अस्ट्रेलियामा जारी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न समूह २ को खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ। एडिलेड स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले बंगलादेशमाथि ५ विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। बंगलादेशका लागि नजमुल हुसैन सान्टोले सर्वाधिक ५४ रन बनाउँदा अफिफ हुसैनले अविजित २४, सौम्य सरकारले २० तथा लिट्टोन दासले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। बंगलादेशलाई सामान्यस्कोरमा समेट्न शाहीन शाह अफ्रीदीले सर्वाधिक ४ विकेट लिँदा शादब खानले २ तथा हरिस रउफ र इफ्तिकार अहमेदले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १८.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाउँदा मोहम्मद हरिसले ३१, बाबर आजमले २५ तथा शान मसूदले २४ रन बनाए। बलिङतर्फ बंगलादेशका नसुम अहमेद, शकिव अल हसन, मुस्तफिजुर रहमान र इबादत हुसैनले समान १ विकेट लिए पनि पाकिस्तानलाई रोक्न सकेनन्।
हारसँगै बंगलादेश विश्वकपबाट बाहिरिएको छ भने पाकिस्तानले सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह १ बाट न्युजिल्याण्ड र इङ्ग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेकोमा समूह २ बाट भारत र पाकिस्तानले स्थान सुरक्षित गरेको हुन्। समूह २ को विजेता र उपविजेताको निर्क्योल भने जारी भारत र जिम्बावेबीचको खेलको नतिजाले निर्धारण गर्नेछ।