष्ट मिडफिल्डरमध्येको एक मानिन्छ। त्यसपछिको अर्को सिजनमा पीएसजीले उनलाई लियो, अनि लगत्तै लिग वानमा उनी उत्कृष्ट युवा खेलाडी घोषित भए।

क्लब फुटबलमा उदाएपछि भेराट्टीले २० वर्षको उमेरमा इटालीको लागि आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरे। तर, चोट र २०१४ को विश्वकप तथा यूरो २९१६ मा इटालीको खराब प्रदर्शनले उनलाई शीर्ष अन्तर्राष्ट्रिय खेलबाट टाढा राख्यो।

युरो २०२० मा इटालीको विजयी दौडको लागि रोबर्टो मानसिनीको मिडफिल्डमा भेराट्टी मुख्य अंग थिए। सो क्रममा उनको ९३ प्रतिशत ‘पासिङ एक्युरेसी’ थियो।

उत्तरी म्यासेडोनियासँग इटालीको हारले भेराट्टी र उनका सहकर्मीलाई कतारबाट टाढा राख्नेछ।

१०. भिक्टर ओसिमहेन - नाइजेरिया

भिक्टर ओसिमहेन नाइजेरियाका एक होनहार युवा स्ट्राइकर हुन्। उनी फिफा यु-१७ विश्व कप २०१५ को गोल्डेन बुट विजेता पनि हुन्। त्यस्तै, सिरी एमा उनी नेपोलीको स्ट्राइकर पनि हुन्।

लागोसका २३ वर्षीय ओसिमहेनले २०२० यता क्लबका लागि ६८ खेलमा ३० गोल गर्दै आफूलाई इटालियन फुटबलको शीर्ष स्ट्राइकरहरूमध्ये एकको रुपमा स्थापित गरिसकेका छन्। इटालीमा खेल्नुअघि ओसिमहेनले बुङ्डेसलिगामा वोल्फ्सबर्गको लागि ​​खेलेका थिए।

यू-१७ विश्वकपमा नाइजेरियालाई कीर्तिमानी पाँचौँ पटक ट्रफी जिताउन १० गोल गरेसँगै उनी चर्चामा आएका हुन्। सिनियर टिमबाट डेब्यू गरेदेखि ओसिमहेनले २२ खेलमा १५ गोल गरेका छन्।

२०२२ विश्वकपको लागि क्वालिफाई गर्न नाइजेरिया असफल भएसँगै ओसिमहेन फुटबलको सबैभन्दा ठूलो इभेन्टमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरबाट बञ्चित भएका छन्। यद्यपि, समय उनकै पक्षमा छ। पक्कै पनि उनले अर्को विश्वकप खेल्ने मौका पाउनेछन् यदि उनको टोली क्वालिफाई भयो भने।

अलजजिरामा प्रकाशित सामग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell