PahiloPost

Nov 5, 2024 | २० कात्तिक २०८१

गिरिजाप्रसादको विरासत जोगाउने दाउमा सुजाता, ऋषिले लेलान् अघिल्लो चुनावको हारको बदला?



अनन्तराज न्यौपाने

गिरिजाप्रसादको विरासत जोगाउने दाउमा सुजाता, ऋषिले लेलान् अघिल्लो चुनावको हारको बदला?

विराटनगर : दोस्रो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले सपथ ग्रहण गरेको केही समयपछि पश्चिम जर्मनीको स्थायी बसोबास छाडेर सुजाता कोइराला नेपाल आइन्।

सुजाताले जर्मन नागरिकसित विवाह गरेकी थिइन्। नेपाल फर्किएपछि तत्कालीन बालुवाटारका प्रभावमा उनको नागरिकता फेरि सुजाता कोइरालाका नाममा बन्यो र उनले मोरङमा सक्रिय राजनीति सुरु गरिन्।

सुरुमा उनले आफ्नी आमा सुष्मा कोइरालाले पढाएको विराटनगरको बालिका विद्यालयमा सुष्माका नाममा पुस्तकालय भवन बनाइन्। त्यस बेला २०४९ सालमा पुस्तकालयको शिलान्यास समारोहमा जापान, भारत, जर्मनी लगायतका ६ देशका राजदूत आइपुगेका थिए। बालिका विद्यालयमा पढाइरहेकी आमा सुष्माको मृत्यु २०२४ सालमा स्टोब पड्किएर भएको थियो।

नेपाल फर्किएपछि सुजाताले आमाका नाममा सुष्मा कोइराला मेमोरियल ट्रस्ट खडा गरिन् र यसैका नाममा सामाजिक कामलाई माध्यम बनाएर मोरङको तत्कालीन क्षेत्र नम्बर १ मा राजनीति गर्न थालिन्। यही क्षेत्रबाट उनका पिता अर्थात् गिरिजाप्रसादले २०४८ को आमचुनावमा जित हासिल गरेका थिए।

तर, मोरङको क्षेत्र नम्बर १ उनका लागि सहज भएन। त्यस क्षेत्रमा नोना कोइरालाका बहिने ज्वाइँ आमोदप्रसाद उपाध्यायको हालिमुहाली थियो। उनै आमोदका दबाबमा सुजातालाई क्षेत्र नम्बर १ बाट क्रियाशील सदस्यता समेत दिइएन।

यसपछि खिन्न भएकी सुजाता सुनसरीतर्फ हान्निइन्। उनले सुनसरीको धरानदेखि इटहरी सम्मको क्षेत्रलाई आधार बनाएर राजनीति सुरु गरिन्। सुष्मा ट्रस्टका माध्यमबाट त्यहाँका विपन्न वस्तीमा उनले परोपकारका धेरै काम गरिन्।

पिता गिरिजाप्रसाद परिवारभित्र आफ्नो उत्तराधिकार छोरी सुजातामा सरोस् भन्ने चाहन्थे तर यो क्रम सजिलो भने थिएन। कोइराला परिवारभित्रैकी हेभिवेट शैलजासहित उत्तराधिकारका अन्य आकांक्षीहरू वीपीपुत्रद्वय प्रकाश र डा शशाङ्क अनि डा शेखरसमेत तीव्र प्रतिस्पर्धामा थिए। यही कारणले सुजाताले २०५६ को आमचुनावमा सुनसरीको क्षेत्र नम्बर १ (धरान-इटहरी क्षेत्रमा पर्ने) बाट पाइसकेको टिकटबाट हात धुनु पर्‍यो। उनलाई टिकटबाट वञ्चित गर्न कोइराला परिवारभित्रका उत्तराधिकारका अन्य सबै प्रतिस्पर्धी एकजुट भए। यसपछि सुनसरी क्षेत्र नम्बर १ को राजनीतिबाट सुजाता विमुख भइन्।

यति हुँदा पनि गिरिजाप्रसाद कोइरालाको मोह सकिएको थिएन। पहिलो संविधान सभा २०६४ मा उनले आफूले २०४८ देखि चुनाव लड्दै आएको सुनसरीको क्षेत्र नम्बर ४ मा पुत्री सुजातालाई टिकट दिएरै छाडे। उक्त चुनावमा मोरङको क्षेत्र नम्बर ६ मा डा शेखरले पनि टिकट पाएका थिए। त्यसैले उत्तराधिकारको प्रतिस्पर्धामा सन्तुलन आएको अनुभव गरिएको थियो।

सुनसरी क्षेत्र नम्बर ४ मा गिरिजाप्रसादले आफू चुनाव लडुन्जेल यो क्षेत्र नछाड्ने र छाडेपछि यसै क्षेत्रका मुस्लिम समुदायका कुनै वरिष्ठ नेतालाई टिकट दिने वाचा गरेका थिए। यस वाचाका विपरीत सुजाताले टिकट पाएपछि उनका पक्षमा लहर आएन, उनी हारिन्। यो क्षेत्र २०१५ सालमा वीपीदेखि २०४८ देखि ५६ सम्म गिरिजाप्रसादले चुनाव लडेको भूगोलमा पर्छ।

पहिलो संविधान सभामा पराजय भोगेपछि यस क्षेत्रमा सुजाता फेरि गइनन्। यसपछि उनी अस्वस्थ भइन्, उनलाई क्यान्सरले च्याप्यो। अनि चुनाव लड्नुका सट्टा मनोनीत सांसद् हुनुतर्फ उनको आकर्षण बढ्यो। त्यसैले २०७० को दोस्रो संविधान सभा र २०७४ को आमचुनाव उनका लागि फलिफाप सिद्ध भयो। त्यसो त, गिरिजापुत्री हुनुको कारणले पनि धेरै काम गर्‍यो।

डा शेखरले मोरङको क्षेत्र नम्बर ६ रोजिसकेकाका हुँदा बाबु गिरिजाप्रसाद उम्मेदवार भएको तत्कालीन क्षेत्र नम्बर १ र अहिलेको २ मा पस्न सुजातालाई २०७४ देखि नै गाह्रो भएन। तर, यस चुनावमा उनलाई स्वास्थ्यले साथ दिएन। यसैको फाइदा डा मीनेन्द्र रिजालले उठाए। यसमा सुजाताको पनि समर्थन र सिफारिस थियो।

आसन्न मङ्सिर ४ को निर्वाचनसम्म आइपुग्दा सुजाताले क्यान्सरलाई जितिसकेकी छन्। त्यसैले ३१ वर्षअघि २०४९ सालमा छाड्न बाध्य हुनुपरेको मोरङको क्षेत्र नम्बर २ मा उनी उम्मेदवार हुन आइपुगेकी छन्। यस पटक डा मीनेन्द्रलाई टिकटरहित बनाउन सुजाताको सशक्त दाबेदारी अनि प्रधानमन्त्री शेरबहादुरसित मीनेन्द्रको बढ्दो कटुता दुवै मुख्य कारण बने।

पिता गिरिजाप्रसादको बिरासतका आडमा मोरङ २ मा चुनाव लड्न आइपुगेकी छोरी सुजातालाई एमालेका युवा नेता ऋषिकेश पोखरेलले कडा टक्कर दिएका छन्।

पोखरेलले २०७० को दोस्रो संविधान सभामा यसै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका आमोद उपाध्यायलाई हराएका थिए। तर, २०७४ को चुनावमा भने नेपाली कांग्रेसका डा मीनेन्द्रले ऋषिलाई पछारे। ऋषि यही हारको बदला लिन कस्सिएका छन् र सुजाता पिता गिरिजाप्रसादको निरन्तरतालाई कायम राख्न दौडिएकी छन्।

विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका पोखरेल २०५३ सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति थिए। उनी हाल नेकपा (एमाले) मोरङका अध्यक्षसमेत हुन्।

यस क्षेत्रका चुनावी सभामा सुजाताले पिता गिरिजाप्रसादको परम्परा र क्रान्तिकारिताको चर्चा गर्दै उनको सपना पूरा गर्ने उद्देश्यका साथ आफू निर्वाचनमा होमिएको बताइरहेकी छन्।

एमाले उम्मेदवार पोखरेलले भने आफू क्षेत्र नम्बर २ को स्थायी बासिन्दा र रैथाने भएको दाबी गर्दै सुजातालाई टुरिस्ट उम्मेदवार भएको आरोप लगाइरहेका छन्।

स्थानीय तहको गत निर्वाचनमा वडाध्यक्षको मत जोड्दा एमालेले ३१ हजार ३४०, नेपाली कांग्रेसले २८ हजार ६१२ र नेकपा (माओवादी केन्द्र)ले ७ हजार २७१ मत पाएका थिए।

यसअघिको २०७४ को निर्वाचनमा डा मीनेन्द्र ३५ हजार ८१९ मत ल्याएर निर्वाचित हुँदा ऋषिले ३४ हजार १४ पाएका थिए।

मोरङ २ को प्रदेश (क) मा लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गणेश उप्रेती र (ख) मा कांग्रेसका विनोद कार्की उम्मेदवार छन्। त्यस्तै, एमाले बाट (क) मा डीबी कार्की र (ख) मा लीलावल्लभ अधिकारी प्रत्याशी छन्।

यस चुनाव क्षेत्रमा रतुवामाई र सुनबर्सी नगरपालिका, रङ्गेली नगरपालिकाका वडा नम्बर १, २, ३, ८ र ९ तथा पथरी नगरपालिकाका वडा नम्बर ५ र ६ सहित कानेपोखरी गाउँपालिकाका वडा नम्बर १, २ र ३ पर्दछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell