PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ट्वीटरले ‘ब्लू-टिक’का लागि लिन थाल्यो ७.९९ डलर मासिक शुल्क



पहिलोपोस्ट

ट्वीटरले ‘ब्लू-टिक’का लागि लिन थाल्यो ७.९९ डलर मासिक शुल्क
Photo: NURPHOTO

ट्वीटरले प्रयोगकर्ताहरूलाई ‘ब्लू-टिक’ प्रमाणीकरणका लागि ७.९९ डलर मासिक शुल्क लिन सुरु गरेको छ। कम्पनीलाई संसारकै धनी व्यक्ति इलोन मस्कले अधिग्रहण गरेसँगै महत्त्वपूर्ण परिवर्तनको रुपमा यो सेवा सुरु भएको हो।

ब्लू-टिक प्रमाणीकरण प्रणाली सुरुवातमा प्रयोगकर्ताहरूलाई प्लेटफर्ममा सरकारी व्यक्तित्वहरू, खेलकुद स्टारहरू, मनोरञ्जनका व्यक्तिहरू, पत्रकारहरू, ब्रान्डहरू र संगठनहरूलगायत आधिकारिक र प्रभावशाली व्यक्तिहरू पहिचान गर्न मद्दत गर्ने हिसावले डिजाइन गरिएको थियो।

तर, शनिवार ट्वीटरले एप्पल आईओएसको अपडेटमा प्रिमियम ‘ट्वीटर ब्लू’ सेवामा ‘साइन अप’ गर्ने कुनै पनि प्रयोगकर्ताहरूले ‘ब्लू-टिक’ पाउने बताएको छ।

हाल बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डमा उपलब्ध यो अपडेटमा भनिएको छ : यो सेवामार्फत ‘तपाईंहरुले सेलिब्रेटीहरू, कम्पनीहरू र राजनीतिज्ञहरूले जस्तै ब्लू-टिक प्राप्त गर्नुहुनेछ।’

‘चाँडै आउने’ प्रतिज्ञा गरिएका अन्य सुविधाहरूमा आधा मात्रै विज्ञापनहरू देखिने, लामो भिडियोहरू पोस्ट गर्ने मिल्ने र प्लेटफर्ममा पोस्ट गरिएको सामग्रीको लागि प्राथमिकता श्रेणी समावेश छन्।

मस्कले प्लेटफर्मको ४४ बिलियन डलर टेकओभर पूरा गरेपछि ट्वीटरको आम्दानी स्रोतहरूमा विविधीकरण ल्याउने र कम्पनीको लागत घटाउने लक्ष्य राखेको देखिन्छ।

यसको साथै कम्पनीले शुक्रवारबाट व्यापक रुपमा विश्वभरका कर्मचारी कटौती समेत सुरु गरिसकेको छ। कम्पनीका विश्वभर रहेका ७,५०० भन्दा बढी कर्मचारीमध्ये आधालाई हटाइने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell