
हेटौंडा : मकवानपुर प्रहरीले निर्वाचनलाई प्रभावित बनाउने कुनै पनि क्रियाकलापविरुद्ध कारवाहीमा उत्रने जनाएको छ।
मकवानपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरोधमा भित्तेलेखन सुरु गरेको छ। मकवानपुरका विभिन्न पालिकाहरूमा भित्तेलेखन अभियान सुरु गरेपछि प्रहरीले कारवाही गर्ने चेतावनी दिएको हो। यद्यपि, भित्तेलेखनबारे प्रहरीसम्म कुनै जानकारी आइपुगेको छैन।
जिल्ला प्रहरी कार्यलय मकवापुरका प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीले अहिलेसम्म आफुहरुलाई यस विषयमा जानकारी नभएको बताएका हुन्। तर, जानकारी हुने बित्तिकै कारबाही गर्ने उनले बताए। कार्कीले निर्वाचन विरोधी क्रियाकलाप गर्ने व्यक्ति र आचारसंहिता विपरित गर्ने व्यक्तिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने जानकारी दिए।
नेकपाले मकवानपुरका दशवटै पालिकामा भित्तेलेखन अभियान सुरु गरेको नेकपा जिल्लाका सचिवालय सदस्य विवेक घलानले बताएका छन्।