PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

ओलीको लहडका कारण प्रधानमन्त्री भएँ : देउवा, 'महाकाली नदीमा पुल बनाउन मोदीसँग कुराकानी भएको छ'



पहिलोपोस्ट

ओलीको लहडका कारण प्रधानमन्त्री भएँ : देउवा, 'महाकाली नदीमा पुल बनाउन मोदीसँग कुराकानी भएको छ'

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन्।

आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटकपटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको बताएका हुन्।

'संसद् विघटन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले। संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भङ्ग हुनसक्ने व्यवस्था छैन। त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ।'

वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उनको भनाइ छ।।

'अहिलेको सरकार गठबन्धनको सरकार हो', उनले भने, 'गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ।'

डडेल्धुराका जनताले मत दिएर सहयोग गरेर आफू पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले भित्रिमधेशको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने वाचा गरे।

'पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको छ', उनले भने, 'त्यहाँ सम्भाव्यता अध्ययन गर्छौं, मिले पक्की पुल नभए झोलुङ्गे पुल भए पनि बनाउनेछु।'

उनले माओवादी नेता खगराज भट्ट यहाँबाट निर्वाचन जिते यही गठबन्धन कायम रहे सुदूरपश्चिमको मुख्यमन्त्री बन्नसक्ने पनि बताए। गठबन्धनका डडेल्धुरा प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट उम्मेदवार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell