PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रवि लामिछानेबाट पाएको त्यो 'अल अफ सडन' धोका जसले उमेश श्रेष्ठलाई विकट भूगोलमा लगातार खटिन बनायो बाध्य



पहिलोपोस्ट

रवि लामिछानेबाट पाएको त्यो 'अल अफ सडन' धोका जसले उमेश श्रेष्ठलाई विकट भूगोलमा लगातार खटिन बनायो बाध्य

  • सविन ढकाल/प्रकाश भण्डारी -

'चण्डीभञ्ज्याङमा छु। निक्कै विकट रहेछ। आज भेट्न सम्भव होला जस्तो भएन।'

पहिलो पटक निर्वाचन क्षेत्रको घुमाइका क्रममा उमेश श्रेष्ठ चितवनको दुर्गम भेगतिर पुगेका रहेछन्। न गतिलो बाटो। न विकासका कुनै बलिया पूर्वाधार। उनले पहिलो पटक तिनै दृश्यहरु देखिरहेका थिए जुन सायदकै कल्पना गरेका थिए।

चितवन क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फबाट उम्मेदवार भएपछि उमेश चितवनको पहाडी बेल्टतिर उक्लिएका रहेछन्। त्यहाँका मानिसको अवस्था बुझ्न उनका लागि गज्जबको मौका बनेको छ आसन्न निर्वाचन। र, त्यहाँका एकएक मतको महत्त्व कति छ उनले जति अरुले बुझ्ने कुरा पनि भएन।

हामीसँगको भेट अनिश्चित भएसँगै हामी चितवनका अन्य क्षेत्र र नवलपरासीतिरको यात्रामा लाग्यौं। फर्किँदा उनीसँग हाम्रो भेट हुने तय थियो। भेट्नुका केही उद्देश्य थिए - शिक्षा र अन्य व्यवसायिक क्षेत्रमा बलियो 'दबदबा' कायम गरेका र मन्त्रीको हैसियतमा रहेका उनको पहिलो चुनावी अनुभव अरुभन्दा फरक हुनु स्वभाविक थियो। भोजपुरबाट ललितपुरमा व्यावसायिक जग गाढेपछि चितवनतिर हानिएका उनी दुई चर्चित उम्मेदवारसँग आमने सामनेमा छन् - कृष्णभक्त पोखरेल र रवि लामिछाने। कानुनी पृष्ठभूमि, मृदुभाषी र लगातार जित हासिल गरेका पोखरेल आफैमा बलियो दावेदार हुन्। मिडियाको आडमा रवि एकाएक उदाएका अर्का प्रभावशाली उम्मेदवार।

'अहिले नै आइहाल्नुस् न। फार्म हाउसमा।'

बिजमाण्डू र पहिलोपोस्टसँग भेटका लागि बिहानको ६ बजे नै खबर मिल्यो। नारायणी किनाराबाट हामी लाग्यौं कल्याणपुर तिर।

'उमेश श्रेष्ठको घर कता होला?'

भरतपुर महानगरपालिकाको कल्याणपुरमा पुगेपछि उनको चुनावी अड्डा फेला पार्नु थियो। सजिलो उपाय थियो उनको स्कुलमा जाने र बुझ्ने। चितवनको चर्चित स्मल हेभेन माध्यामिक विद्यालयका सुरक्षा गार्डलाई सोध्यौं। हामीलाई लागेको थियो उमेशको बसाइबारे उनलाई थाहा छ।

विद्यालयका संस्थापकको फार्म हाउसबारे उनलाई थाहा रहेनछ।

'यता नजिकै गाई फार्म भन्ने सुनको छु। ठ्याक्कै त मलाइ पनि थाहा भएन।'

गीता नगरको नवदुर्गा मन्दिर चोकबाट गाई फार्मतिरको बाटो समात्नुपर्ने स्थानीयले सुझाए। गाई फार्ममा चुनावी क्याम्पेनिङको कार्यालय रहेछ।

फार्म हाउसको बाहिरबाटै चारतारे झन्डा, गेट खुला। भित्र छिर्नासाथ देख्यौं - ४/५ वटा गाडी। मानिसको बाक्लै उपस्थिति। उमेशसँग भेटका लागि प्रतीक्षा गर्नेहरु समूह समूहमा। केही मानिस घर अगाडि घाम तापेर गफिँदै गरिरहेका। बरण्डामा अर्को समूह।

मन्त्री भएकाले हुनुपर्छ घर अगाडि राष्ट्रिय झन्डा।

हामी पुगेको जनाउ दियौं। भित्र एउटा समूहसँग उनी छलफलमा व्यस्त थिए। चुनावी रणनीति बनिरहेको थियो सायद।

समानुपातिक सांसद रहिसकेका उमेश श्रेष्ठको राष्ट्रिय पहिचान शिक्षा र सफल व्यवसायीका रुपमा स्थापित छ। ७ हजार भन्दा धेरै विद्यार्थी रहेको लिटल एन्जेल्समा उनी ३० वर्ष प्रिन्सिपल नै रहे। निजी विद्यालयको संगठन प्याब्सनको नेतृत्वमा गएसँगै राजनीतिमा मिलेको 'एक्सपोजर'लाई यसपाला उनले पक्कै चुनावमा प्रयोग गर्नेछन्। प्रत्यक्ष निर्वाचनको पृष्ठभूमिका लागि कांग्रेसको महाधिवेशनदेखि नै उनको तयारी थियो। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा जित निकालेर चुनावी मैदानमा होमिएका हुन् उनी। उनको व्यावसायिक खातामा निजी स्कुलका अलावा होटल, ब्याङ्क, जलविद्युत लगायतका क्षेत्रहरु छन्।

उनको व्यवसायिक हैसियतको चिनारी उनको फार्म हाउसले चित्रित गरिरहेको थियो। बगैँचा, स्विमिङ पुल र त्यहाँको साजसज्जाले उनलाई काठमाडौंसँगै चितवनमा गहिरोसँग स्थापित व्यवसायी भन्ने चिनाइरहेको थियो।

'भिडियो पनि हो? त्यसो हो भने बाहिर नै ठीक होला।'

हामीले उनको स्विमिङ पुल नजिकै रेकर्ड गर्ने योजना बनाएका थियौं, उनले सहजै त्यसमा साथ दिए।

'३२ वर्ष अघि किनेको ठाउँ हो। यो स्ट्रक्चर चाहिँ पछि बदलेको हो,' अन्तर्वार्ताका लागि तयार हुँदैगर्दा नसोधेको प्रश्नको जवाफ मिल्यो।

उनको फार्म हाउसभित्र छिर्दा नै हामीले एउटा स्तरीय रिसोर्टसँग तुलना गरिसकेका थियौं। यस क्षेत्रबाट लगातार जित हासिल गर्दै आएका कृष्णभक्त पोखरेलले हामीसँग भनेका थिए - 'जनताले जतिखेर पनि भेट्न सक्ने नेतालाई भोट हाल्छन्। उहाँहरुलाई भेट्ने कहाँ हो? स्थायी बसोबास कहाँ हो?'

हामीले उनको प्रश्नको जवाफ पाइसकेका थियौं यहाँ पुग्दा। तर, चुनावमा जित निकाल्न उमेश श्रेष्ठसामु चुनौतीका पहाड उत्तिकै छन्। कृष्णभक्तको लगातार जित उनका लागि एउटा तगारो हो भने मिडियाबाट उदाएका रवि लामिछाने अर्को।

'पहिले त अर्को क्षेत्रबाट लड्ने सुनेको थिएँ। तर 'अल अफ सडेन' उहाँ कसरी यो क्षेत्रमा आइपुग्नु भयो थाहा छैन,' उमेशले रविबारे बोले। रवि लामिछाने चितवनको तीन नम्बर क्षेत्रबाट तयारी गरिरहेका थिए। प्रचण्डको नाम पनि तीन नम्बरमै थियो। उमेश त्यसैले दुई नम्बर क्षेत्रमा तयार भएका थिए। तर प्रचण्डले तीन नम्बर छाडेसँगै रवि पनि त्यहाँबाट एकाएक दुई नम्बरमा आइपुगे। उमेशका लागि रविको उम्मेदवारी स्वभाविक रुपमा पनि अप्रत्यासित थियो।

कारण प्रष्ट छ। कोभिड १९ को संक्रमणका समयमा रवि लामिछानेले जनमैत्री अस्पतालमा नि:शुल्क उपचार थाले। रविको उक्त कदमका लागि अस्पताल दिने निर्णय गर्ने व्यक्ति थिए उमेश श्रेष्ठ। आफ्नो लगानीको अस्पताल सुम्पिँदा उमेशले कुनै क्रेडिट पाएनन् तर रवि चम्किए। उमेशको बोलीमा रविको कदम 'अल अफ सडन' त्यसै आएको होइन। रविले तयारी गरेको क्षेत्रमा राप्रपाका विक्रम पाण्डे पनि प्रत्यासी छन्। रविका ससुरा उद्धव पौडेल पनि राप्रपाका नेता भएकाले उनको 'मुभ'लाई पाण्डेको उम्मेदवारीसँग जोडेर हेर्नेहरु पनि छन्। एमालेले यस क्षेत्रमा उम्मेदवारी दिएको छैन।

उम्मेदवारी दिएपछि उमेशले रविसँग सम्पर्क नगरेका होइनन्। तर, अब चुनावमा दुईबिच लड्नुको विकल्प छैन।

हामीले कुराकानी गरिरहँदा फार्म हाउसमा चहलपहल थपिँदै गएको थियो। आउनेलाई व्यवस्थित हिसाबले भेटघाट मिलाउन उनका सहयोगीहरु जुटिरहेका थिए। आएका सबैलाई चिया खाए नखाएको सोध्न पनि भ्याएको देख्दा हामीलाई उमेश परिपक्व 'नेता' बनिसकेको अनुभूति भइरहेको थियो।

धनी नेता उमेशलाई पनि चुनावी खर्चले भने अत्याएको रहेछ। उनले चुनावलाई खर्चिलो बनाउने काम गलत भएको सन्दर्भ कोट्याए पनि। अनि सुनाए चण्डीभञ्ज्याङमा देखेको स्कुलको बिरहलाग्दो दृश्य। विकासको आधार शिक्षा नै भएकाले उनले त्यसैलाई आफ्नो मूल एजेन्डा बनाएका रहेछन् जुन स्वभाविक सुनिन्थ्यो। सत्तामा रहेकाले हुनुसक्छ उनी केही बढी नै निर्धक्क रुपमा हामीसामु प्रस्तुत भएका थिए। भोजपुरबाट ललितपुरमा व्यवसायिक सफलता हासिल गरेर चितवनमा राजनीतिको पँखेटा फैलाउने उनी कति सफल होलान्? उनको एजेन्डा र रणनीति कस्ता छन्? प्रतीक्षा गर्नुहोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell