PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

अमेरिकामा ‘मिड टर्म’ निर्वाचन : डेमोक्रेट बाइडेनले तोड्लान दोस्रो विश्वयुद्धपछिको ट्रेन्ड?



पहिलोपोस्ट

अमेरिकामा ‘मिड टर्म’ निर्वाचन : डेमोक्रेट बाइडेनले तोड्लान दोस्रो विश्वयुद्धपछिको ट्रेन्ड?
Photo : BBC

नोभेम्बर ८ मा अमेरिकामा संसदीय निर्वाचन हुँदैछ। अमेरिकी मतदाताहरुले ‘कंग्रेस’अन्तर्गत हाउस अफ रिप्रिजेन्टेटिभ (तल्लो सदन) को ४३५ सिट र माथिल्लो सदन सिनेटसिटका लागि मतदान गर्नेछन्।

सन् २०२० मा अमेरिकामा राष्ट्रपति निर्वाचन भएको थियो। नयाँ राष्ट्रपतिको लागि निर्वाचन हुनु आधा समयअघि संसदीय निर्वाचन हुने भएकाले अमेरिकामा यसलाई ‘मिड टर्म इलेक्सन’ पनि भनिन्छ। राजनीतिक पण्डितहरु ‘मिड टर्म’ निर्वाचनलाई राष्ट्रपतिले चलाइरहेको सरकारको ‘जनमत संग्रह’को संज्ञा दिन्छन्।

डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जो बाइडेनले अमेरिकाको नेतृत्व गरिरहेको दुई वर्ष भइसक्यो। त्यसैले नोभेम्बर ८ मा हुने निर्वाचन वर्तमान राष्ट्रपतिबारे हुने ‘जनमतखसंग्रह’ भन्दा फरक नपर्ला। ब्यालेटमा बाइडेनको नाम नभए पनि राष्ट्रियदेखि स्थानीय विषयमा मतदाताहरुले मत दिने छन्। जसको प्रभाव बाइडेनलाई आउने दुई वर्षसम्म पर्छ नै। सिनेट र हाउसमा रिपब्लिकनको बहुमत भए बाइडेनलाई संसदमा गाह्रो पर्नेछ। यदि डेमोक्रेटले बहुमत ल्याए बाइडेनले राहतको श्वास फेर्नेछन्।

यसपटकको निर्वाचनलाई बाइडेनको आप्रवासी नीतिबारे ‘जनमत संग्रह’को रुपमा व्याख्या पनि गरिएको छ। आप्रवासीप्रति कडा रुपमा प्रस्तुत भएका ट्रम्पलाई पराजित गरेका बाइडेनले सीमा सुरक्षालाई कमजोर बनाएको आरोप रिपब्लिकनहरुले लगाउँदै आएका छन्।

आफ्नो कार्यकालको पहिलो दिनमै बाइडेनले अमेरिकाको नागरिकता नीतिलाई खुकुलो बनाउने घोषणा गरेका थिए। नागरिकता ऐन, २०२१ अन्तर्गत बाइडेनले १ करोड १० लाख कागजविहीन आप्रवासीलाई नागरिकता दिने बाटो खुकुलो भएको थियो। तर, सो कानुन क्यापिटल हिलमै अड्कियो। र, नागरिकतासम्बन्धी अन्य कानुन पनि संसदबाट पारित हुन बाँकी छ।

आप्रवासीबारे बोल्नै चाहन्नन् डेमोक्रेट

रिपब्लिकनले बाइडेनको नीतिका कारण सीमा सुरक्षा खतरामा परेको, आप्रवासीको खुला आवतजावतका कारण अपराध बढेको लगायतका विषयलाई स्थानीयस्तरमा मात्रै होइन राष्ट्रियस्तरमै उठाएको छ। तर, डेमोक्रेट उम्मेदवारहरु भने आप्रवासीको प्रश्नबाट जोगिएर हिँड्दैछन्।

रिपब्लिकन उम्मेदवारले बढ्दो आप्रवासी समस्या समाधान गर्न सीमामा पर्खाल बनाउनुपर्ने बताइरहेका छन्। बाइडेन अघि ह्वाइट हाउसको ‘कमान्ड’ सम्हालेका राष्ट्रपति ट्रम्पले पनि सीमामा पर्खाल लगाउने बताएका थिए। जसका लागि उनले बजेटसमेत छुट्याए। तर, त्यो सफल हुन सकेन। दोस्रो कार्यकालका लागि लडेका ट्रम्पको पराजयलाई ‘आप्रवासी मुद्दा’सँग पनि जोडेर हेरिन्छ।

ओहिओमा रिपब्लिकनबाट सिनेट उम्मेदवार रहेका टिम र्‍यानले सीमामा पर्खाल लगाए सीमा समस्याको समाधान हुनसक्ने बताएका छन्। एरिजोनामा सिनेटर मार्क केलीले सीमा सुरक्षा बल बढाउनुपर्ने र आवश्यक स्थानमा पर्खाल बनाउन सकिने बताएका छन्।

अमेरिकाको ‘मिड टर्म’ निर्वाचनको इतिहासलाई अध्ययन गर्ने हो भने ‘सिटिङ’ राष्ट्रपतिको पार्टीले संसदीय निर्वाचनमा जहिलै सिट गुमाउने गरेका छन्। काउन्सिल अफ फरेन रिलेसन्सका अनुसार दोस्रो विश्वयुद्धदेखि राष्ट्रपतिको पार्टीले ‘मिड टर्म’ निर्वाचनमा औसतमा २९ सिट हार्ने गरेको पाइएको छ। तर, २००१ को सेप्टेम्बर ११ मा भएको आतंकारी हमला पछि भने सन् २००२ को संसदीय निर्वाचनमा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसको पार्टीले ८ सिट बढी जितेको थियो।

यसपटकको निर्वाचनमा अमेरिकी जनताले दिँदै आएको ‘ट्रेन्ड’ लाई नै निरन्तर चल्नेमा विश्वस्त देखिन्छन् रिपब्लिकनहरु। तर, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको उदय र पतन, कट्टरपन्थी रिपब्लिकन र गर्भपतनको कानुनलाई लिएर ‘ट्रेन्ड’ले निरन्तरता नपाउन सक्ने अनुमान पनि गरिएको छ।

डेमोक्रेट्सहरु भने सिनेटमा बहुमत कायम गर्नेमा विश्वस्त छन्। सिनेटमा डेमोक्रेटहरुले १४ सिट बचाउन लाग्दैछन् भने रिपब्लिकनहरु २१ सिट बचाउने तरखरमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell