PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मतको मूल्य नगदमै, उधारोमा होइन ! चुनाव बन्दैछ एक लेनदेन



पहिलोपोस्ट

मतको मूल्य नगदमै, उधारोमा होइन ! चुनाव बन्दैछ एक लेनदेन

  • सविन ढकाल/प्रकाश भण्डारी -

नवलपरासी : पश्चिम नवलपरासीको भुताहामा मध्याह्नतिर मौसम तात्दै थियो। सडकमा राजनीतिक दलका गतिविधिले अलग्गै रौनक। देखिएका र नदेखिएका अनुहारहरु नेताका रुपमा उदाइरहँदा बजार क्षेत्रमा चर्चा परिचर्चा पनि उत्तिकै। मुखैमा आएको निर्वाचन केन्द्रित हुँदै नेताको भाषण र जनतालाई दिने प्रतिबद्धता सुन्नको लागि भेला हुँदै थिए स्थानीय।

त्यही भिडमा उमेरले ७० वर्ष काटेका नरबहादुर मगर जीवनको अर्को निर्वाचनलाई नजिकबाट हेर्दै थिए। कालो भादगाउँले टोपी त्यसमा दुई सिरुपाते खुकुरी। पञ्चायतदेखि लोकतन्त्रसम्मको निर्वाचन देखे भोगेका उनका लागि आसन्न चुनाव एक अर्को पान्नामात्र। चुनावको माहोलमा यिनको 'मुड' चोर्न मन लाग्यो। हामीले नरबहादुरलाई सोध्यौं - चुनावमा कसलाई भोट हाल्ने त यसपाला?

भोट गोपनीयताको विषय। जवाफ आउन पनि सक्थ्यो। नआउन पनि। कुनै दबाब र प्रभाव आवश्यक थिएन। ढल्केको उमेर जस्तै पुरानो चश्मा खोलेर सिसा पुछे उनले। अनि दिए जवाफ। उनले सोझै उम्मेदवारको नाम तोकिदिए।

उसैलाई किन मत त? हामीले प्रश्न गर्नै परेन। नरबहादुरले प्रष्ट शब्दमा भने, 'उसले पैसा दिन्छ।'

काठमाडौंको चुनावी राजनीतिलाई हेरिरहेका हामीलाई मतदाताले सहजै 'पैसा दिनेलाई मत दिने' मतदाताको अभिमत रोचक लागिरहेको थियो। त्यसो त नेताले पैसामा भोट किन्छन् भन्ने स्थापित विषय नै हो। यहाँ त्यही धारणा पुनर्स्थापित बनिरहेको थियो। चुनाव यसै पनि महँगिदो छ। पाँच वर्षका लागि चुनिँदा ५ दिनको भोज त सामान्य नै बनिसकेको छ। नरबहादुरले त हामीसँग नगदकै कुरा गरे जिन्सी होइन।

७० काटेका नरबहादुरको लागि भोट र नोट नौलो विषय रहेनछ। त्यसैले यसपाला पनि उनको मत नोटसँगै साटिँदैछ।

'उनले चार/पाँच हजार रुपैयाँ दिन्छन्। त्यसैले अहिले पनि उनैलाई भोट दिने हो। काम पनि राम्रै गरेका छन्,' नरबहादुरले भने।

नरबहादुरका कुरा प्रष्ट छन् - नेताले उम्मेदवारी लिन ठूला नेतालाई रकम बुझाएका छन्। टिकट दिनेले रकम लिन हुन्छ भने मत दिनेले किन नलिनु?

विकासका एजेन्डा बोकेर कति जनाले चुनाव जितेका छन् त मुलुकमा? नरबहादुरले हाकाहाकी उधारोमा होइन, नगदमै कारोबार गर्ने बताएपछि हामीसामु उब्जिएको प्रश्न।

त्यहीँ नजिकै एकअर्का अधवैशे पनि थिए - हेर्दा खाइलाग्दा। यिनले नरबहादुरले जति चुनाव त भोगेका रहेनछन्। तर, नरबहादुरभन्दा फरक मत पनि रहेनछ उनमा।

'जसले पैसा दिन्छ उसैलाई हाल्ने। यहाँ पैसाबिना केही चल्दैन,' उनले यसो भनिरहँदा कुनै हिच्किचाहट देखिएन।

नरबहादुरले केही हजारको कुरा गरिरहँदा यिनले चाहिँ लाखकै आँकडा पेश गरे।

चुनावी अभियानका क्रममा हामीले जसलाई भेटिरहेका थियौं ती पेटी ठेकेदारका रुपमा पोखरीमा जाल थापेर बसेका माझी झै हुन् भन्ने बुझ्न कठिन भएन। लाखको दाबेदारी पेश गर्न उनले 'भोट बैंक' नै होल्ड गरिरहेको भन्न भ्याए।

कानुन त राजनीतिक दलबाट उम्मेदवार बन्न रकम बुझाउन मिल्दैन। मत किनबेच पनि गर्न हुँदैन। व्यवहारमा यी दुवै कुराको औचित्यहीन बनिरहेका छन् भन्ने बुझ्न कठिन पनि छैन।

निर्वाचन आयोगले कुन क्षेत्रका उम्मेदवारले कतिसम्म चुनावी खर्च गर्न पाउने सीमा तोकेको छ। त्यति गरेपछि आयोगको काम सकियो। नगद र भोटको राजनीति देहात बस्तीको कथा होइन – शहरी क्षेत्रमै सामान्य बनिरहँदा निर्वाचन आयोग चाहिँ कुनै एक उम्मेदवारलाई 'ठेगान' लगाउने मुडमा छ। अनि मिडियालाई तह लगाउने जिम्मेवारी पनि काँधमा बोक्दैछ। सायद, आयोगको नेतृत्त्वलाई चर्चा पाउने काम गर्ने रहर छ, आफ्नो जिम्मेवारी भन्दा।

पैसासँग मत साट्ने एक मतदाताको भनाई हामीलाई निक्कै पेचिलो लाग्यो। उनले भनेका थिए, 'एउटा सिफारिस लिँदा समेत जितेकालाई पैसा बुझाउनु पर्छ। त्यतिखेर बुझाउनुपर्छ भने अहिले हामीले किन नलिने?'

उनको भनाईले प्रष्ट बनायो - चुनाव एक लेनदेन हो।

भोजदेखि नोटसम्मले निर्वाचन कति महँगो छ बुझ्न कठिन भएन। नोटवाला नेताहरु नै तर्सिएका छन् चुनावको खर्च देखेर। भोज र नोट नै बाँडेर चुनावी अभियानमा जुटेका उनीहरुमा यसबारे विज्ञता हुने भयो नै।

नवलपरासी त्रिवेणीधाम नजिकै भेटिएकी पार्वती पौडेलको भनाइ भने अरुभन्दा फरक थियो। आफ्नो निर्वाचन क्षेत्रमा अरु दलको प्रभाव भए पनि भोट चाहिँ राजनीतिक आस्था बोकेकै पार्टीका उम्मेदवारलाई दिने उनको भनाइ थियो।

'अरूले के गर्छन् भन्ने होइन। मलाई मन पर्ने पार्टीलाई नै भोट दिने हो,' उनले भनिन्।

महँगिदो चुनावको मार यतिखेर सबै दलका नेताहरुले भोगिरहेकै छन्। चुनाव महँगो भएको गुनासो पनि उनीहरुबाटै आउने गर्छ। यसरी खर्चिलो बन्नुमा दोष त तिनै नेताकै हो जसले पैसाकै लत बसाए।

चितवनमा उम्मेदवार रहेका उमेश श्रेष्ठ धनी उम्मेदवार मध्येका एक हुन्। चुनावी खर्चले उनी पनि आत्तिएको देख्यौं हामीले। 'योग्य मानिस आउनुपर्ने हो चुनावबाट। तर हाम्रा तलदेखिका संरचना नै खर्चिलो भयो,' महँगिदो चुनावबारे उनको प्रतिक्रिया।

मन्त्रीसमेत रहेका श्रेष्ठले चन्दा र अनावश्यक खर्च नउठाउन कार्यकर्तालाई निर्देशन दिएको बताए। 'चुनावलाई महँगो बनाउँदै जाने हो भने यसले थप खराब अवस्था ल्याउँछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell