PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

जनतालाई ठूला सपना देखाउने पक्षमा छैन : रामचन्द्र पौडेल



पहिलोपोस्ट

जनतालाई ठूला सपना देखाउने पक्षमा छैन : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएको बताएका हुन्।

'देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ। अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो', उनले भने।

वरिष्ठ नेता पौडेलले आफूहरु जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको जिकिर गरे।

'हामी रेल र पानीजहाजका कुरा गर्दैनौं, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौं, जे कुरा गर्छौं त्यो पूरा गर्छौं', पौडेलले भने।

वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए।

'बन्दीपुरको पर्यटन विश्वमाझ प्रख्यात छ, यसलाई थप विकास गर्नेतर्फ हाम्रो ध्यान रहनेछ', पौडेलले भने।

गाउँगाउँमा यातायात, बिजुली पुगे पनि रोजगारी नपुगेको भन्दै पौडेलले अब गाउँमा नै आम्दानी र रोजगारी पुर्‍याउन उद्योगधन्दा स्थापना गरिने दाबी गरेका छन्। देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको हातमा आएको अधिकार बचाउन सबै एकै ठाउँमा उभिएको बताए।

'संविधान बचाउने सवालमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) को कुरा मिल्यो', उनले भने।

गोरखामा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्दा त्यहाँ नेपाली कांग्रेसले र तनहुँमा आफूलाई नेकपा माओवादीले मत हाल्ने पौडेलको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell