
ट्वीटरका सीईओ इलोन मस्कले अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू ‘स्थायी रूपमा सस्पेन्ड’ गरिने बताएका छन्। स्पष्ट रूपमा ‘प्यारोडी’ भनेर निर्दिष्ट नगरी अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू हटाइने उनले बताए।
‘पहिले हामीले सस्पेन्सन हुनुअघि चेतावनी दिन्थ्यौँ, तर अब हामीले व्यापक प्रमाणीकरण ल्याएसँगै, कुनै चेतावनी दिइनेछैन,’ उनले आइतवार ट्वीटमा भनेका छन्।
कुनै पनि तवरमा नाम परिवर्तन गरे प्रयोगकर्ताले ‘भेरिफाइड चेकमार्क’ अस्थायी रूपमा गुमाउने समेत उनले बताए।
आइतवार साँझ आफ्नो नाम इलोन मस्कको नाममा परिवर्तन गर्ने धेरै अकाउन्टहरूलाई ट्वीटरले सस्पेन्ड गरेको छ। जसमा अमेरिकी हास्य कलाकार क्याथी ग्रिफिन र अस्ट्रेलियाको व्यंग्यात्मक वेबसाइट द चेजरलगायत रहेका छन्।
मस्क यसअघि ट्वीटरमा गरिने स्थायी प्रतिबन्धको विरोधमा थिए।
हालका प्रतिबन्धको रक्षा गर्दै मस्कले आफू अझै पनि वाक स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन्।
७.९९ डलरको मासिक शुल्कसहित ‘ब्लू-टिक’को योजनाबद्ध रोलआउटको बारेमा आएका अनिश्चितताका बिचमा यस्ता नीति आएको हो। यो नयाँ सुविधा ‘ट्वीटर ब्लू’को फिचर हो।
तर, प्रयोगकर्ताहरूले प्रमाणिकरण किनेर राजनीतिक व्यक्तित्वको रुपमा चुनावी भ्रम छर्न सक्ने चिन्ताका बिच ‘ट्वीटर ब्लू’को नयाँ सुविधा अमेरिकी मध्यावधि चुनावपछि सम्मको लागि सारिएको न्यूयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ।
ट्विटरका ७ हजार ५०० कर्मचारीमध्ये आधाको कटौती गरिएको रिपोर्टले उत्पन्न संकटका बिचमा ट्वीटरमा ईन्जिनियरिङ टोलीहरूले तीव्र गतिमा नयाँ सुविधाका फिचरहरुमा काम गरिरहेका छन्।
कामबाट हटाइएका दर्जनौँ कर्मचारीलाई फिर्ता बोलाइएको आइतवार राति आएका रिपोर्टहरूमा उल्लेख गरिएको थियो। उनीहरूलाई या त गल्तीले हटाइएको या मस्कले चाहेका नयाँ सुविधाहरू निर्माण गर्नको लागि महत्त्वपूर्ण रहेको कम्पनीले महसुस गरेको हुनसक्ने बताइएको छ।