काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मंसिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने दाबी गरेका छन्।
आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा महतले भने, 'लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ।'
विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थालेको भन्दै उनले जनताले शेरबहादुर देउवा नेतृत्वकै सरकार चाहेको उनले बताए।
'प्रतिगामी विभिन्न बहानामा सल्बलाउने जस्तो देखियो र नेपाली जनताले नै वर्तमान सरकारको चाह गरेका हुन्। अब पनि संविधानको रक्षा र देशको विकास गर्नु छ, हाम्रो यही दायित्व बहन गर्न कांग्रेस नेतृत्वको सरका आवश्यक हो,' उनले भने।
महतले आसन्न निर्वाचन सबैका लागि कोसेढुङ्गा सावित हुने पनि बताएका छन्। निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्नेमा जोड दिँदै उनले वर्तमान सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने दाबीसमेथ गरे।
'यो निर्वाचनमा स्पष्ट बहुमत कांग्रेसको पक्षमा आउँछ र कांग्रेसकै नेतृत्वमा सरकार पनि बन्छ,' उनले भने, 'हिजो संसद्मा नेपाली कांग्रेस थोरै सिटका साथ उपस्थित थियो र पनि नेपाली जनता तथा कांग्रेसबाहेकका अन्य पार्टीले कांग्रेसकै नेतृत्वको अपेक्षा गरे भने अबको चुनावपछि त कांग्रेस पहिलो पार्टी नै बन्ने निश्चित छ।'