PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

८० अर्ब डलर गुमाएपछि फेसबुकको मूल कम्पनी मेटाले गर्‍यो हजारौँ रोजगारी कटौतीको तयारी



पहिलोपोस्ट

८० अर्ब डलर गुमाएपछि फेसबुकको मूल कम्पनी मेटाले गर्‍यो हजारौँ रोजगारी कटौतीको तयारी
Photo: Terry Schmitt/UPI/Rex/Shutterstock

फेसबुकको मूल कम्पनी मेटाले हजारौँ रोजगारी कटौती गर्ने तयारी गरिरहेको बताइएको छ। गत महिना विश्वव्यापी आर्थिक मन्दीको बिचमा मेटाले ८० अर्ब डलर आफ्नो बजार मूल्य गुमाएपछि रोजगारी कटौती गर्ने तयारी गरिरहेको हो।

रोजगार कटौतीको घोषणा बुधवार गरिने आइतवार वाल स्ट्रीट जर्नलको रिपोर्टमा उल्लेख छ। यसबाट विश्वव्यापी रूपमा मेटाका ८७ हजार कर्मचारीमध्ये हजारौं प्रभावित हुने अपेक्षा गरिएको छ।

मेटाले उक्त रिपोर्टको पुष्टि गर्न अस्वीकार गरेपनि एक प्रवक्ताले मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले गत महिनाको अन्त्यमा गरेको टिप्पणीलाई औँल्याएका छन्।

‘२०२३ मा, हामी हाम्रो लगानीलाई उच्च प्राथमिकताको क्षेत्रमा थोरै संख्यामा केन्द्रित गर्नेछौँ’, उनले भने, ‘त्यस अर्थ केही टोलीहरू अर्थपूर्ण रूपमा बढ्नेछन्, तर धेरै अन्य टोलीहरू स्थिर रहनेछन् वा आगामी वर्षमा संकुचित हुनेछन्। समग्रमा, हामी २०२३ को अन्त्यसम्ममा कि त लगभग उस्तै आकारको वा हालको भन्दा अलिकति सानो संगठन हुनेछौँ।’

जुकरबर्गले कम्पनीको फोकस इन्स्टाग्राम रिल्स, विज्ञापन र यसको मेटाभर्स अन्वेषणको प्रवर्द्धन हुनेगरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा केन्द्रित हुने बताएका छन्।

कम्पनीको मेटाभर्स डिभिजन, रियालिटी ल्याब्सले विगत तीन महिनामा ३.७ बिलियन डलर घाटा ब्यहोरेको मेटाको रिपोर्टमा उल्लेख छ। र, यी घाटाहरू २०२३ मा पनि उल्लेखनीय रूपमा बढ्ने कम्पनीले बताएको छ।

तर, कम्पनीका ‘प्रयोगात्मक बाजी’ले आगामी वर्षहरुमा मुनाफा कमाउनेमा आफू विश्वस्त रहेको जुकरबर्गले बताएका छन्। ‘समयको साथमा हाम्रो व्यवसायको भविष्यको लागि यो धेरै महत्त्वपूर्ण लगानी हुनेछन्,’ उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell