PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिन्धुली १ को चुनावी रौनक : भिमानका कांग्रेसी उत्साहित, एमाले देखिए निराश



नेत्र तामाङ

सिन्धुली १ को चुनावी रौनक : भिमानका कांग्रेसी उत्साहित, एमाले देखिए निराश

भिमान :  आइतवार दिउँसो साढे ३ बजे सिन्धुलीको भिमान बजार पुग्दा मुख्य हाइवेको चेकपोस्टमा म्यादी प्रहरी खटिएका देखिन्थे। भिमान बजारमा चुनावी रौनक लागिसकेको रहेछ।

घरका भित्ता, रुख र बिजुलीका पोलमा हरियो कलरको 'पम्फ्लेट' टाँसिएका देखिन्थे जताततै - उस्तै पम्फ्लेट थिए ती। दुईटा नमस्कार गरिरहेका फोटो र दुई किसिमको छाप। तिनमा देब्रेतिर श्यामकुमार घिमिरे थिए। उनको छेवैमा रुख छाप थियो। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य घिमिरे सिन्धुली क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार हुन्। अर्को फोटो मातृकाप्रसाद भट्टराईको। भट्टराई क्षेत्र नम्बर १ को क तर्फका उम्मेदवार हुन्। उनको नजिकै गोलाकारभित्रको चिन्ह राखिएको थियो।

चारैतिर कांग्रेस गठबन्धनको उम्मेदवारको प्रचार देखिएपछि केही बेरमै हामीले भेट्यौ - कांग्रेसको सम्पर्क कार्यालय। कांग्रेसको सम्पर्क कार्यालयमा भेटिए २०६४ मा कांग्रेसबाट यस क्षेत्रमा प्रत्यासी बनेका विनोदकुमार गुरुङ। कांग्रेसका पूर्वमहासमिति सदस्यसमेत रहेका गुरुङ भन्दैथिए, 'कांग्रेसले चुनाव जित्छ। स्थानीय तहको आधारमा १५ हजार मतले गठबन्धन अघि भएकोले जित निश्चित छ।'

उनको भनाइमा सही थापे कांग्रेस महासमिति सदस्य गोविन्दप्रसाद पहाडीले। 'केन्द्रमा पहुँच राख्ने व्यक्ति,स्थानीय स्तरमा विकासमा खट्ने व्यक्ति भएकोले कांग्रेसमा कुनै द्विविधा छैन,' पहाडीले भने।

कांग्रेसको सम्पर्क कार्यालय भरिभराउ थियो। प्रचार आक्रामक रहेको कार्यकर्ताहरु बताउँदै थिए। '२५ गते त प्रचारको कार्यक्रम सबै सकिन्छ,' एक कार्यकर्ताले भने। आइतवार भने प्रतिनिधि सभाका उम्मेदवार घिमिरे तीनपाटन गाउँपालिकाको तिल्पुङ पुगेका रहेछन्।

भिमान क्षेत्रमा कांग्रेसको सम्पर्क कार्यालय देखेपछि एमालेको पनि सम्पर्क कार्यालय होला नि भनेर हामीले खोज्यौ। चेकपोस्ट नजिकै मुल सडकको केही तल भेटियो एमालेको सम्पर्क कार्यालय।

सम्पर्क कार्यालय सुनसान देखिन्थ्यो। केही समयपछि त्यहाँ आइपुगे जहानसिंह कार्की। कार्की वडा कमिटीका प्रमुख रहेछन्। हामीले कार्कीलाई सोध्यौ - यहाँ त कांग्रेसको पोस्टरमात्र देखिन्छ। एमालेको प्रचार देखिएन नि?

जवाफमा उनले भने : हामी भोलिबाटै टास्छौं। 

कांग्रेस कार्यकर्ताले जसरी आफ्नो उम्मेदवार जित्छ भनेर दाबी गर्दैथिए उनको पनि आफ्नै उम्मेदवार जित्नेमा दाबी रह्यो। 'प्रतिनिधि सभामा प्रदीप कटुवालको जित स्योर छ,' कार्कीले भने। यस क्षेत्रमा कांग्रेसका घिमिरेका प्रतिस्पर्धी हुन् कटुवाल। 

कांग्रेसमा असन्तुष्टको खेलले एमालेलाई फाइदा हुने कार्कीको दाबी थियो। यसो त उनले कांग्रेसका घिमिरेलाई 'टुरिस्ट' उम्मेदवारको ट्याग लगाउनसमेत भ्याए। भने, 'घिमिरे टुरिस्ट उम्मेदवार हुन्। त्यसैले यहाँका स्थानीय कांग्रेसले मन पराउँदैनन्। यो पनि एमालेलाई प्लस प्वाइन्ट हो,' उनी भन्दै थिए।

कुराकानी जारी रहँदा बोलेरो गाडीमा चुनावी गीत घन्काउँदै आइपुग्यो। यसपालीको चुनावमा घण्टी बजाउने -घण्टी चिन्हको तीन वटा झन्डा र एउटा राष्ट्रिय झण्डा गाडीको माथि फरफराउँदै विस्तारै गुड्दै गरेको गाडीबाट बजेको गीत सुनिन्थ्यो। यस क्षेत्रमा मेनुका ठकुरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेछिन्। उनको खासै प्रभाव नरहेको स्थानीयले बताए।

उक्त गाडी अघि बढेपछि हामीले कुराकानी जारी राख्यौं।

तर गठबन्धनको मत त धेरै छ। स्थानीय तहहरु पनि गठबन्धनले नै जितेको छ नि?

हाम्रो प्रश्न खस्न नपाउँदै कार्कीले भने - स्थानीय निर्वाचनमा टिकट नपाउँदा एमालेमा केही असन्तुष्ट बनेका थिए। त्यसैले यस्तो भएको हो। यो त संघ र प्रदेशको निर्वाचन हो। त्यसबेलाको माहोल र यो बेलाको माहोल फेरिएको छ।

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीको माडीबजारमा भेटिएका एमाले जिल्ला कार्यालयका कार्यालय सचिव एमालेका कटुवाल जित्नेमा ढुक्का देखिए। थिङ भन्दै थिए, 'कांग्रेस र माओवादीमा शतप्रतिशत मत आदानप्रदान हुँदैन। त्यसैले जित्ने एमालेले नै हो। गठबन्धनमा तीव्र असन्तुष्ट छ।'

एमालेभित्र असन्तुष्टि के, कांग्रेसमा के गडबढी?

सिन्धुलीको सिन्धुलीगढीबाट भिमान नपुग्दैको बजार क्षेत्र करकरेमा भने एमालेको झण्डा प्रशस्तै देखिन्थ्यो। एमालेका उम्मेदवारले जित्ने भने पनि प्रचारमा भने तालमेल नमिलेको त्यहाँका एक स्थानीय कार्यकर्ता बताउँदै थिए, 'चुनावी माहोल र प्रचार अलि मिलिरहेको छैन। हामीलाई पनि ठीक लागिरहेको छैन।' 

यस क्षेत्रबाट प्रदेश क मा उम्मेदवार रहेका सुवाष देवकोटा केही असन्तुष्ट हुनसक्ने उनको अनुमान रह्यो। संघको लागि सिफारिमा परेका सुवाष प्रदेशमा झरेपछि चुनावको प्रचारमा केही कमी भएको उनको दाबी रह्यो। त्यसो त एक कांग्रेसी कार्यकर्ता पनि घिमिरेलाई कांग्रेसीले नै नसघाउने बताउँदै थिए। नाम उल्लेख नगर्ने शर्तमा ती कार्यकर्ता भन्दैथिए, 'प्रेमचन्द्र दाहाल, मोहन बरालहरु असन्तुष्ट छन्। हेरौ के हुन्छ?'

के होला परिचित प्रतिद्वन्द्वी भिडन्त?

घिमिरे र कटुवाल दुवै परिचित प्रतिद्वन्द्वी हुन्। २०७४ को चुनावमा प्रदेशसभामा भिडेका थिए दुवै जना। त्यसबेला यही निर्वाचन क्षेत्रको प्रदेशसभा (ख)मा एमालेका कटुवालले १६ हजार ६१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका घिमिरेले ११ हजार ९५५ मतमात्र पाएका थिए। घिमिरे र कटुवाल एक तह बढेर प्रतिनिधिसभाका लागि चुनावी भिडन्तमा उत्रिएका हुन्।

अघिल्लो चुनावमा कटुवाललाई सघाएको माओवादी अहिले घिमिरेतिर उभिएको छ। त्यतिमात्र हैन एमालेबाट चोइटिएको एकीकृत समाजवादी र जनमोर्चाको मत पनि घिमिरेले पाउने देखिन्छ। सिन्धुली–१ को वडागत मतमा कांग्रेसको २९ हजार ८९ मत छ भने एमालेको २८ हजार ६२०। त्यसगरी माओवादीको १३ हजार ३६९ मत रहेको छ। यस क्षेत्रमा एकीकृत समाजवादीको मत निकै कम रहेको देखिन्छ। जिल्लाको दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र कमलामाई नगरपालिकाको ९, १३ र १४ नम्बर वडा गरी यहाँ जिल्लाको ४१ वटा वडा पर्छन्। 

२०७४ को चुनावमा यस क्षेत्रबाट एमालेका गणेश पहाडी निर्वाचित भएका थिए। पहाडीले ३२ हजार ५ सय २९ मत पाउँदा कांग्रेसका प्रेमचन्द्र दाहालले २२ हजार ३ सय ८९ मत मात्र पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell